अमेरिकामा अध्ययन नेपालमा उपचार


मान्छे कि सपनाको बाटो हिँड्छन् कि प्रारब्ध वा संयोगले तिनीहरूको बाटो बनाइदिन्छन्। त्यसैले पनि जीवनलाई सपना र संयोगको संयोजन भन्दा फरक पर्दैन। सपनाको पाठ पढ्दापढ्दै कसैको जीवनमा सङ्घर्षको अभ्यास छुटिसक्छन्, कसैले जीवनमा सङ्घर्षको अभ्यास गर्दागर्दै सपनाका अध्यायहरू छुट्छन्।

प्रिय पाठक, आज मैले यहाँहरूलाई पूर्ण छात्रवृत्ति पाइसकेपछि रोजाइको विषय अध्ययन भन्दै जहाजको टिकट लिन हिँडेका एक विद्यार्थी जसको एउटा सपना नेपाल यातायातमा चोरियो, उनैको जीवनका रोचक मोडहरू प्रस्तुत गर्दै छु। उनले हालै अमेरिकाको प्रतिष्ठित फुलब्राइट स्कलरसिप प्राप्त गरेर अमेरिकाबाट हस्पिटल एडमिनिस्ट्रेसनमा ग्राजुएसन गरेका छन्। भनिन्छ, कहिलेकाहीं जीवनमा एउटा ढोका बन्द हुँदा सयौं ढोका खुल्छन्। यस्तै भयो डा. सञ्जीव गुप्तालाई पनि।

बुबा कामेश्वर शाह र आमा गङ्गादेवी शाहका जेष्ठ सुपुत्र सञ्जीवको सिराहा जिल्लाको सिराह भन्ने ठाउँमा मध्यमवर्गीय परिवारमा जन्म भयो। सानैदेखिका जिज्ञासु स्वभावका सञ्जीवले सोच्थे, कोही मान्छे यति धेरै धनी र कोही मान्छे यति धेरै गरिब किन हुन्छन्? बाल्यकालमा गाउँमा सर्पदंशका कारण मान्छेहरूको निधनका घटना देखेपछि उनको मनमा जिज्ञासाको थप एक सिँढी थपियो– कसैले स्वास्थ्योपचारको अभावमा किन अकालमै ज्यान गुमाउनुपर्छ होला?

गुप्ता भन्छन्– ‘त्यतिखेर सिराहा जिल्लाका अपवादबाहेकका मान्छे नेपालको उपचारमा विश्वास गर्दैनथे र भारत जान्थे।’ पछि सिराहाका केही स्थानीयले चिकित्साशास्त्र अध्ययन गरिसकेपछि मात्र नेपालमा उपचार गर्ने प्रवृत्ति सुरु भयो। त्यसबखत सिराहाका स्कुल पढ्ने समयका धेरै बालबालिका अशिक्षा, अभाव र लागु पदार्थ दुव्र्यसनीका बन्दी बनेका थिए। पछि त्यही जिज्ञासाले उनलाई एमबिबिएसका लागि बोस्टन पुग्ने बाटो बनायो।

गुप्ताले एसएलसी सन् २००५ मा माउन्ट एभरेस्ट स्कुल सिराहाबाट जिल्ला प्रथमसहित विशिष्ट श्रेणीमा उत्तीर्ण गरे। त्यतिखेर सिराहामा एक जनाको मात्र विशिष्ट श्रेणी आएको थियो। पढाइमा सानैदेखि अब्बल गुप्तालाई केही न केही गरौं भन्ने हुटहुटीले काठमाडौंसम्म डो¥यायो। त्यसपछि उनले सन् २००७ मा काठमाडौंको काठमाडौं डनबसको कलेजबाट १० प्लस दुई उत्तीर्ण गरे। उनमा एमबिबिएस पढ्ने ठुलो रहर थियो। त्यसपछि उनी जुटे एमबिबिएस प्रवेश परीक्षाको तयारीमा। उनको नाम त निस्किन्थ्यो तर थोरै नम्बरले उनी पूर्ण छात्रावृत्ति पाउनबाट वञ्चित हुन्थे।

यसरी उनको दुई वर्ष बित्यो। तयारीको दोस्रो वर्षमा यता नभए अन्यत्र पनि पढ्ने सोच्नुपर्छ भनेर उनले बंगलादेशको ढाका युनिभर्सिटीमा जेनेटिक इन्जिनियरिङमा ब्याचलर गर्ने विचार गरे। फारम पनि भरे र पूर्ण छात्रवृत्ति पनि पाए। जब उनी बंगलादेश जाने भनेर पासपोर्ट र पैसा बोकेर टिकट काट्न हिँड्दै थिए, नेपाल यातायातबाट उनको झोलामा रहेको ५२ हजार रूपैयाँ चोरी भयो। जसबाट उनी मानसिक रूपमा निकै नै विक्षिप्त बने। त्यसपछि उनी आफू अध्यात्ममा जोडिने अवसर पाए।

त्यसै वर्षको काठमाडौं विश्वविद्यालयको एमबिबिएस प्रवेश परीक्षामा उनको नाम निस्कियो र उनले त्यहाँ आफ्नो चिकित्सा क्षेत्रको अध्ययन प्रारम्भ गरे। कर्णप्रिय आवाज अनि विशाल हृदय भएका गुप्ताले धुलिखेल अस्पताल पढ्दा धेरै हेल्थ क्याम्प गरेर सर्वसाधारणको मन जितेका थिए।

सन् २०१५ मा हुने एमबिबिएस पास भइसकेपछि उनले लहानस्थित एक अस्पतालमा काम गरे। एकपटक एक जना वृद्ध आफ्नो नातिलाई ज्वरो आएर सोही अस्पतालमा भर्ना गर्छन्। उनले नातिको उपचार गर्दा धेरै रकम तिर्नुपर्ने देखिन्छ। जब सञ्जीव वार्डमा आउँछन्, ती वृद्धले गहभरि आँसु पार्दै, हात जोड्दै भन्छन्, ‘डाक्टर साब, मैले घरबाट भैंसी बेचेर ल्याएको सबै पैसा सकियो। मेरो नातिलाई कहिले ठिक हुन्छ?’

सबै रिपोर्ट हेर्दा रोगको प्रकृति सामान्य नै थियो। आएको ज्वरो मात्रै थियो। उनी अवाक् हुन्छन्। अस्पताल प्रशासनलाई सञ्जीवले भन्छन्, ‘के हो यस्तो, उहाँलाई डिस्चार्ज गरिदिनू न।’ अस्पताल प्रशासनले भन्छ, ‘डाक्टर साब, हजुरको काम बिरामी हेर्ने हो, आर्थिक कारोबार हामीले गर्ने हो।’

सञ्जीवलाई चित्त बुझ्दैन र भन्छन्, ‘उहाँलाई डिस्चार्ज गरिदिनू र बाँकी बिल मेरो तलबबाट काटिदिनू।’ त्यसको भोलिपल्ट उनले त्यस अस्पतालबाट राजीनामा दिन्छन् र काठमाडौं फर्किन्छन्। सोच्छन्– ‘नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको बेथितिलाई रोक्नुपर्छ।’

उनलाई हप्तौंसम्म उक्त कुराले विक्षिप्त बनाउँछ। त्यसपछि उनले एउटा निर्णय लिन्छन् अनि सुरु गर्छन् गैरनाफामूलक क्लिनिक, भक्तपुरको दुधपाटीमा। विभिन्न व्यक्ति तथा संस्थासँग आफैंले रकम संकलन गरेर उक्त क्लिनिकबाट जनतालाई सेवा दिन थाल्छन्। अहिले उक्त पोलिक्लिनिकबाट बिरामीहरूले विभिन्न रोगको सुलभ स्वास्थ्य सेवा प्राप्त गर्छन्। विस्तृत योजनासाथ भक्तिवेदान्त पोलिक्लिनिकले हाल इस्कोन बुढानीलकण्ठनजिकै भवन निर्माणसँगै सेवा सञ्चालन गर्दै आएको छ।

सन् २०२३ मा अमेरिकी सरकारले मास्टर्सका लागि दिने पूर्ण छात्रवृत्ति नेपालबाट पाउने चारजना मध्येका गुप्ता पनि एक हुन्। उनले दुई वर्षमा पूर्ण छात्रवृत्तिमार्फत दुई लाख २७ हजार दुई सय १९ डलर बराबरको छात्रावृत्ति प्राप्त गरिसकेका छन्। उनले बोस्टन युनिभर्सिटीबाट हेल्थ केयर एडमिनिस्ट्रेसन पूरा गरेका छन्, साथै बोस्टर्न मेडिकल सेन्टरबाट एडमिनिस्ट्रेटिभ फेलोसिप पनि प्राप्त गरे। क्याम्ब्रिजस्थित एमआइटीको स्यान्डबक्स प्रोग्रामका लागि चयन भई उनी फेलो समेत थिए। डिजिटल हेल्थ र एआईको महत्त्वलाई बुझ्दै उनले स्ट्यानफोर्डबाट एआइइन हेल्थकेयरमा प्रमाणपत्र प्राप्त गरे र हार्बर्डबाट डिजिटल ट्रान्सफर्मेसन सर्टिफिकेट पनि सफलतापूर्वक सम्पन्न गरे।

गुप्ताले माटाको सुगन्ध बुझेका छन्। तराईका फाँटदेखि हिमालका टाकुरासम्मका मान्छेको मन स्पर्श गरेका छन्। उनले देश–देशावर देखे तर सर्वोत्कृष्ट अवसर नेपालमै देखे। अनि स्वास्थ्य क्षेत्र सुधारका सयौं सपना बोकेर फर्किए नेपाल।

नेपालका धेरैजसो चिकित्सकमाझ एउटा साझा सोच पाइन्छ– एमबिबिएसपछि रेसिडेन्सी वा क्लिनिकल अभ्यास नै एक मात्र बाटो हो। वास्तवमा चिकित्सा शिक्षाको पृष्ठभूमि भएका व्यक्तिका लागि अनुसन्धान, शिक्षण, व्यवस्थापन, व्यवसाय, उद्यमशीलता, एआई, डिजिटल हेल्थ र अस्पताल प्रशासनजस्ता क्षेत्रमा पनि थुप्रै अवसर छन्, जहाँ उनीहरूको सिप र ज्ञानको उच्च कदर हुन्छ।

उनले भर्खरै बोस्टन युनिभर्सिटीको ‘एसिलेरेटर प्रोग्राम’मा सहभागी भएर नेपालका लागि टेली–हेल्थ कसरी प्रभावकारी बनाउने भन्ने नयाँ सोच र मोडल विकास गरेका थिए। यसकै आधारमा उनलाई ‘इनोभेटिभ प्राक्टिकम अवार्ड’ प्रदान गरियो।

उक्त प्लेटफर्म विकासका लागि चार लाख १० हजार रूपैयाँ बराबरको अनुदानसमेत प्राप्त भएको थियो। उनी प्रत्येक दिन १० हजारभन्दा बढी विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने गैरनाफामूलक संस्था ‘फुड फर लाइफ नेपाल’का बोर्ड मेम्बर पनि हुन्।

उनी अमेरिकन कलेज अफ हेल्थकेयर एक्जिक्युटिभका सदस्य हुन्। उनले विश्व स्वास्थ्य संगठन, अमेरिकन पब्लिक हेल्थ एसोसिएसनमा एआईको प्रयोगबाट नेपाललाई स्वास्थ्य क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिइसकेका छन्।

उनी भन्छन्– मैले आफैं दुर्गम क्षेत्रमा काम गरेको र क्लिनिक सञ्चालन गरेको अनुभवले स्वास्थ्य सेवाको प्रत्येक चरणमा आउने चुनौतीहरू बुझ्न पाएको छु। पछिल्लो अनुभवले पश्चिमी प्रणालीहरू अवलोकन गर्ने मौका मिल्दा के के गर्न सकिन्छ भन्ने पनि बुझ्न थालेको छु। अहिले म त्यस्ता धेरै पक्ष देखिरहेको छु, जहाँ ब्रिजिङ आवश्यक छ र ती सबै ठाउँ सम्भावनाले भरिएका छन्। अहिले म त्यस्ता धेरै पक्ष देखिरहेको छु, जहाँ जडान आवश्यक छ र ती सबै ठाउँ सम्भावनाले भरिएका छन्।

गुप्ताले नेपालमा स्वास्थ्य क्षेत्रमा कार्य गर्दा प्रशासनबाट धेरै दुःख पाएको अनुभूति बाँड्छन्। भ्रष्टाचार, कुशासन र कमिसनले जेलिएको नेपालको कर्मचारीतन्त्रले दिएको कष्टको कारुणिक तस्बिर उनको मानसपटलमा अझै ताजै छ। तर पनि जीवनमा केही प्राप्त गर्न चाहनेले जहिले पनि‌ सुरक्षित क्षेत्रबाट बाहिर निस्किएर ‘एस्पेक्ट दि अनएस्पेक्टेड’को सिद्धान्तलाई सामना गर्न सक्नुपर्छ। यसले मानिसको जीवन र करियर दुवैलाई सहज बनाउँछ। नेपालको गाउँ गाउँसम्म गुणस्तरीय स्वास्थ्य सेवालाई प्रविधिमार्फत सरकारसँगको सहकार्यमा प्रवर्धन गर्ने उनको योजना छ। उनले नेपाल सरकारले वातावरण बनाइदिने हो भने दक्ष जनशक्ति नेपाल फर्किने विश्वास व्यक्त गर्छन्। 

प्रकाशित: ३ श्रावण २०८२ ०८:३१ शनिबार





Source link

Leave a Comment