प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार

अमेरिकामा रहेको नेपाली दूतावास । फोटो: खसोखास
अमेरिकामा रहेको नेपाली दूतावासले अमेरिकामा विद्यार्थी भिसामा रहेका नेपालीहरूलाई आफ्नो शैक्षिक संस्थामा भिसाको हैसियत कायम राख्नुपर्ने बताउँदै अमेरिकी विदेश मन्त्रालयको सूचना सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको छ। पढाइ छोड्ने, कक्षाहरूमा अनुपस्थित हुने वा विद्यालयलाई जानकारी नदिई शैक्षिक कार्यक्रम त्याग्ने गरेमा भिसा रद्द हुन सक्ने र भविष्यमा पुनः भिसा पाउन अयोग्य हुन सक्ने सूचना अमेरिकी दूतावास काठमाडौंले शेयर गरे लगत्तै नेपाली दूतावासले शेयर गरेको हो।
लागूपदार्थको प्रयोग तथा मदिरा सेवन गरी सवारी चलाउनेलगायत अमेरिकी कानून उल्लङ्घन गर्दा भविष्यमा भिसा पाउने सम्भावनामा स्थायी असर पर्न सक्ने उक्त सूचनामा उल्लेख छ। अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद राज अरन र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री एस पल कपुरसँगको वाशिङटन डिसी भेटवार्ता लगत्तै दूतावासले उक्त सूचना शेयर गरेको हो।

भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विभिन्न आयाम, द्विपक्षीय सहकार्य तथा आपसी हितका क्षेत्रहरूबारे विस्तृत छलफल भएको जनाइएको छ। अमेरिकाले नेपालीमाथि आप्रवासी भिसा प्रतिबन्ध, भिजिटर भिसामा धरौटीको नियमलगायतका कारवाहीहरू गरिरहेको सन्दर्भमा नेपालले पछिल्लो समय अमेरिकासँगको कूटनीतिक सम्बन्ध सुधारका लागि विभिन्न पहलहरू गर्दै आएको छ।
यसअघि पनि अमेरिकामा रहेको नेपाली दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाटको सिलसिलामा अमेरिकामा रहेका कुनै विदेशी नागरिकले अवैधानिक तरिकाले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले नागरिकहरूका लागि उपलब्ध गराउने सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास, परिवार सहायता, शैक्षिक सहायताजस्ता सुविधामा निर्भर भएमा त्यस्तो व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्द समेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भन्दै सूचना प्रकाशित गरेको थियो।
विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्याङ्कले नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवाको माथिल्लो सूचीमा रहेका पाइएकोले नेपालीका लागि आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना जारी गरेको नेपालको दूतावासले जनाएको थियो।
यसैगरी बी१/बी२ भिसामा अमेरिका गएका नेपालीहरूले ओभरस्टे गरेको र रोजगारीलगायत तोकिएकोभन्दा फरक काममा संलग्न भएको पाइएको आधारमा अमेरिकी सरकारले २१ जनवरीदेखि लागू हुने गरी बी१/बी२ भिसा आवेदनमा अमेरिकी डलर ५,००० देखि १५,००० सम्म धरौटी राख्नुपर्ने प्रावधान लागू गरेको दूतावासले स्मरण गराएको थियो। यस्ता कार्यले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप प्रभावित हुन सक्ने हुँदा भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकलाई भिसा प्राप्ति अझ कठिन हुन जाने र मुलुकको प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्ने उल्लेख गरेको थियो।
नेपाली दूतावासले विभिन्न उद्देश्यले अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूले संयुक्त राज्य अमेरिकामा रहँदा गैरकानूनी तरिकाले वा गलत सूचना वा विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार, आवास, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा वा सहायतामा निर्भर नहुन र बी१/बी२ भिसाको दुरुपयोग नगर्न सम्बन्धित सबैमा अनुरोध गरेको थियो।
नेपालको परराष्ट्र मन्त्रालयको सोही व्यहोराको वक्तव्य लगत्तै अमेरिकामा रहेको नेपाली दूतावास र महावाणिज्यदूतावासहरूले पनि सोही सूचना प्रकाशित गरेका थिए। गत महिना अमेरिकी दूतावास काठमाडौंका अधिकारीसँग परराष्ट्रसचिवको भेटघाट लगत्तै परराष्ट्र मन्त्रालयले यस्तो सूचना जारी गरेको थियो।