अमेरिकामा अब्बल नेपाली डाटा इन्जिनियर



धनगढी । विश्वभरका मानिसको सपनाको देश– अमेरिका । नेपालीहरू पनि अमेरिका प्रवेश गर्न मरिहत्ते गर्छन् । लाखौं रुपैयाँ खर्चिएर अवैध बाटो हुँदै अमेरिका छिरेका नेपालीका कथा पनि बाहिर आइरहेकै छन् ।

विद्यार्थी, भिजिट भिसादेखि डीभी मार्फत समेत अमेरिकाले वर्षेनि धेरै नेपालीलाई आफ्नो देश लैजाने गर्छ । विभिन्न प्रक्रियाबाट गएका हजारौं नेपाली अमेरिकामा बसोबास गरिरहेका छन् । धेरै वर्षअघि गएका कैयौं नेपाली नागरिक अमेरिकी नागरिक समेत बनिसकेका छन् ।

अमेरिका प्रवेश गरेका कतिपय नेपालीले त त्यहीं बसेर विभिन्न क्षेत्रमा उदाहरणीय काम गरेका छन् । उनीहरूले गैरआवासीय नेपालीका रूपमा नेपालको शिर उँचो बनाउन भूमिका खेलिरहेका छन् । तिनै मध्येको एक नाम हो, डा. धर्म पाध्याय ।

सन् २०१३ मा डीभी मार्फत सपनाको देश पुगेका पाध्याय डाटा इन्जिनियर हुन् भने क्लिनिकल एनालिटिक्सको क्षेत्रमा समेत महत्वपूर्ण काम गरेका छन् ।

बझाङदेखि अमेरिकासम्म

८ मंसिर २०४२ मा सुदूरपश्चिमको विकट जिल्ला बझाङको जयपृथ्वी नगरपालिका–७ सुटियामा जन्मिएका धर्म पाध्यायको औपचारिक शिक्षा गाउँबाटै शुरु भयो । सुनिपापल माध्यमिक विद्यालयमा ८ कक्षासम्मको अध्ययनपछि उनी धनगढी झरे । धनगढीको शारदा माध्यमिक विद्यालयमा ९ र १० कक्षासम्म अध्ययन गरेका पाध्यायले कैलाली बहुमुखी क्याम्पसबाट प्लस टु र बीएसम्मको अध्ययन गरेका थिए ।

उनले कञ्चनपुुरको सिद्धनाथ विज्ञान क्याम्पसमा विज्ञान विषयमा स्नातकोत्तर पूरा गरे । सानै उमेरदेखि अध्ययनशील र तीक्ष्ण स्मरणशक्ति भएका उनी शिक्षण गर्न रुचाउँथे । त्यही भएर एसएलसी दिएदेखि शिक्षणमा आबद्ध भए । धनगढीको स्टेपिङ इङ्गलिस बोर्डिङ स्कूल, स्टोन ब्रिज र डडेल्धुराको ज्ञानोदय इङ्गलिस स्कूलमा पढाए ।

करीब १० वर्ष जति शिक्षण गरेका पाध्यायले भित्रभित्रै अमेरिकी सपना सजाइरहेका थिए । उनी अमेरिकाले हरेक वर्ष खोल्ने डीभीका लागि आवेदन दिन्थे । नभन्दै स्नातकोत्तर अध्ययनकै क्रममा सन् २०१३ मा पाध्यायलाई डीभी पर्‍यो । अब उनको अमेरिका जाने सपना पूरा भयो । र, पाइला अमेरिकातर्फ मोडियो ।

धर्म मनभरि सपना बोकेर सेप्टेम्बर २०१३ मा श्रीमती सहित अमेरिका उडे ।

सुरुवाती संघर्ष

डा. धर्म पाध्यायले जब पहिलो पटक अमेरिकी भूमि टेके, उनका लागि सबथोक नयाँ थियो ।

उनले सुरुवाती दिनमा म्यासाचुसेट्स राज्यको बोस्टन सिटीसँग साक्षात्कार गरे । त्यहाँ पुगेको केही दिनमै सेभेन इलाभेन नामक स्टोरमा काम थाले । तरकारी, चिया, कफी लगायत सामान बिक्री गर्ने यो स्टोरमा पाँच महिना काम गर्दा धर्मले अमेरिका र त्यहाँको प्रणालीबारे नजिकबाट बुझ्ने मौका पाए ।

खुद्रा सामान बिक्री गर्ने स्टोरको कामबाट जीविका चले पनि विशेष खालका काम गर्न नसकिनेमा धर्म स्पष्ट थिए । विज्ञान विषय लिएर अध्ययन गरेका उनी विज्ञान, प्रविधि क्षेत्रमै चासो राख्थे । उनको खुबी र क्षमताले स्टोरमा मात्र खुम्चिन मिल्दैनथ्यो । त्यसैले स्टोरमा कामसँगै अध्ययनलाई पनि अघि बढाउने निधो गरे ।

फलत: उनले सूचनाप्रविधि अन्तर्गत डाटा इन्जिनियरिङ सम्बन्धी तीन महिने कोर्ष गरे । उक्त कोर्ष सकेपछि त्यहाँको सञ्चार सम्बन्धी काम गर्ने कोजेन्ट डाटा सोलुसन नामक कम्पनीमा काम गर्ने अवसर पाए । उनका लागि रुचिअनुसार सूचनाप्रविधि र तथ्यांकको क्षेत्रमा काम गर्ने यो पहिलो खुड्किलो थियो ।

अमेरिकामा अब्बल नेपाली डाटा इन्जिनियरधर्म तथ्यांक संकलन गर्ने, व्यावसायिक रिपोर्ट बनाउने जस्ता काम गर्थे । सन् २०१४ मा उनले ६ महिनासम्म दुई वटा कम्पनीमा सँगसँगै काम अघि बढाएका थिए ।

यही वर्षको अन्त्यतिर उनी क्यालिफोर्नियास्थित सिटी अफ होप, नेशनल मेडिकल सेन्टर नामक क्यान्सर उपचार तथा अनुसन्धान केन्द्र हानिए । त्यहाँ उनले सिनियर डेटा इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएका थिए । यहाँ करीब पाँच वर्ष काम गरे ।

यसबीचमा डा. धर्मले शैक्षिक करिअरलाई पनि अघि बढाइरहेका थिए । उनले तीनवटा डिग्री हात पारिसकेका थिए । अमेरिकन एकेडेमी अफ प्रोजेक्ट म्यानेजमेन्टबाट मास्टर अफ प्रोजेक्ट म्यानेजमेन्ट(एमपीएम), युनिभर्सिटी अफ फिनिक्सबाट मास्टर अफ साइन्स (एमएस) र युनिभर्सिटी अफ फिनिक्सबाटै मास्टर अफ साइन्स इन इन्फर्मेशन टेक्नोलोजी (एमएसआईटी) गरिसकेका थिए ।

सिटी अफ होप, नेशनल मेडिकल सेन्टरमा उनले पाँच वर्ष काम गरे । यो मेडिकल सेन्टरमा उनको प्रमुख काम भनेको बिरामी उपचार पद्धतिबारे तथ्यांक संकलन, सेवाको प्रभावकारिता र बिरामीको सन्तुष्टि जस्ता पक्षलाई अध्ययन गरेर संस्थाको सेवालाई थप प्रभावकारी र दुरुस्त बनाउने थियो ।

अनुभवले थप सिंढी चढायो

राष्ट्रियस्तरको क्यान्सर उपचार केन्द्रमा सिनियर डाटा इन्जिनियरका रूपमा काम गरेर आफ्नो उच्च क्षमता प्रदर्शन गरेपछि डा. धर्म पाध्याय स्वास्थ्य क्षेत्रका धेरैको नजरमा परिसकेका थिए । क्षमता, दक्षता, कामप्रतिको समर्पणले नै उनले लोकप्रियता सहित दक्ष डाटा इन्जिनियरको पहिचान बनाए । त्यही पहिचानले थप ऊर्जा र हौसला सहित नयाँ–नयाँ यात्रा तय गर्न सघाइरहेको थियो ।

पाँच वर्ष क्यान्सरको उपचार हुने सिटी अफ होप नेशनल मेडिकल सेन्टर छाडेपछि धर्मले न्यू जर्सी राज्यमा रहेको ह्याकन्स्याक मेरिडियन हेल्थमा काम गर्ने अवसर प्राप्त गरे । यो संस्थाले उक्त राज्यभर २५ भन्दा बढी अस्पताल सञ्चालन गरेको छ । उनले संस्थाको डाटा व्यवस्थापन र विश्लेषण निर्देशकको रूपमा त्यहाँ काम थालेका थिए ।

ह्याकन्स्याक मेरिडियन हेल्थले सबै अस्पतालको तथ्यांक एकत्रित गरेर विश्लेषण गर्दै उपचार पद्धतिको विश्लेषण, समस्या पहिचान, चिकित्सकलाई प्रोएक्टिभ गराउने, अस्पतालको सेवासुविधा प्रवाहको स्थिति लगायतको अध्ययन, विश्लेषण गरेर तथ्यांक व्यवस्थापनको जिम्मेवारी उनको थियो ।

‘मैले यहाँ डाटा म्यानेजमेन्ट एनालाइटिक्स डाइरेक्टरका रूपमा मातहतका अस्पताललाई समेत हेर्ने गरी सबै तथ्यांक एकठाउँमा राखेर विश्लेषण गर्ने, सेवा प्रवाहलाई छिटो–छरितो र प्रभावकारी बनाउने काम गर्दै आएको थिएँ’ डा. धर्मले भने, ‘कम्तीमा पनि २५ वटा अस्पतालको डाटा प्रत्यक्ष रूपमा निगरानी, विश्लेषण र त्यही अनुसारका योजना लागू गर्ने मेरो प्रमुख जिम्मेवारी थियो ।’

ह्याकन्स्याक मेरिडियन हेल्थ ग्रुपको सबैभन्दा ठूलो अस्पतालका रूपमा जेएफके हस्पिटल थियो । निकै महत्वपूर्ण र स्वास्थ्य क्षेत्रमा लगानीका हिसाबले ठूलो ग्रुप रहेको ह्याकन्स्याक मेरिडियन हेल्थमा सन् २०२१ सम्म काम गरेको धर्मले सुनाए । उनले एकपछि अर्को संस्थामा सिनियर डाटा इन्जिनियरका रूपमा काम गर्दै, नयाँ–नयाँ अनुभव बटुल्दै अध्ययनलाई पनि निरन्तरता दिंदै गए ।

डा. धर्मले साढे दुई वर्ष लगाएर इन्फर्मेसन टेक्नोलोजी सिस्टम अर्थात् सूचनाप्रविधि प्रणालीमा पीएचडी र व्यवसाय प्रशासन (बिजनेश एडमिनिस्ट्रेशन) मा स्तानकोत्तर गरेका थिए, जहाँ एमबीए गर्न उनलाई शतप्रतिशत छात्रवृत्ति मिलेको थियो ।

अध्ययन सकेपछि भने ह्याकन्स्याक मेरिडियन हेल्थ ग्रुपको आवद्धतामा ब्रेक लाग्यो । कारण थियो, उनलाई अर्को संस्थाले कामका लागि अफर गर्‍यो । कामका लागि आएको नयाँ प्रस्तावलाई स्वीकार गर्दै डा. धर्म त्यहाँबाट मेनेटोन्का मिनेसोटामा रहेको युनाइटेड हेल्थ ग्रुपसँग जोडिए । स्वास्थ्य बीमा र स्वास्थ्य सेवासँग सम्बद्ध काम गर्ने यो कम्पनी विश्वमै १० ठूला कम्पनीको सूचीभित्र अटाउँछ ।

