प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार

अमेरिकामा सरकारी ‘शटडाउन’ लम्बिँदै जाँदा हवाई यात्रामा समस्या बढ्न थालेको छ। अमेरिकाका प्रमुख विमान कम्पनीका मुख्य कार्यकारी अधिकृत (सीईओ) हरूले समस्या जटिल बन्दै गएको भन्दै अमेरिकी कंग्रेसलाई सरकारी शटडाउन तुरुन्त अन्त्य गर्न आग्रह गरेका छन्। विमानस्थलमा कार्यरत कर्मचारीहरूले तलब नपाउँदा यात्रुहरूले थप ढिलाइ र अवरोध सामना गर्नुपर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।
अमेरिकन एयरलाइन्स, डेल्टा, साउथवेस्ट र जेटब्लू लगायतका प्रमुख एयरलाइन्सहरूले संयुक्त रूपमा कंग्रेसलाई पत्र लेख्दै ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) लाई पुनः बजेट उपलब्ध गराउन माग गरेका छन्। यही विभागअन्तर्गत विमानस्थल सुरक्षाको जिम्मेवारी बोकेको ‘ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशन’ (टीएसए) पर्दछ।
कंग्रेसले बजेटसम्बन्धी सहमति गर्न नसक्दा फेब्रुअरीदेखि डीएचएस बिनाबजेट सञ्चालन भइरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसको दोष डेमोक्रेटिक पार्टीलाई दिएको छ भने डेमोक्रेटहरूले आप्रवासनसम्बन्धी नीतिमा सुधार नभएसम्म बजेट पारित गर्न अस्वीकार गर्दै आएका छन्।
एयरलाइन्सका सीईओहरूले हवाई यात्रा राजनीतिक खेलको माध्यम बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेताहरूले तुरुन्तै सहमति गरेर डीएचएसलाई बजेट उपलब्ध गराउनुपर्ने र भविष्यमा यस्तो समस्या दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ। साथै, उनीहरूले एयर ट्राफिक कन्ट्रोलरहरूलाई सरकारी बजेट परिवर्तन भए पनि तलब सुनिश्चित हुने गरी कानुन बनाउन माग गरेका छन्।
पत्रमा उल्लेख गरिएअनुसार, तलब नपाउँदा टीएसए कर्मचारीहरूलाई “घर चलाउन, गाडीमा इन्धन हाल्न र कोठाभाडा तिर्न समेत गाह्रो” भइरहेको छ। शटडाउनका कारण टीएसए कर्मचारीहरूले शुक्रबार आफ्नो पहिलो पूर्ण तलब गुमाएका थिए। यद्यपि, उनीहरूलाई अत्यावश्यक सेवाका कर्मचारी मानिने भएकाले काम भने जारी राख्नुपर्ने हुन्छ। शटडाउन अन्त्य भएपछि उनीहरूले बाँकी तलब पाउने सम्भावना छ।
डीएचएसका अनुसार, हालसम्म ३०० भन्दा बढी टीएसए कर्मचारीहरूले काम छोडिसकेका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत टीएसए कर्मचारीहरूलाई काममा फर्कन आग्रह गर्दै “म तपाईंहरूलाई कहिल्यै बिर्सने छैन” भनी लेखेका छन्।
यो आंशिक सरकारी शटडाउन फेब्रुअरी १४ बाट सुरु भएको हो। डेमोक्रेटिक पार्टीले आप्रवासन नियन्त्रणसम्बन्धी निकाय ‘आइस’ मा सुधार नगरी डीएचएसलाई बजेट दिन अस्वीकार गरेपछि यो अवस्था सिर्जना भएको हो।
डेमोक्रेटहरूले जनवरीमा मिनेसोटामा आप्रवासन छापाविरुद्ध प्रदर्शन गरिरहेका दुई व्यक्तिको मृत्यु भएपछि ‘आइस’ मा सुधारको माग गर्दै आएका छन्। उनीहरूले आप्रवासन अधिकारीहरूले मास्क लगाउन नपाउने, स्पष्ट परिचयपत्र प्रयोग गर्नुपर्ने तथा पक्राउ गर्न वारेन्ट लिनुपर्ने नियम कडा बनाउनुपर्ने अडान राखेका छन्।