अमेरिकामा शक्तिशाली आँधी: ६ जनाको मृत्यु, टेक्साससम्म पुग्ने चेतावनी



प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार

अमेरिकामा शक्तिशाली आँधी: ६ जनाको मृत्यु, टेक्साससम्म पुग्ने चेतावनी

फोटो : एपी/रासस

अमेरिकाका विभिन्न राज्यहरूमा आएको शक्तिशाली आँधीबेहरी र चक्रवात अर्थात् ‘टर्नाडो’का कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । एक दर्जनभन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार मिशिगन र ओक्लाहोमा राज्यमा आएको तीव्र मौसमी प्रणालीले व्यापक क्षति पुर्‍याएको हो।

दक्षिणी मिशिगनमा चार जनाको ज्यान गएको छ, जसमा १२ वर्षका एक बालक पनि रहेका छन्। त्यस्तै, ओक्लाहोमा राज्यमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। हाल उद्धारकर्मीहरू क्षतिको मूल्याङ्कन तथा खोज–उद्धार कार्यमा जुटिरहेका छन्।

शक्तिशाली आँधीका कारण धेरै स्थानमा रुखहरू ढलेका छन्, विद्युत् लाइनहरू काटिएका छन् र थुप्रै भवनहरूमा ठूलो क्षति पुगेको छ। कतिपय घरका छानासमेत उडेको स्थानीय अधिकारीहरूले बताएका छन्।

मिशिगनको ब्रान्च काउन्टीस्थित युनियन सिटी क्षेत्रमा टर्नाडो आएपछि तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको स्थानीय शेरिफ कार्यालयले जनाएको छ। यस क्षेत्रका धेरै सडकहरू अवरुद्ध भएका छन् भने सयौँ घरपरिवार विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। युनियन सिटीबाट करिब ८० किलोमिटर टाढा रहेको क्यास काउन्टीमा पनि एक जनाको मृत्यु भएको र केही मानिस घाइते भएका छन्।

अधिकारीहरूका अनुसार घरहरू तथा कृषि भवनहरूमा गम्भीर क्षति पुगेको छ भने केही संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा युनियन सिटी क्षेत्रमा शक्तिशाली टर्नाडो घुमिरहेको तथा ‘थ्री रिभर्स’ सहरमा धूलो, भग्नावशेष र वस्तुहरू हावामा उडिरहेको देखिन्छ।

मिशिगनकी गभर्नर ग्रेचेन ह्विटमरले ब्रान्च, क्यास र सेन्ट जोसेफ काउन्टीमा आपत्कालीन अवस्था घोषणा गरेकी छन्। यसैबीच, ओक्लाहोमाको ओकमल्गी काउन्टीमा आएको टर्नाडोले करिब ६.४ किलोमिटर क्षेत्रसम्म क्षति पुर्‍याएको आपत्कालीन व्यवस्थापक जेफ मूरले बताएका छन्। ओक्लाहोमाको बेग्स सहरमा दुई जनाको मृत्यु भएको काउन्टी शेरिफ कार्यालयले जनाएको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले तीव्र मौसम प्रणाली अझै केही दिन जारी रहने चेतावनी दिएको छ। ‘ग्रेट प्लेन्स’देखि टेक्साससम्मका क्षेत्रमा आँधी, मेघगर्जन र आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको बताइएको छ।





Source link

Leave a Comment