प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार

अमेरिकाले एकैपटक १०० भन्दा बढी नेपालीलाई डिपोर्ट (देश निकाला) गरेर नेपाल पठाउने तयारी गरेकोमा प्रक्रियामा केही ढिलाइ भएको छ। फेब्रुअरी २१ मा ती सबैलाई डिपोर्टेसन उडानमार्फत नेपाल फर्काउने योजना भएपनि उक्त प्रक्रियामा केही दिन ढिलो भएको स्रोतले जनाएको छ। उक्त डिपोर्टेसनका लागि वासिङ्टन डीसीस्थित नेपाली दूतावासले १०० भन्दा बढी नेपालीको पहिचान प्रमाणीकरण गरिसकेको पुष्टि गरेको छ।
अन्तिम समयमा संख्यामा कमी नआएमा नेपालीको सन्दर्भमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो समूहको डिपोर्टेसन हुनेछ। वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित अमेरिकी नीतिका कारण हाल ठूलो संख्यामा नेपालीहरू देश निकाला भइरहेका छन्।
डिपोर्ट हुने नेपालीहरूको उडानको समय र विमानको प्रकारसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन। अमेरिकाबाट ठूलो समूहमा आप्रवासीलाई पठाउँदा प्रायः चार्टर्ड उडान प्रयोग गर्ने गरिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा हालसम्म अमेरिकाबाट झण्डै ६०० नेपाली डिपोर्ट भइसकेका छन्। यसअघि एकैपटक डिपोर्ट गरिएका नेपालीको उच्च संख्या जनवरी २० मा ८० रहेको थियो। ट्रम्पको कार्यकालको एक महिना पूरा भएकै दिन (जनवरी २०) मा चार्टर्ड विमानमार्फत ८० जना नेपाली काठमाडौँ पुगेका थिए, जसमा १ महिला र ७९ पुरुष थिए।
यसअघि डिसेम्बरमा पनि एकै दिन ७५ जना नेपालीलाई डिपोर्ट गरिएको थियो, जसमा ६९ पुरुष र ६ महिला थिए। डिसेम्बरदेखि हरेक महिना कम्तीमा एउटा चार्टर्ड विमानमार्फत नेपालीहरूलाई डिपोर्ट गर्न सुरु गरेको देखिन्छ।
नेपालको अध्यागमन विभागका अनुसार जनवरी २०२६ मा मात्र १०१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। जनवरीमा डिपोर्ट भएका १०१ मध्ये ४ जना मात्र महिला छन्।
यस्तै, डिसेम्बरमा ९८ जना र नोभेम्बरमा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। तथ्याङ्कअनुसार सन् २०२५ को जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपाली डिपोर्ट भएका थिए।
अहिलेसम्म डिपोर्ट हुनेहरूमा अधिकांश पुरुष छन् भने महिलाको संख्या न्यून छ। पछिल्ला महिनाहरूमा डिपोर्टको संख्या तीव्र रूपमा बढेको छ, जसमा चार्टर्ड उडानमार्फत ठूलो संख्यामा नेपालीहरूलाई एकैपटक फर्काइएको छ।
डिपोर्ट भएकामध्ये अधिकांश अवैध रूपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका थिए। उनीहरूले मानव तस्करहरूलाई ८० लाखदेखि १ करोड नेपाली रुपैयाँसम्म बुझाएको पाइएको छ।
डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँछ। ब्युरोले सामान्य सोधपुछपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउने गरे पनि लिखित उजुरी परेको खण्डमा मात्र विस्तृत अनुसन्धान प्रक्रिया अगाडि बढ्छ। हालसम्म झण्डै दुई दर्जन उजुरी परेका छन्। अनुसन्धान मुख्य रूपमा नेपालका एजेन्टहरूमा मात्र सीमित रहेको देखिन्छ। डिपोर्ट हुनेको संख्याको तुलनामा उजुरी दिनेको संख्या निकै कम छ।