प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार
अमेरिकाको इलिनोइस राज्यमा हिरासतमा रहेका एकजनाको मृत्यु भएको छ । ६ वर्षीय प्यालेस्टिनी अमेरिकी बालकको छुरा प्रहार गरेको अभियोगमा दोषी ठहर भई जेल सजाय भोगिरहेका जोसेफ एम जुबाको मृत्यु भएको हो । उनी ७३ बर्षका थिए । उनी ती बालकका घरधनी थिए ।
विल काउन्टी शेरिफको कार्यालयका अनुसार जोसेफ एम जुबाले ५३ वर्ष जेल सजाय पाएका थिए । जेल सजाय सुरु भएको दुई महिनामै उनको मृत्यु भएको हो ।
उनलाई हत्या र घृणाका आधारमा अपराध को अभियोगमा दोषी ठहर गरिएको थियो । उनको मृत्यु कहिले, कहाँ र कसरी भयो भन्ने बारेमा अधिकारीहरूले अझै खुलासा गरेका छैनन् ।
हमासले इजरायलमा आक्रमण गरेपछि अमेरिका र विश्वभर तनाव चुलिएको बेला यो हत्याकाण्ड अक्टोबर २०२३ मा भएको थियो । अधिकारीहरूका अनुसार जुबाले प्यालेस्टिनी मूलकी हानान शाहिन र उनका छोरालाई छुरा प्रहार गरेका थिए ।
६ वर्षीय वादी अल्फायुमीको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी आमा शाहिन गम्भीर घाइते भएकी थिइन । २०२५ मे २ मा न्यायाधीश एमी बर्टानी–टोम्ज्याकले जुबालाई सजाय सुनाउँदै आक्रमणलाई “नरसंहारजस्तै क्रूर र घिनलाग्दो” भन्दै व्याख्या गरेकी थिइन् ।
शाहिनको बयान अनुसार उनी दुई वर्षदेखि जुबाको घरमा दुई कोठा भाडामा लिएर बसिरहेकी थिइन् । पहिले खासै समस्या आएको थिएन। तर अक्टोबर ७ पछि जुबा मुस्लिमविरोधी घृणित टिप्पणी गर्न थाले । उनलाई र उनको छोरालाई घर छोड्न दबाब दिन थालेका थिए ।
अभियोजन पक्षका अनुसार, मध्यपूर्वमा भइरहेको युद्धको समाचार सुनेर जुबा पागलजस्तो बन्दै गएका थिए । एक दिन अचानक शाहिनको कोठामा जबरजस्ती प्रवेश गरेर उनीमाथि १२ भन्दा बढीपटक छुरा प्रहार गरे । त्यसपछि उनले शाहिनको छोरामाथि हमला गरेका थिए ।
यो घटनाले अमेरिकाभर विशेषगरी शिकागोको उपनगरमा रहेका ठूलो मुस्लिम र प्यालेस्टिनी समुदायबीच आक्रोश र डर फैलाएको थियो ।
धेरै समुदायका नेताहरूले यस घटनालाई अक्टोबर ७ को हमलापछि प्यालेस्टिनीहरूप्रति फैलाइएको अमानवीय र घृणित भाषाको नतिजा भनेका छन् ।
फेब्रुअरी २०२५ मा जुबा दोषी ठहर भएका थिए । उनलाई मेमा सजाय सुनाइएको थियो ।