अमेरिकाबाट सेल्फ डिपोर्ट हुनेले अब २६ सय डलर र निःशुल्क हवाई टिकट पाउने



प्रकाशित मिति : माघ ७, २०८२ बुधबार

अमेरिकाबाट सेल्फ डिपोर्ट हुनेले अब २६ सय डलर र निःशुल्क हवाई टिकट पाउने

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले मंगलबार बिना कागजात अमेरिकामा बसिरहेका आप्रवासीहरूका लागि नयाँ प्रोत्साहन योजना घोषणा गरेको छ। जसअनुसार स्वैच्छिक रूपमा अमेरिका छाड्न चाहनेहरूलाई २६ सय डलर र संघीय सीबीपी होम एपमार्फत निःशुल्क हवाई टिकट उपलब्ध गराइने भएको छ।

यो पहल गत वर्षको ‘होम फर द हलिडेज’ अभियानको विस्तारित रूप हो। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको पहिलो वर्षगाँठलाई समेत अंकित गर्छ। होमल्याण्ड सेक्युरिटीका अनुसार औपचारिक देशनिकाला भन्दा स्वैच्छिक प्रस्थान कम खर्चिलो र बढी प्रभावकारी हुने भएकाले यो योजना ल्याइएको हो।

जनवरी २०२५ देखि हालसम्म करिब २२ लाख मानिसले स्वैच्छिक रूपमा अमेरिका छाडेका छन् भन्ने होमल्याण्ड सेक्युरिटीको तथ्यांक छ। करिब १ लाख मानिसले सीबीपी होम एपमार्फत घर फर्कने व्यवस्था मिलाएका छन् भनी होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

एक जनालाई स्वैच्छिक रूपमा पठाउँदा करिब ५,१०० डलर खर्च हुने होमल्याण्ड सेक्युरिटीको तथ्यांक छ। जबकि औपचारिक देशनिकाला प्रक्रियामा औसत १८ हजार २४५ डलर खर्च हुने तथ्यांक रहेको छ।

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले एक विज्ञप्ति जारी गर्दै कागजात नभएका विदेशीहरूले यो अवसरको फाइदा उठाएर आफैँ देश छाड्नुपर्ने बताएकी छिन्। यदि उनीहरूले यसो नगरे उनीहरूलाई खोजी गरी पक्राउ गर्ने र कहिल्यै फर्कन नपाउने गरी देशनिकाला गरिने चेतावनी उनले दिएकी छिन्।

होमल्याण्ड सेक्युरिटीले स्वैच्छिक रूपमा देश छाड्ने व्यक्तिहरूले केही नागरिक जरिवाना वा दण्डहरूमा छुट पाउन सक्ने पनि जनाएको छ। २०२५ मा सुरु गरिएको सीबीपी होम एपमार्फत योग्य व्यक्तिहरूले अनलाइन दर्ता गरी आफ्नो यात्रा विवरण बुझाउन र सरकारी खर्चमा यातायातको व्यवस्था मिलाउन सक्छन्।

राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा अध्यागमन नियन्त्रण मुख्य एजेन्डा रहेको छ। ट्रम्प ह्वाइटहाउस फर्किएको पहिलो वर्षमा मात्रै ६ लाख ७५ हजारभन्दा बढी मानिसलाई देशनिकाला गरिएको होमल्याण्ड सेक्युरिटीले रिपोर्ट गरेको छ।





Source link

Leave a Comment