अमेरिकामा फ्लुको महामारी: ५ हजारको मृत्यु, ४५ राज्यमा सङ्क्रमणको जोखिम



प्रकाशित मिति : पुस २०, २०८२ सोमबार

अमेरिकामा फ्लुको महामारी: ५ हजारको मृत्यु, ४५ राज्यमा सङ्क्रमणको जोखिम

अमेरिकामा फ्लु (इन्फ्लुएन्जा) का कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार पुगेको छ। जसमा ९ जना बालबालिका समेत रहेका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आगामी हप्ताहरूमा यो सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।

ज्वरो, घाँटी दुख्ने, अत्यधिक थकान र शरीर दुख्ने जस्ता लक्षणका कारण चिकित्सककहाँ पुग्ने बिरामीको सङ्ख्या झन्डै ३० वर्षयताकै उच्च स्तरमा पुगेको छ।

सीडीसीका अनुसार देशभरका कुल बाह्यरोगी (आउटपेसन्ट) मध्ये करिब ८.२ प्रतिशत (अर्थात् १० जनामध्ये झन्डै १ जना) फ्लुसँग मिल्दोजुल्दो रोगका कारण अस्पताल पुगेका छन्।

सन् १९९७ देखि तथ्याङ्क सङ्कलन सुरु भएयताकै यो सबैभन्दा उच्च दर हो। यस सिजनमा फ्लुका कारण १ करोड १० लाखभन्दा बढी मानिस बिरामी परेका छन् भने करिब १ लाख २० हजार जनालाई अस्पताल भर्ना गर्नु परेको छ।

हाल ४५ वटा राज्यमा फ्लुको सङ्क्रमण ‘उच्च’ देखि ‘अत्यन्त उच्च’ स्तरमा रहेको छ। मोन्टाना, साउथ डाकोटा, भर्मन्ट र वेस्ट भर्जिनियामा मात्र सङ्क्रमण न्यून देखि मध्यम स्तरमा छ।

शिकागोस्थित रस युनिभर्सिटी मेडिकल सेन्टरका आपत्कालीन सेवा निर्देशक डा. निक कोज्जीका अनुसार फ्लुका कारण स्वास्थ्यकर्मीहरू “अत्यन्तै व्यस्त” छन्। उनले खोकी, नाकबाट पानी बग्ने, सास फेर्न गाह्रो हुने, झाडापखाला र असह्य शरीर दुखाइ भएका बिरामीहरूको चाप बढेको बताएका छन्।

धेरै बिरामीहरू फ्लुसँगै कोभिड–१९ वा आरएसभी जस्ता अन्य भाइरसबाट समेत ग्रसित पाइएका छन्। बिरामीहरूमा सास फेर्न गम्भीर समस्या र अक्सिजनको स्तर सामान्यभन्दा कम देखिएकाले अस्पताल भर्ना हुने दर बढेको हो।

बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा पछिल्ला दुई हप्तामा फ्लुका कारण भर्ना हुने बिरामीको सङ्ख्या त्यसअघिको तुलनामा दोब्बरभन्दा बढी भएको छ।

हालको तथ्याङ्क क्रिसमस हप्तासम्मको मात्र भएकाले बिदाको समयमा गरिएको यात्रा र जमघटले बढाएको सङ्क्रमण यसमा अझै पूर्ण रूपमा समावेश भइसकेको छैन।

सीडीसीकी महामारी विज्ञ क्रिस्टा निसले बिदाको मौसमले फ्लुमा कस्तो प्रभाव पार्‍यो भन्ने कुरा स्पष्ट हुन अझै केही समय लाग्ने बताउनुभएको छ।





Source link

Leave a Comment