प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

अमेरिकाले रुसी तेल खरिद गर्न अस्थायी अनुमति दिएको छ। विश्वको ऊर्जा बजार स्थिर राख्ने उद्देश्यले यो निर्णय गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकाले केही देशहरूलाई प्रतिबन्धित रुसी तेल अस्थायी रूपमा खरिद गर्न अनुमति दिएको हो।
अमेरिकी सरकारका अनुसार हाल समुद्रमा जहाजमार्फत ढुवानी भइरहेको रुसी तेल र पेट्रोलियम पदार्थ खरिद गर्न यस्तो अनुमति दिइएको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो निर्णय युद्धका कारण अस्थिर बनेको विश्व ऊर्जा बजारलाई स्थिर बनाउनका लागि लिइएको बताएका छन्। उनका अनुसार यो अनुमति अप्रिल ११ सम्म मात्र लागू हुनेछ।
बेसेन्टले भने, “यो सीमित र छोटो अवधिको व्यवस्था हो, जुन हाल मार्गमा रहेको तेलका लागि मात्र लागू हुन्छ र यसबाट रुसी सरकारलाई ठूलो आर्थिक लाभ पुग्ने छैन।”
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। फारसको खाडी क्षेत्रमा तीनवटा मालवाहक जहाजमाथि भएको आक्रमण र इरानका नयाँ सर्वोच्च नेताले स्ट्रेट अफ हर्मुज बन्द राख्ने चेतावनी दिएपछि विश्व बजारमा तनाव बढेको हो। हर्मुज जलसन्धि विश्वकै महत्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट सामान्य अवस्थामा विश्वको २० प्रतिशत तेल ढुवानी हुने गर्छ।
बेसेन्टले तेलको मूल्य अस्थायी रूपमा बढे पनि दीर्घकालमा यसले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी गरेका छन्। “तेलको मूल्यमा देखिएको यो वृद्धि छोटो समयको अवरोध मात्र हो, तर दीर्घकालमा यसले हाम्रो देश र अर्थतन्त्रलाई ठूलो लाभ दिनेछ,” उनले भने।
यसअघि उनले अमेरिकी सरकारले हर्मुज जलसन्धि हुँदै जाने जहाजहरूलाई सैन्य सुरक्षासहित गन्तव्यतर्फ पठाउने तयारी भइरहेको समेत बताएका थिए। हर्मुज जलसन्धिमा जहाजहरूलाई सैन्य सुरक्षा दिने योजना पहिलेदेखि नै तयारी अवस्थामा रहेको उनको दाबी छ।