अमेरिकाले इरानको आणविक ऊर्जा केन्द्रमाथि आक्रमण गर्ने सम्भावना



प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार

अमेरिकाले इरानको आणविक ऊर्जा केन्द्रमाथि आक्रमण गर्ने सम्भावना

अमेरिकाले इरानको आणविक ऊर्जा केन्द्रमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले इरानका सम्बन्धमा अमेरिकाले ‘सबै विकल्पहरू खुला राखेको’ बताएका हुन्।

उनले अमेरिकाले इरानको आणविक ऊर्जा केन्द्रमाथि पनि आक्रमण गर्न सक्ने संकेत गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधार पूर्ण रूपमा ध्वस्त पार्ने भनी दिएको चेतावनीबारे प्रतिक्रिया दिँदै राजदूत वाल्ट्जले यस्तो धारणा राखेका हुन्।

उनले थपे, “इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स लाई अमेरिका र केही युरोपेली देशहरूले आतंकवादी संगठनका रूपमा घोषणा गरिसकेका छन्।” उक्त संगठनले इरानको महत्त्वपूर्ण पूर्वाधार, अर्थतन्त्र तथा शासन प्रणालीका धेरै भागहरूमा नियन्त्रण जमाएको उनले उल्लेख गरे।

वाल्ट्जका अनुसार, इरानको सैन्य क्षमता र रक्षा औद्योगिक आधार कमजोर बनाउन सबै विकल्पहरू खुला राख्नुपर्ने राष्ट्रपतिको स्पष्ट नीति रहेको छ। अर्कोतर्फ, इरानले भने यदि अमेरिका वा इजरायलले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण गरेमा खाडी मुलुकमा रहेका अमेरिका सम्बद्ध सबै क्षेत्रहरूमा प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ।

यसैबीच, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रुट्टेले इरानसँग युरोपेली राजधानीहरूलाई लक्षित गर्न सक्ने क्षेप्यास्त्र रहेको भन्ने इजरायलको दाबीबारे गठबन्धनले अध्ययन गरिरहेको बताएका छन्। इजरायली रक्षा बलले तेहरानसँग लन्डन, पेरिस वा बर्लिनसम्म मार हान्न सक्ने क्षेप्यास्त्र रहेको दाबी गरेको थियो।

महासचिव रुट्टेले उक्त दाबी हालसम्म पुष्टि भइनसकेको बताएका छन्। तर, यदि यो सत्य प्रमाणित भएमा अमेरिकी राष्ट्रपतिले चालिरहेका कदमहरू थप सान्दर्भिक र महत्त्वपूर्ण हुने उनको भनाइ छ। उनले बेलायतको सैन्य आधार ‘डिएगो गार्सिया’ सम्म पुग्ने क्षमता इरानसँग छ वा छैन भन्ने विषयमा पनि मूल्यांकन भइरहेको जानकारी दिए।

उनका अनुसार, यदि इजरायली दाबी सत्य भएमा इरानसँग पहिले नै त्यस्तो क्षमता रहेको पुष्टि हुनेछ। यदि उक्त दाबी असत्य भए पनि इरान त्यस्तो क्षमता हासिल गर्ने दिशामा निकै नजिक पुगेको स्पष्ट हुने उनले बताएका छन्।





Source link

Leave a Comment