अमेरिकामा आइसको हिरासतमा १९ वर्षीय युवकको मृत्यु, आत्महत्याको आशंका



प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार

अमेरिकामा आइसको हिरासतमा १९ वर्षीय युवकको मृत्यु, आत्महत्याको आशंका

अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले फ्लोरिडास्थित एक संघीय हिरासत केन्द्रमा १९ वर्षीय युवकको मृत्यु भएको पुष्टि गरेको छ। यो डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा संघीय आप्रवासन हिरासतमा मृत्यु हुनेमध्ये अहिलेसम्मकै सबैभन्दा कम उमेरको व्यक्ति भएको बताइएको छ।

मृतकलाई मेक्सिकोका रोयेर पेरेज जिमेनेजका रूपमा पहिचान गरिएको छ। उनी फ्लोरिडाको मूर हेभनस्थित ग्लेड्स काउन्टी डिटेन्सन सेन्टरमा राखिएका थिए। यस घटनासँगै चालु वर्षमा संघीय आप्रवासन हिरासतमा मृत्यु हुने आप्रवासीको संख्या कम्तीमा १३ पुगेको छ।

आइसका अनुसार जिमेनेज बिहान सबेरै अचेत अवस्थामा फेला परेका थिए। उनलाई करिब १० मिनेटसम्म पुनर्जीवित गर्ने प्रयास गरिए पनि सफल हुन सकेन। प्रारम्भिक रूपमा यो घटना आत्महत्या भएको आशंका गरिएको छ भने मृत्युको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ।

मेक्सिकोको विदेश मन्त्रालयले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै मृत्युको परिस्थितिबारे स्पष्ट पार्न आवश्यक कागजात माग गरेको छ। मन्त्रालयले यस्ता घटना दोहोरिन नदिन जिम्मेवार निकायले छिटो र विस्तृत अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ।

आइसका अनुसार जिमेनेजलाई एक अधिकृतको नक्कल गर्दै धोखाधडी र अवरोध गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएको थियो। उनी सन् २०२२ मा पहिलो पटक अमेरिका प्रवेश गरेका थिए । त्यसपछि फिर्ता पठाइए पनि पछि पुनः गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेको बताइएको छ।

आइसले हिरासतमा रहेका सबै व्यक्तिहरूलाई सुरक्षित र मानवीय वातावरणमा राख्ने प्रतिबद्धता दोहोर्याएको छ। संस्थाका अनुसार हिरासत अवधिभर आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइन्छ।

गत वर्ष संघीय हिरासतमा आप्रवासीहरूको मृत्यु संख्या ३१ पुगेको थियो, जुन पछिल्ला दुई दशककै उच्च रहेको आइसले जनाएको छ।





Source link

Leave a Comment