अमेरिकाद्वारा खोजिएका कुख्यात लागूऔषध तस्कर मेक्सिकोमा मारिए



प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार

अमेरिकाद्वारा खोजिएका कुख्यात लागूऔषध तस्कर मेक्सिकोमा मारिए

मेक्सिकोका कुख्यात लागूऔषध तस्कर नेमेसियो ओसेगुएरा सेर्भान्तेस सेनाको कारबाहीमा मारिएका छन्। “एल मेन्चो” उपनामले समेत चिनिने उनको मेक्सिकन सेनाले सञ्चालन गरेको विशेष अपरेशनमा मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

उनी ‘जालिस्को न्यु जेनेरेसन कार्टेल’ का प्रमुख तथा विश्वकै सर्वाधिक खोजी सूचीमा रहेका अपराधीमध्ये एक थिए। मेक्सिकोको पश्चिमी राज्य जालिस्कोस्थित टापाल्पा नगरमा गरिएको सैनिक कारबाहीका क्रममा उनको मृत्यु भएको हो।

रक्षा मन्त्रालयका अनुसार सुरक्षाकर्मी र गिरोहका सदस्यहरूबीच भीषण दोहोरो भिडन्त भएको थियो। उक्त भिडन्तमा घटनास्थलमै गिरोहका चार सदस्य मारिएका थिए भने ओसेगुएरा गम्भीर घाइते भएका थिए। उनलाई हेलिकप्टरमार्फत उपचारका लागि राजधानी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। उक्त कारबाहीमा तीनजना सैनिक समेत घाइते भएका छन्।

ओसेगुएरा पूर्व प्रहरी कर्मचारी थिए। उनले नेतृत्व सम्हालेपछि जालिस्को न्यु जेनेरेसन गिरोह मेक्सिकोको सबैभन्दा शक्तिशाली र निर्दयी आपराधिक सञ्जालका रूपमा विस्तार भएको थियो।

मेक्सिकन र अमेरिकी अधिकारीहरूले उनलाई लामो समयदेखि पक्राउ गर्न खोजिरहेका थिए। मेक्सिको र अमेरिका दुवै देशले उनको टाउकोको मोल तोक्दै पुरस्कारको घोषणा समेत गरेका थिए।

उनको मृत्युको खबर सार्वजनिक भएसँगै जालिस्को, मिचोआकान र गुआनाहुआतो लगायतका राज्यहरूमा हिंसा भड्किएको छ। गिरोहका सदस्यहरूले सवारी साधनमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका छन्। पर्यटकीय सहर पुएर्तो भायार्तामा समेत तोडफोडका घटना भएका छन्।

मेक्सिकोकी राष्ट्रपति क्लाउदिया शेनबाउमले अपरेशनमा संलग्न सुरक्षाकर्मीको प्रशंसा गर्दै देशका अधिकांश स्थानमा स्थिति नियन्त्रणमै रहेको बताउनुभएको छ।

सरकारले यस अभियानमा अमेरिकी निकायबाट सूचनाको सहयोग प्राप्त भए तापनि कारबाही पूर्ण रूपमा मेक्सिकन सेनाकै नेतृत्वमा सफल भएको स्पष्ट पारेको छ।





Source link

Leave a Comment