अमेरिकामा शिशुहरुलाई अब जन्मने बित्तिकै हेपाटाइटिस बी विरुद्धको खोप नलगाइने



प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार

अमेरिकामा शिशुहरुलाई अब जन्मने बित्तिकै हेपाटाइटिस बी विरुद्धको खोप नलगाइने

अमेरिकी शिशुहरूलाई हेपाटाइटिस बी विरुद्धको खोप अब जन्मने बित्तिकै नलगाइने भएको छ। अमेरिकी खोप सल्लाहकारहरूको समूहले नवजात शिशुहरूलाई जन्मपछि तुरुन्तै हेपाटाइटिस बी विरुद्धको खोप दिने लामो समयदेखिको सिफारिस अन्त्य गर्ने निर्णय गरेको छ।

अमेरिकाले १९९१ देखि नवजात शिशुहरूलाई हेपाटाइटिस बी विरुद्धको खोप सिफारिस गर्दै आएको छ। यो खोपले झन्डै ९०,००० मृत्यु रोक्न मद्दत गरेको देखिन्छ।

इम्युनाइजेशन प्राक्टिसेस सम्बन्धी सल्लाहकार समिति (एसीआइपी ) ले शिशुहरूलाई जन्मपछि खोप दिने वा नदिने विषयमा “व्यक्ति–आधारित निर्णय” गर्न सकिने प्रस्तावलाई ८–३ मतले समर्थन गरेको हो।

स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले एसीआइपी का सबै सदस्यलाई बर्खास्त गरी खोपसम्बन्धी आलोचनात्मक विचार राख्ने नयाँ व्यक्तिहरूलाई जिम्मेवारी दिएपछि यो निर्णय भएको हो। केनेडी जुनियर आफै पनि खोपका आलोचक हुन्।

अमेरिकामा शिशुहरुलाई अब जन्मने बित्तिकै हेपाटाइटिस बी विरुद्धको खोप नलगाइने

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) लाई खोप कहिले र कसलाई दिनुपर्छ भन्नेबारे सिफारिस गर्ने जिम्मेवारी छ। अन्तिम निर्णय भने सीडीसीका कार्यवाहक निर्देशकले गर्ने बताइएको छ।

नयाँ दिशानिर्देशले खोप नपाएका शिशुहरूलाई पहिलो मात्रा “कम्तीमा दुई महिनाको उमेरभन्दा अघि नदिन” सुझाव दिएको छ। यसको ठूलो आलोचना भएको छ।

सार्वजनिक स्वास्थ्य विज्ञहरूले यो निर्णयले खोपबारे अनावश्यक डर सिर्जना गर्न सक्ने र मानिसहरूलाई खोपबाट टाढा राख्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

चिकित्सकहरूले हेपाटाइटिस बी विरुद्धको खोप सुरक्षित र अत्यन्त प्रभावकारी रहेको बताएका छन्। पछिल्लो निर्णयले धेरै बालबालिका र वयस्कहरूमा संक्रमणको जोखिम बढाउने उनीहरूको भनाइ छ।

समितिले हेपाटाइटिस बी पोजिटिभ आमा भएका शिशुहरूलाई भने जन्मने बित्तिकै खोप दिनुपर्ने सिफारिस यथावत् राखेको छ। यो परिवर्तनले बीमा कवरेजमा असर नपर्ने बताइएको छ।

हेपाटाइटिस बी शरीरका तरल पदार्थहरूको प्रत्यक्ष सम्पर्कबाट सर्ने कलेजो सम्बन्धी संक्रमण हो। यसले क्यान्सर, कलेजो विफलता र सिरोसिसजस्ता गम्भीर अवस्था निम्त्याउन सक्छ।

यो रोग गर्भवती महिलाबाट प्रसूतिको क्रममा शिशुमा सर्न सक्छ, जसले दीर्घकालीन कलेजो समस्याको जोखिम बढाउँछ।

संक्रमित व्यक्तिहरूमा लक्षण नभएको अवस्थामा पनि उनीहरूले अनजानमै भाइरस अरूमा सार्न सक्छन्। विश्व स्वास्थ्य संगठन ले ०, १ र ६ महिनामा खोप सिफारिस गर्छ। बेलायतमा भने आमा संक्रमित नभएको अवस्थामा ८, १२ र १६ हप्तामा खोप दिने सिफारिस रहेको छ।

आलोचकहरूले भने जन्ममा दिइने खोप रोकेर धेरै शिशुहरू जोखिममा पर्ने बताएका छन्। स्वास्थ्य मन्त्री केनेडी र उनका समर्थकहरूले हेपाटाइटिस बी मुख्यतः यौन सम्पर्क वा सुईको साटासाटबाट सर्छ भनेर दाबी गरेका छन्। तर अध्ययनले दाँत ब्रस वा रेजर साझा गर्दा पनि भाइरस सर्न सक्ने देखाएका छन्।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment