अमेरिकामा नेपाललगायत सबै देशका नागरिकका एसाइलमको निर्णय स्थगित गर्ने नयाँ मेमो जारी



प्रकाशित मिति : मंसिर १७, २०८२ बुधबार

अमेरिकामा नेपाललगायत सबै देशका नागरिकका एसाइलमको निर्णय स्थगित गर्ने नयाँ मेमो जारी

युएससीआईएसले मंगलबार एक मेमो जारी गर्दै तुरुन्तै सबै विचाराधीन एसाइलम आवेदनहरूको निर्णयमा रोक लगाई ती आवेदनहरूको पुनरावलोकन गर्न निर्देशन दिएको छ। यसअन्तर्गत विश्वका जुनसुकै देशका नागरिकले अमेरिकामा एसाइलमका लागि दिएको आवेदनको निर्णय रोकिँदा नेपालीहरूको आवेदन पनि प्रभावित भएका छन्। युएससीआईएसमा मात्र नेपालीहरूका झन्डै ५ हजार आवेदन विचाराधीन रहेको अनुमान छ भने करिब १० हजार आवेदन अध्यागमन अदालतहरूमा विचाराधीन रहेका छन्।

मेमोले १९ वटा देशका व्यक्तिहरूका ग्रीन कार्ड र अमेरिकी नागरिकताका आवेदनहरूको निर्णय पनि स्थगित गरेको छ। ती व्यक्तिहरू जुनसुकै मितिमा अमेरिका प्रवेश गरेका भए पनि उनीहरूको आवेदनमा निर्णय रोक्न अनिवार्य गरिएको छ। ती १९ देशमा अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन्।

यसबाहेक, मेमोले युएससीआईएसका कर्मचारीहरूलाई जनवरी २०, २०२१ वा त्यसपछि अमेरिकामा प्रवेश गरेका ती १९ देशका व्यक्तिहरूका पहिले नै स्वीकृत ग्रीन कार्ड वा अन्य आवेदनहरूको व्यापक पुनरावलोकन गर्न निर्देशन दिएको छ। पुनरावलोकन प्रक्रियामा अन्तर्वार्ता र आवश्यक परे पुनः अन्तर्वार्ता समावेश हुनसक्ने उल्लेख गरिएको छ। यस समूहका लागि अन्तर्वार्ता कुनै पनि परिस्थितिमा माफ गर्न नपाइने प्रष्ट पारिएको छ।

युएससीआईएसको ज्ञापनपत्रमा भनिएको छ कि यसले निर्धारित मापदण्ड पूरा गर्ने सबै आवेदकलाई राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षासम्बन्धी जोखिम, साथै अस्वीकार्यता वा अयोग्यताका अन्य सम्भावित आधारहरूको पूर्ण मूल्याङ्कन गर्न गहन पुनरावलोकन प्रक्रियामा अनिवार्य रूपमा लैजान्छ। यस क्रममा आवश्यक परे अन्तर्वार्ता र पुनः अन्तर्वार्ता समेत गर्न सकिनेछ, र सबै सान्दर्भिक जानकारी र तथ्यको आधारमा प्रत्येक केसको छुट्टै मूल्याङ्कन गरिनेछ।

अमेरिकामा नेपाललगायत सबै देशका नागरिकका एसाइलमको निर्णय स्थगित गर्ने नयाँ मेमो जारी

मेमोले निर्णयमा रोक, प्रक्रियागत आवश्यकता, र प्रभावित व्यक्तिहरूको पुनरावलोकन, अन्तर्वार्ता वा पुनः अन्तर्वार्ताका लागि आवश्यक प्रक्रिया र मापदण्डहरू समेटेको छ। साथै, युएससीआईएसका कर्मचारीलाई राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षासम्बन्धी सरोकारलाई प्राथमिकता दिँदै निर्णय प्रक्रियामा सबै लागू हुने कानून र नियमको पूर्ण पालना गर्न निर्देशन दिएको छ, र सबै निष्कर्ष स्थापित प्रोटोकलअनुसार लिनुपर्ने भनिएको छ।

युएससीआईएसले जनवरी २०, २०२१ वा त्यसपछि अमेरिकामा प्रवेश गरेका ती १९ देशका सबै व्यक्तिको व्यापक पुनरावलोकन, सम्भावित अन्तर्वार्ता र पुनः अन्तर्वार्ता आवश्यक भएको निर्धारण गरे पनि, यो समयसीमाभन्दा बाहिर प्रवेश गरेका व्यक्तिमाथि पनि सोही प्रक्रिया विस्तार गर्न सकिने स्पष्ट पारेको छ।

मेमोमा आवेदकले सुरक्षा जोखिम पैदा गर्छन् वा गर्दैनन् भन्ने निर्धारण गर्न युएससीआईएस अधिकारीले प्रयोग गर्ने चार बुँदे योग्यता-जाँच सूची तयार गरिएको उल्लेख छ। अधिकारीहरूले पहिले आवेदक संघीय आतङ्कवादी जाँच डेटासेटमा ज्ञात वा संदिग्ध आतङ्कवादीको रूपमा सूचीकृत छन् वा छैनन् भनेर जाँच गर्नेछन्, जसअन्तर्गत आवेदकको पहिचानसँग सम्बन्धित गम्भीर वा प्रतिकूल जानकारीको समीक्षा गरिनेछ। त्यस्तै, आवेदकको आतङ्कवादसँग सम्भावित सम्बन्ध छ कि छैन किंवा अमेरिकी अध्यागमन कानूनअन्तर्गत परिभाषित आतङ्कवादलाई समर्थन गर्ने संस्थासँग कुनै प्रकारको सम्बन्ध छ कि छैन भन्ने पनि जाँच गरिनेछ।

थप रूपमा, अधिकारीहरूले आवेदक कुनै आपराधिक गतिविधि वा समुदायलाई गम्भीर जोखिम पुर्‍याउने व्यक्ति वा समूहसँग जोडिएका छन् कि छैनन् भन्ने मूल्याङ्कन गर्नेछन्, जसअन्तर्गत गम्भीर आपराधिक घटनामा संलग्नता पनि समावेश हुन्छ। यी सुरक्षा सूचकहरूबाहेक, राष्ट्रपतिको कार्यकारी आदेशअनुसार आवेदकहरूले आफ्नो पहिचान स्पष्ट र विश्वसनीय रूपमा स्थापित गर्नुपर्नेछ, जसका लागि सुरक्षित र प्रमाणित गर्न सकिने पहिचान कागजातको प्रस्तुतिमा विशेष जोड दिइएको छ।

युएससीआईएसले यो नीतिले हजारौं आवेदकको प्रशोधनमा ढिलाइ हुन सक्ने स्वीकार गरेको छ। तर एजेन्सीले उच्च जोखिम भएका व्यक्तिको गहन छानबिनलाई सबैभन्दा माथिल्लो प्राथमिकतामा राखिएको र यो सम्भावित ढिलाइभन्दा धेरै महत्त्वपूर्ण भएको बताएको छ।

निर्णयमा लगाइएको यो रोक युएससीआईएस निर्देशकद्वारा अर्को ज्ञापनपत्र जारी नभएसम्म लागू रहनेछ। ९० दिनभित्र युएससीआईएसले अन्तर्वार्ता, पुनः अन्तर्वार्ता र कानून प्रवर्तन निकायलाई गर्ने रेफरलका लागि विस्तृत परिचालन निर्देशिका तथा प्राथमिकतासहितको समीक्षा सूची तयार गरी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment