प्रकाशित मिति : फाल्गुन १४, २०८१ बुधबार

ट्रम्प प्रशासनले अमेरिकामा रहेका १४ वर्ष वा माथिका कागजात नभएका आप्रवासीहरूलाई दर्ता गराउने नियम ल्याएको छ । दर्ता नगराए वा उनीहरूको औंठाछापहरू अमेरिकी सरकारलाई उपलब्ध नगराए सम्भावित रूपमा आपराधिक मुद्दा लगाउने ट्रम्प प्रशासनको योजना रहेको छ । तर यो नियम व्यापक रुपमा कार्यान्वयन हुनेमा भने आशंका रहेको छ ।
अमेरिकामा अवैध रूपमा रहेका आप्रवासीहरू सरकारसमक्ष दर्ता हुनका लागि अगाडि आउने सम्भावना निकै कम रहेको छ । ट्रम्पको सामूहिक निर्वासनको धम्कीलाई ध्यानमा राख्दै उनीहरुले आफूलाई दर्ता गराउन जानेमा आशंका उत्पन्न भएको हो । धेरै अनाधिकृत आप्रवासीहरू कहाँ छन् भन्नेबारे सरकारलाई पनि थाहा छैन । त्यसैले उनीहरूले दर्ता नगरेमा पनि उनीहरूलाई कारबाही गर्न गाह्रो हुन्छ।
तैपनि यो कदम आप्रवासीहरुलाई स्वेच्छाले अमेरिका छाड्न दवाव दिनका लागि शत्रुतापूर्ण वातावरण सिर्जना गर्ने र त्यसका लागि उपलब्ध सबै स्रोतहरू प्रयोग गर्ने ट्रम्प प्रशासनको अभियानको एक चरण हो । नयाँ नियमले कागजात नभएका व्यक्तिहरूका लागि थप भ्रम पनि सिर्जना गर्छ र जनवरीको अन्त्यदेखि डरबाट ग्रसित भएकोमा त्यसलाई अझ बढाउने आप्रवासन अधिकारकर्मीहरुको भनाई छ ।
नयाँ योजना विद्यमान अध्यागमन कानून अन्तरगतकै हो । यो कानून सामान्यतया लागू भने गरिएको थिएन । अमेरिका दोस्रो विश्वयुद्धमा प्रवेश गर्नु भन्दा केही समय अघि अमेरिकाले कागजात नभएका आप्रवासीहरूलाई अमेरिकी सरकारसँग उनीहरूको स्थानीय हुलाक कार्यालयमा दर्ता गर्न आवश्यक पर्ने कानुन पारित गरेको थियो ।
ट्रम्प प्रशासनले ग्रीन कार्ड भएका, निर्वासनको प्रक्रियामा रहेका वा भिसा लिएर देश प्रवेश गरेकाहरूलाई दर्ता लागू नहुने बताएको छ। तर १४ वर्षभन्दा कम उमेरका कागजात नभएका आप्रवासीका अभिभावकहरूले आफ्ना बालबालिका दर्ता गर्नुपर्छ।