प्रकाशित मिति : माघ १२, २०८२ सोमबार

फोटो : एपी/रासस
अमेरिकामा आएको भीषण शीतकालीन आँधीले कम्तीमा ७ जनाको ज्यान लिएको छ। लाखौँ घरधुरी विद्युत् आपूर्तिबाट वञ्चित भएका छन्। टेक्सासदेखि न्यु इङ्गल्यान्डसम्म जोखिमपूर्ण मौसमी अवस्था देखिएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ।
लुइजियानामा चिसोका कारण हाइपोथर्मियाबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। टेक्सास, टेनेसी र कान्सासमा पनि आँधीसँग सम्बन्धित अन्य मृत्युहरू रिपोर्ट भएका छन्। कान्सासमा आइतबार दिउँसो हिउँले ढाकिएको अवस्थामा भेटिएकी एक महिलाको मृत्यु हाइपोथर्मियाका कारण भएको हुनसक्ने अधिकारीहरूले बताएका छन्।
आँधीका कारण देशभरका विद्यालय र सडकहरू बन्द गरिएका छन्। हजारौँ उडानहरू रद्द भएका छन्। आइतबार दिउँसोसम्म करिब ८ लाखभन्दा बढी घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ। यस्तै, ११ हजारभन्दा बढी उडान रद्द भएका छन्।
भारी हिमपात, स्लीट (हिउँ–पानी मिश्रण) र जम्ने वर्षा (फ्रिजिङ रेन) धेरै दिनसम्म जारी रहन सक्ने अनुमान गरिएको छ। यस्तो वर्षामा जमेको पानी सतहमा तुरुन्तै बरफ बन्ने भएकाले यसलाई अत्यन्त खतरनाक मानिन्छ। यस आँधीले करिब १८ करोड अमेरिकी नागरिकलाई प्रभावित गर्न सक्ने अनुमान गरिएको छ, जुन देशको आधाभन्दा बढी जनसङ्ख्या हो।
राष्ट्रिय मौसम सेवाकी मौसमविद् एलिसन सान्टोरेलीले हिउँ र बरफ बिस्तारै मात्र पग्लिने तर चाँडै नहट्ने देखिएको बताइन्। यसले उद्धार र पुनःस्थापना प्रयासलाई गम्भीर रूपमा असर पुऱ्याउन सक्ने सम्भावना देखिएको छ।
न्युयोर्क सिटीका मेयर जोहरान मम्दानीले सामाजिक सञ्जाल ‘एक्स’ मा शनिबार कम्तीमा पाँच जनाको मृत्यु भएको जानकारी दिए। मृत्युको कारण अझै पुष्टि नभएको उनको भनाइ छ। उनले भने, “हरेक वर्ष न्युयोर्कवासीले चिसोका कारण ज्यान गुमाउने गर्छन्, यो घटनाले त्यसैको स्मरण गराउँछ।”
न्युयोर्क राज्यकी गभर्नर क्याथी होकुलले नागरिकहरूलाई घरभित्रै बस्न र सडकमा ननिस्कन आग्रह गरेकी छन्। केन्टकीका गभर्नर एन्डी बेशियरले अनुमानभन्दा बढी बरफ र कम हिउँ परिरहेको भन्दै यसले अवस्था झन् खतरनाक बनाएको बताए। भर्जिनिया र केन्टकीमा सयौँ सवारी दुर्घटनामा परेको र आपत्कालीन सेवाले उद्धार गरिरहेको जनाइएको छ।
मौसमविद्हरूका अनुसार आँधीको सबैभन्दा ठूलो खतरा बरफ हो, जसले रुख ढाल्न, विद्युत् लाइनमा क्षति पुऱ्याउन र सडकलाई अत्यन्तै जोखिमपूर्ण बनाउन सक्छ। लगभग आधा अमेरिकी राज्यहरूले आपत्काल घोषणा गरिसकेका छन्।