डाटा व्यवस्थापन तथा विश्लेषणकै जिम्मेवारी पाएका डा. धर्मले यो विशाल कम्पनीमा तथ्यांक विश्लेषकसँगै अन्य कार्यक्रम समेत हेर्थे । डाटा साइन्टिस्ट, डाटा इन्जिनियर, रिपोर्टर, राइटर, व्यापार विश्लेषण, कार्डियो भास्कुलर एनालिटिक्स, न्युरोलोजिकल अध्ययन विश्लेषण जस्ता काम समेत गर्दै आएका थिए ।

पाँच हजार जनालाई उछिन्दै आईटी विज्ञ

अमेरिकी नागरिकको स्वास्थ्य तथा कल्याणलाई अभिवृद्धि गर्ने उद्देश्यले गैरसरकारी स्तरबाट स्वास्थ्य तथा मानव सेवा विभाग अर्थात् हेल्थ एन्ड ह्युमन सर्भिसेज सञ्चालनमा छ । नेपाली मूलका डा. धर्म पाध्याय अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागमा आईटी विशेषज्ञ, डाटा आर्किटेक्चर व्यवस्थापन र विश्लेषण प्रमुख बनेका थिए ।

लमानिया ग्रुप नामक कम्पनी धर्म आफ्नैको हो । यो कम्पनी मार्फत उनले डाटा इन्जिनियरिङ सम्बन्धी काम गर्दै आएका छन् । यी बाहेक उनी अमेरिकामा रहेका विभिन्न संघ–संस्थामा सल्लाहकारको रूपमा समेत काम गर्छन् ।

अमेरिका जस्तो मुलुकमा गैरसरकारी संस्था स्वास्थ्य तथा मानव सेवा विभागको आईटी विशेषज्ञ, डाटा आर्किटेक्चर व्यवस्थापन र विश्लेषण प्रमुख बन्न सजिलो थिएन । तर निरन्तर संघर्ष, अनुभव र अध्ययनले उनी खुला प्रतिस्पर्धाबाट आईटी विशेषज्ञ, डाटा आर्किटेक्चर व्यवस्थापन र विश्लेषण प्रमुख बनेका थिए । उनले पाँच हजार जनालाई पछि पार्दै यो अवसर पाएका थिए ।

डा. धर्मले त्यहाँ मुख्यत: दुई वटा काम गर्नुपर्ने थियो । एउटा, आईटी विज्ञका रूपमा डाटा व्यवस्थापन गर्ने र अर्को, विश्लेषण तथा उत्पादित औषधिको गुणस्तर मापन गरेर स्वीकृति प्रदान गर्ने । यो सँगै वायोलोजिकल उत्पादनको समीक्षा गर्र्दै अनुुमोदन गर्ने, औषधिको रिभ्यू गर्दै प्रमाणीकरण गर्ने, सेवा छरितो र प्रभावकारी बनाउने काम डा. धर्मको थियो । यहाँ काम गर्दा अनावश्यक खर्च कटौती गर्दै उनले २० मिलियन डलर बचत गरिदिएका थिए । त्यसमा तथ्यांक विश्लेषणको अनुभवले महत्वपूर्ण काम गरेको उनी स्मरण गर्छन् ।

गत वर्ष मात्र पीएचडी सिध्याएका डा. धर्मले उक्त संस्थाको सहयात्रा टुंग्याउँदै पुुन: अर्को संस्थासँग आबद्धता तय गरे । इटिङ रिकभरी सेन्टर अन्तर्गतको प्याथाइट एन्ड मुुड इन्जाइटी सम्बन्धी काम गर्ने संस्थामा जोडिए । यो संस्था अमेरिकाकै एआईमा आधारित व्यवहार स्वास्थ्यसँग सम्बन्धित सेवा दिने एउटा विशाल संस्थाका रूपमा परिचित छ । डेनभर कोलोराडोमा मुख्य कार्यालय रहेको यो संस्थाले अमेरिकाका ४० राज्यमा शाखा विस्तार गरेको छ ।

