प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार
कोका–कोला कम्पनीले अब उखुबाट बनेको चिनी अर्थात केन चिनी प्रयोग गरेर बनाइएको नयाँ कोक बजारमा ल्याउने घोषणा गरेको छ ।
कम्पनीको ताजा आम्दानी विवरण सार्वजनिक गर्दै कोका–कोलाले “अमेरिकामा उत्पादित केन चिनीबाट बनेको” नयाँ पेय पदार्थ यो वर्षको शरद ऋतुमा सार्वजनिक गरिने जनाएको हो ।
यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल पोस्टपछि आएको हो । पोष्टमा ट्रम्पले कोका–कोलालाई हाई फ्रुक्टोज कर्न सिरप हटाएर केन चिनी प्रयोग गर्न आफूले राजी गराएको दाबी गरेका थिए।
कोका–कोलाले भने मूल कोकको रेसिपी भने परिवर्तन नहुने स्पष्ट पारेको छ । यो भनेको अमेरिकी बजारमा पाइने प्रचलित कोका–कोलामा हाई फ्रुक्टोज कर्न सिरप नै प्रयोग हुनेछ । नयाँ उत्पादन भने फरक संस्करणका रूपमा आउनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेम्स क्विन्सी ले यो नयाँ पेय दीर्घकालीन उपभोक्ता रोजाइ बन्ने अपेक्षा गरिएको बताएका छन । उनले लेमोनेड र कफीजस्ता उत्पादनहरूमा पहिले नै केन चिनी मिसाइएको बताए ।
राष्ट्रपति ट्रम्पले अघिल्लो साता पोस्ट गर्दै भनेका थिए, “कोका–कोलाले केन चिनी प्रयोग गर्न राजी भएको छ ।” तर कोक कम्पनीले यसबारे स्पष्ट पार्दै भनेको छ यो केवल नयाँ फरक उत्पादन हो । तर मूल उत्पादन भने होइन।
अमेरिकी स्वास्थ्य मन्त्री र ट्रम्प समर्थक रबर्ट एफ केनेडी जूनियर ले कर्न सिरपलाई “मोटोपन र मधुमेह निम्त्याउने सूत्र” भनेका थिए।
तर स्वास्थ्य विशेषज्ञहरूका अनुसार, कोक जुन चिनीबाट बनाइए पनि, चिनीको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
कोका–कोलाको नयाँ निर्णयले स्वादको फरक विकल्प दिने तयारी गरेको हो । तर स्वास्थ्यका दृष्टिले चिनीको स्रोत परिवर्तनले खासै अर्थ नराख्ने विज्ञहरूले बताएका छन ।