अमेरिकाबाट सेप्टेम्बरमा मात्रै ५३ नेपाली डिपोर्ट, ट्रम्प कार्यकालमा डिपोर्ट हुने नेपाली २६८



प्रकाशित मिति : आश्विन १८, २०८२ आईतबार

अमेरिकाबाट सेप्टेम्बरमा मात्रै ५३ नेपाली डिपोर्ट, ट्रम्प कार्यकालमा डिपोर्ट हुने नेपाली २६८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अमेरिकाबाट डिपोर्ट गरिएका १९ नेपाली अवतरण । तस्बिरः गोपाल दाहाल/रासस

अमेरिकाबाट नेपाल फर्काइएका नेपाली नागरिकको संख्या सेप्टेम्बरमा उल्लेखनीय रूपमा बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को सेप्टेम्बर महिनामा मात्र ५३ जना नेपाली डिपोर्ट भएका छन्, जसमा २४ जना महिला र २९ जना पुरुष छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता सन् २०२५ को जनवरी २० देखि सेप्टेम्बर ३० सम्ममा कुल २६८ जना नेपाली डिपोर्ट भएको तथ्यांक छ, जसमध्ये २२६ जना पुरुष र ४२ जना महिला छन्।  हालसम्मको तथ्यांकअनुसार जनवरी, फेब्रुअरी, जुलाई, र अगस्ट महिनाको संख्या तुलनात्मक रूपमा कम छ भने सबैभन्दा धेरै मेमा ५८, जुनमा ४२ र सेप्टेम्बरमा ५३ जना डिपोर्ट भएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि देशनिकाला नीतिमा थप कडाइ गरिएको छ। वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित यो नीतिका कारण ठूलो संख्यामा नेपालीहरू देशनिकालाको जोखिममा परेका छन्। सन् २०२५ मा डिपोर्ट भएका नेपालीको मासिक संख्या हेर्दा जनवरीमा ६ जना, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना र सेप्टेम्बरमा ५३ जना नेपाली डिपोर्ट भएका छन्।

अमेरिकाबाट सेप्टेम्बरमा मात्रै ५३ नेपाली डिपोर्ट, ट्रम्प कार्यकालमा डिपोर्ट हुने नेपाली २६८

अमेरिकाबाट सेप्टेम्बरमा मात्रै ५३ नेपाली डिपोर्ट, ट्रम्प कार्यकालमा डिपोर्ट हुने नेपाली २६८

डिपोर्ट भएर आएका नागरिकलाई अध्यागमन विभागले थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो (ब्यूरो) लाई जिम्मा लगाउने गरेको छ। ब्यूरोले सामान्य सोधपुछ गरी प्रायःजसो डिपोर्ट भएका व्यक्तिलाई आफन्तको जिम्मा लगाउँदै आएको छ, यद्यपि कसैले लिखित निवेदन दिएको खण्डमा भने शीघ्र अनुसन्धान अगाडि बढ्ने गरेको छ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) ले नेपालीको अस्थायी संरक्षित स्थिति (टीपीएस) र त्यसका आधारमा प्राप्त वर्क परमिट अगस्ट २० पछि अमान्य भएको जनाएको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले नेपालको टीपीएस समाप्त गरेको र अगस्ट २० मा नवौं सर्किट अदालतले समाप्ति स्थगित गर्ने तल्लो अदालतको आदेशलाई रोक लगाएकाले टीपीएसको समाप्ति प्रभावकारी बनाउन अनुमति मिलेको युएससीआईएसले उल्लेख गरेको छ।

यससँगै अगस्ट २०, २०२५ देखि टीपीएस सुविधाहरू लागू नरहेको स्पष्ट पारिएको छ। सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीले टीपीएस नवीकरण नगर्ने घोषणा गरेसँगै टीपीएसमा रहेका ७ हजार भन्दा बढी नेपालीहरु जोखिममा परेका छन् ।

नेपालले डिपोर्ट हुने आफ्ना नागरिकहरूलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। वासिङ्टन डीसीस्थित नेपाली दूतावासले यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। अमेरिकी अध्यागमनले देशनिकालामा परेका नेपालीका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) अनुरोध गरेपछि दूतावासले सहजै उपलब्ध गराउँदै आएको छ। राष्ट्रपति ट्रम्पले डिपोर्ट हुने नागरिक स्वीकार नगर्ने देशहरूलाई कारबाही गर्ने चेतावनी दिए पनि नेपालले आफ्ना नागरिकलाई स्वीकार गर्ने नीति निरन्तरता दिएकाले अमेरिकासँग कुनै तनाव उत्पन्न भएको छैन।

नेपाली दूतावासले अमेरिकामा बसोबास गर्ने नेपालीहरूलाई वैधानिक कागजातको महत्त्वबारे सचेत रहन र गैरकानुनी बाटो नअपनाउन आग्रह गरेको छ। साथै, नेपाल सरकारले डिपोर्ट भएका नागरिकको पुनर्स्थापना र सामाजिक एकीकरणका लागि प्रभावकारी योजना बनाउनुपर्ने आवश्यकता देखिएको छ। नेपालस्थित अमेरिकी दूतावासले पनि समय-समयमा अध्यागमन र अबैधानिक बाटो रोज्नेको विषयमा सामाजिक सञ्जालमार्फत खबरदारी गरिरहेको छ।

अमेरिकाबाट सेप्टेम्बरमा मात्रै ५३ नेपाली डिपोर्ट, ट्रम्प कार्यकालमा डिपोर्ट हुने नेपाली २६८





Source link

Leave a Comment