प्रकाशित मिति : जेष्ठ ७, २०८२ मंगलबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणालीको योजना सार्वजनिक गरेका छन् । उक्त प्रणाली करिब तीन वर्षभित्र सञ्चालनमा आउने उनले आशा व्यक्त गरेका छन्।
ओभल हाउसमा रक्षामन्त्री पिट हेगसेथसँगै बोल्दै ट्रम्पले भने, “गोल्डेन डोम पूर्ण रूपमा निर्माण भएपछि, यो प्रणाली विश्वका कुनै पनि कुनाबाट प्रक्षेपण गरिएका मिसाइलहरूलाई अवरुद्ध गर्न सक्षम हुनेछ। यो अहिलेसम्म बनाइएको सबैभन्दा उत्कृष्ट प्रणाली हुनेछ।”
अन्तरिक्षबाटै प्रहार भएपनि मिसाइलहरुलाई यसले रोक्ने उनको दावी थियो । राष्ट्रपतिले थपे, “हामीले यस अत्याधुनिक प्रणालीको संरचना तय गरिसकेका छौं, जसमा जमिन, समुद्र र अन्तरिक्षमा आधारित प्रविधिहरू प्रयोग गरिनेछ — त्यसमा अन्तरिक्षमा आधारित सेन्सर र इन्केप्टरहरू पनि समावेश हुनेछन्।”
यस महत्त्वाकांक्षी परियोजनाको नेतृत्व अमेरिकी अन्तरिक्ष सेनाका उप प्रमुख जनरल माइकल गुएटलाइनले गर्नेछन्।
ट्रम्पका अनुसार, परियोजनाको अनुमानित लागत करिब १७५ बिलियन डलर हुनेछ। उनले आगामी वर्षको रक्षा बजेटमा प्रारम्भिक २५ बिलियन डलर पहिले नै छुट्याइएको जानकारी दिए।
ट्रम्पले यस परियोजनालाई “ देशको सफलताको मात्र होइन, अस्तित्वको लागि पनि अत्यन्तै महत्त्वपूर्ण” भन्दै उच्च प्राथमिकताको रूपमा चित्रण गरेका छन ।
राष्ट्रपतिले भनेअनुसार क्यानडाले पनि अमेरिकालाई सम्पर्क गरेर परियोजनामा सहभागी हुन चाहेको जनाएका छन्। ट्रम्पले लामो समयदेखि अमेरिकाको लागि इजरायलको आइरन डोम जस्तै मिसाइल रक्षा प्रणाली बनाउने चाहना व्यक्त गर्दै आएका छन्।
मार्चमा काँग्रेसलाई सम्बोधन गर्दै उनले ‘गोल्डेन डोम’ निर्माणको लागि बजेट पारित गर्न आग्रह गरेका थिए। यसअघि जनवरीमा कार्यभार सम्हालेको केही दिनमै ट्रम्पले द आइरन डोम अफ अमेरिका निर्माण गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
ट्रम्पले आफ्नो कार्यकालमै प्रणाली निर्माण सम्पन्न हुने आशा व्यक्त गरेपनि विशेषज्ञहरूले भने अमेरिकाजस्तो ठूलो देशमा (इजरायलभन्दा ४०० गुणा ठूलो) यस्तो प्रणाली कार्यान्वयन गर्नु यथार्थवादी छैन भनेर प्रश्न उठाएका छन्।
ट्रम्पको यो घोषणाले राष्ट्रिय सुरक्षा रणनीतिमा ठूलो मोड ल्याएको छ। तर बजेट, प्राविधिक चुनौती, र समयसीमा हेर्दा यो परियोजना साँच्चिकै साकार हुन्छ वा केवल चुनावी शैलीमा गरिएको घोषणा मात्र हो भन्ने विषयमा भने अझै अन्योल रहेको छ।



