प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार
दक्षिण पूर्वी अमेरिकामा मुसलधारे बर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
वर्षाले सडक र घरहरूलाई भत्काएको छ । कतिपय स्थानमा डुबाएको छ । केन्टकीमा ८ जना र जर्जियामा १ जनाको मृत्यु भएको हो ।
केन्टकीका गर्वनर एन्डी बेसेहियरले मृतकको संख्या बढ्नसक्ने बताएका छन । त्यहाँ आमा र उनका सात वर्षीय बच्चा र एक ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
हजारौं मानिसहरू बाढी र डुवानमा अड्किएका थिए । धेरैजसो कारमा फसेका थिए । उनीहरूलाई उद्धार गरिएको छ । बेसेहियरले वासिन्दाहरूलाई सडकमा नजाने र सुरक्षित स्थानमा बस्न सचेत गराइएको छ ।
जर्जिया सुतिरहेको बेलामा ढलेको रूखले च्यापेर घरमै १ जनाको मृत्यु भएको छ । केन्टकी, जर्जिया, अलाबामा, मिसिसिपी, टेनेसी, भर्जिनिया, पश्चिम भर्जिनिया र उत्तर क्यारोलिनामा आँधी र बर्षासँग सम्बन्धित चेतावनी जारी गरिएका थिए ।
ती सबै राज्यहरूले सेप्टेम्बर महिनामा हरिकेन हेलेनको प्रकोप सामना गरेका थिए । राष्ट्रिय मौसम सेवाका अनुसार आठवटा राज्यका करीब ४ लाख मानिसहरू विद्युतविहीन बनेका थिए ।
मुसलधारे बर्षाले नदीहरूमा पानीको स्तर छिटो बढाएको थियो । गभर्नर बेसेहियरले ३०० भन्दा बढी सडकहरू बन्द गरिएको बताएका छन ।
उनले ह्वाइट हाउसलाई आपतकालिन सहयोगका लागि आग्रह गरेको बताएका छन ।
मौसमबिदहरुले बाढी, पहिरो र डुवानको खतरा कायम नै रहेको बताएका छन ।