प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार

फोटो : एपी/रासस
अमेरिकाले कोलम्बियाको कुख्यात लागुऔषध तस्कर समूह ‘क्लान डेल गोल्फो’ लाई औपचारिक रूपमा विदेशी आतंकवादी संगठनको सूचीमा राखेको छ।
अमेरिकी अर्थ मन्त्रालयले यो निर्णय सार्वजनिक गरेको केही घण्टापछि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले फेन्टानिललाई “विनाशकारी सामूहिक हतियार” का रूपमा वर्गीकृत गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। ट्रम्प प्रशासनको लागुऔषधविरुद्धको युद्ध थप कडा बनाउने कदमका रूपमा यी दुई निर्णयलाई हेरिएको छ।
अमेरिकाले क्यारिबियन र प्रशान्त महासागर क्षेत्रमा लागुऔषध बोकेको आशंकामा २० भन्दा बढी डुंगामाथि घातक आक्रमण गरिसकेको छ। ती आक्रमणमा ९० भन्दा बढी मानिसको मृत्यु भएको छ।
क्लान डेल गोल्फो कोलम्बियाको उत्तरी उराबा क्षेत्रमा आधारित छ। यो दशकौँदेखि कोकिन तस्करीमा संलग्न छ। कोलम्बिया विश्वकै सबैभन्दा ठूलो कोकिन उत्पादक देश पनि हो। यो समूहले अमेरिका र युरोपसम्म कोलम्बियाबाट लागुऔषध पुर्याउने गरेको छ। यस समूहले कोलम्बिया–पनामा जोड्ने जोखिमपूर्ण जंगल क्षेत्र ‘दारिएन ग्याप’ हुँदै आप्रवासीहरूको तस्करीमा पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्लान डेल गोल्फोले कोलम्बियामा सरकारी अधिकारी, सुरक्षा निकाय, सैनिक तथा सर्वसाधारणमाथि आतंकवादी आक्रमण गरेको आरोप लगाएका छन्।
क्लान डेल गोल्फो अब एफटीओ को सूचीमा परेसँगै अमेरिकी वित्तीय संस्थामा रहेका यसका सम्पत्ति जफत हुनेछन्। यस समूहलाई “भौतिक सहयोग” पुर्याउने जो–कोही (अमेरिकी नागरिकसमेत) विरुद्ध मुद्दा चलाउन सकिनेछ।
यो निर्णय कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका लागि चुनौतीपूर्ण हुन सक्छ। दुई हप्ताअघि मात्रै पेट्रो सरकारले क्लान डेल गोल्फोसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो। उक्त सम्झौताअनुसार समूहले हतियार त्याग्ने प्रक्रिया सुरु गर्ने र सदस्यहरूलाई अमेरिकामा सुपुर्दगी नगर्ने समझदारी भएको थियो।
राष्ट्रपति पेट्रोले अमेरिकाले गरेको डुंगा आक्रमणलाई “हत्या” भनेका छन्। उता रुबियोले पेट्रोलाई सार्वजनिक रूपमा “पागल” भनेर टिप्पणी गरेका छन्। हालै ट्रम्पले भेनेजुएलासँगै कोलम्बियामा समेत जमिनमै आक्रमण हुन सक्ने संकेत दिएका छन्।
ट्रम्प प्रशासनले फेन्टानिल अमेरिकामा फैलिएको गम्भीर स्वास्थ्य संकटको मुख्य कारण भएको बताउँदै आएको छ। सन् २०२३ मा अमेरिकामा १ लाख १० हजारभन्दा बढीको लागुऔषधका कारण मृत्यु भएको थियो। यद्यपि, २०२४ मा यो संख्या २५ प्रतिशतले घटेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्