प्रकाशित मिति : पुस ९, २०८२ बिहीबार

अमेरिकामा आफ्नै श्रीमतीको गोली हानी हत्या गरेको आरोपमा एक चर्चित किसान पक्राउ परेका छन्। क्यालिफोर्नियाका प्रतिष्ठित कृषि व्यवसायी ६३ वर्षीय माइकल अबाट्टीलाई अलग बस्दै आएकी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको नाभाजो काउन्टी शेरिफ कार्यालयले जनाएको छ। उनलाई पहिलो दर्जाको हत्या अभियोग लगाउँदै हिरासतमा राखिएको छ र हाल उनी एरिजोनामा सुपुर्दगीको प्रतीक्षामा छन्।
घटनाको विवरण अधिकारीहरूका अनुसार माइकल अबाट्टी नोभेम्बर २० मा एरिजोना पुगेका थिए। त्यहाँ उनले आफ्नी ५७ वर्षीया पत्नी केरी एन अबाट्टीको गोली हानी हत्या गरेर पुनः क्यालिफोर्निया फर्किएका थिए।
केरीको शव एरिजोनाको पाइनेटपस्थित उनको घरमा ढाकिएको अवस्थामा फेला परेको थियो। श्रीमानसँग अलग भएपछि उनी त्यहीँ बस्दै आएकी थिइन्। अनुसन्धानका क्रममा अधिकारीहरूले डिसेम्बर २ मा दक्षिणी क्यालिफोर्नियास्थित माइकलको घरमा समेत खानतलासी गरेका थिए।
माइकल अबाट्टीको पृष्ठभूमि माइकल अबाट्टी क्यालिफोर्नियाको इम्पेरियल भ्यालीका प्रतिष्ठित किसान हुन्। मेक्सिकोको सीमा नजिकै रहेको र कोलोराडो नदीको पानीबाट सिञ्चित यो उब्जाउ क्षेत्रमा उनको परिवार पुस्तौँदेखि खेतीपातीमा संलग्न छ।
उनका हजुरबुबा इटालीबाट आएका आप्रवासी थिए भने पिता बेन अबाट्टीले ‘इम्पेरियल भ्याली भेगिटेबल ग्रोअर्स एसोसिएसन’ स्थापनामा सहयोग गरेका थिए।
माइकलले यस क्षेत्रमा प्याज, ब्रोकाउली र खरबुजा जस्ता बालीहरूको ठूलो परिमाणमा उत्पादन गर्दै आएका थिए। उनी सन् २००६ देखि २०१० सम्म शक्तिशाली ‘इम्पेरियल इरिगेसन डिस्ट्रिक्ट’को बोर्ड सदस्य समेत रहेका थिए। अबाट्टी परिवारको नाम खेतीपाती मात्र नभई छात्रवृत्ति कोष र विभिन्न स्थानीय संस्थाहरूको नेतृत्वसँग पनि जोडिएको छ।
सम्बन्धविच्छेद र विवादको कारण माइकल र केरीको विवाह सन् १९९२ मा भएको थियो र उनीहरूका तीन सन्तान छन्। तीन दशक लामो वैवाहिक सम्बन्धपछि सन् २०२३ मा उनीहरू अलग भएका थिए। केरीले क्यालिफोर्नियामा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्, जुन उनको मृत्युको समयसम्म विचाराधीन नै थियो।
मुद्दाको प्रक्रियाका क्रममा दुवैबीच आर्थिक विषयलाई लिएर ठूलो विवाद चलिरहेको थियो। सुरुमा केरीलाई मासिक ५ हजार डलर भत्ता तोकिएको थियो, तर उनले त्यसलाई बढाएर ३० हजार डलर पुऱ्याउन माग गरेकी थिइन्।
सन् १९९९ मा पारिवारिक फार्मको जागिर छोडेर सन्तान हुर्काउन घरमै बसेकी केरीले आफ्नो पुरानो उच्चस्तरीय जीवनशैली कायम राख्न उक्त रकम आवश्यक रहेको दाबी गरेकी थिइन्।
उनले वकिलको खर्चका लागि थप १ लाख डलर समेत माग गरेकी थिइन्। माइकलले भने पछिल्ला दुई वर्ष खेतीमा घाटा भएकाले आफ्नो आम्दानी घटेको र भत्ता बढाउन नसक्ने अडान लिँदै आएका थिए। यही आर्थिक खिचातानी र वैवाहिक कलह नै हत्याको मुख्य कारण हुनसक्ने अनुमान गरिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्