त्यहाँ उनलाई हेड अफ डाटा साइन्स एण्ड एडभान्स एनालाइटिसको जिम्मेवारी दिइएको थियो । अर्थात् उक्त कम्पनीमा धर्मले खानेकुराबाट हुने अपच, मानवीय व्यवहारसँग सम्बन्धित तथ्यांकको विश्लेषण, सही सूचना र तथ्यांक प्रयोग गर्दै मानसिक स्वास्थ्य उपचार सम्बन्धी कार्यक्रम तयार गर्दै आएका थिए ।

डा. धर्म पाध्यायको छवि अमेरिकामा सूचनाप्रविधि एवं डाटा इन्जिनियर तथा विश्लेषकको रूपमा मात्र सीमित छैन, अमेरिका बसाइका दौरान उनले गरेको निरन्तरको संघर्ष र परिश्रमको फल आफैं मालिकका रूपमा पनि परिचित छन् ।

लमानिया ग्रुप नामक कम्पनी धर्म आफ्नैको हो । यो कम्पनी मार्फत उनले डाटा इन्जिनियरिङ सम्बन्धी काम गर्दै आएका छन् । यी बाहेक उनी अमेरिकामा रहेका विभिन्न संघ–संस्थामा सल्लाहकारको रूपमा समेत काम गर्छन् ।

डाटा इन्जिनियरका रूपमा अमेरिकाका विभिन्न संघ–संस्थामा काम गरेका डा. धर्मले त्यहाँको स्वास्थ्य उपचार प्रणाली, बिरामीको जीवन सुरक्षा, उपचार प्रणाली, इलेक्ट्रोनिक मेडिकल रेकर्डलाई हेल्थ केयरमा जोडेर सेवा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

अमेरिका अवसरको भूमि भएको बताउने धर्म प्रतिस्पर्धा समेत निकै पेचिलो र संघर्षपूर्ण भएको अनुभव सुनाउँछन् । ‘यो अवसरको भूमि हो । तर यहाँ ठूलो प्रतिस्पर्धाले मात्र अवसर हात पार्न सम्भव हुन्छ । विश्वभरबाट यहाँ आउने जो–कोहीले पनि भूमि मात्र होइन, मनस्थिति पनि बदल्नुपर्छ’ उनले भने, ‘नेपालीले नैसर्गिक व्यवहार त्याग्नुपर्छ । निरन्तर संघर्षको मैदानमा खेल्नुुपर्ने हुन्छ । मेरो संघर्ष अहिले पनि जारी छ ।’

नेपालमै काम गर्ने धोको

डीभी परेपछि अमेरिका गएका डा.धर्म पाध्यायले त्यहाँ गरेको निरन्तरको संघर्षपछि आर्जन गरेको सीप र ज्ञानलाई प्रयोग गरेर नेपालमा काम गर्ने धोको भएको बताएका छन् । खासगरी डाटा इन्जिनियरको रूपमा अमेरिकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा काम गर्दा प्राप्त अनुभवका आधारमा नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने सपनासँगै इच्छा पनि उनमा छ ।

‘डाटाको माध्यमबाट अमेरिकाको हेल्थ केयर सिस्टममा धेरै वर्ष काम गरियो । विभिन्न योजना बनाएर स्वास्थ्य प्रणाली सुधार गर्न पनि निकै ठूलो भूमिका रह्यो जस्तो लाग्छ’ उनले भने, ‘यहाँ सिकेको कुराका आधारमा नेपालको स्वास्थ्य क्षेत्र सुधारमा पनि काम गर्न सके हुन्थ्यो भन्ने छ । परिस्थितिले साथ दिएमा एक दिन पक्कै सम्भव हुनेछ ।’





Source link

Leave a Comment