अमेरिकाद्वारा इरानविरुद्ध स्थल आक्रमणको तयारी, युद्ध लम्बिने सम्भावना



प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार

अमेरिकाद्वारा इरानविरुद्ध स्थल आक्रमणको तयारी, युद्ध लम्बिने सम्भावना

फोटो : एपी/रासस

अमेरिकाले इरानमा स्थल सेना पठाउने तयारी थालेको छ। अमेरिकी सैन्य अधिकारीहरूले इरानमा स्थल सेना परिचालन गर्ने सम्भावनालाई मध्यनजर गर्दै विस्तृत योजना बनाइरहेको बताइएको छ।

वरिष्ठ अधिकारीहरूले यस्तो सम्भावित कदमका लागि आवश्यक खाका तयार पार्न विशेष निर्देशन दिइरहेका छन्। योजनाअन्तर्गत, अमेरिकी सेना इरान प्रवेश गरेको खण्डमा इरानी सैनिकहरूलाई नियन्त्रणमा लिएपछि उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको बुझिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धका सैन्य गतिविधिहरू “क्रमशः घटाउँदै लैजाने” विषयमा विचार भइरहेको बताएका थिए। यद्यपि, उनले आफू युद्धविरामको पक्षमा नरहेको कुरा यसअघि नै स्पष्ट पारिसकेका थिए।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले “कुनै पनि स्थानमा” स्थल सेना पठाउने योजना नरहेको दाबी गरे पनि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। त्यस्तै, मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधिको नेतृत्व गर्ने ‘सेन्ट्रल कमाण्ड’ ले सम्भावित सैनिक तैनाथीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

यसैबीच, ट्रम्प प्रशासनले इरानको आणविक सामग्री सुरक्षित राख्ने वा नियन्त्रणमा लिने रणनीतिबारे पनि छलफल गरिरहेको स्रोतहरूले जनाएका छन्। यो योजना विशेषगरी गोप्य तथा संवेदनशील अपरेशनका लागि परिचित अमेरिकी सैन्य इकाईको परिचालनमा केन्द्रित छ।

यद्यपि, प्राप्त जानकारीअनुसार राष्ट्रपति ट्रम्पले अहिलेसम्म सैन्य कारबाहीबारे कुनै अन्तिम निर्णय भने लिएका छैनन्। ह्वाइट हाउसकी एक प्रवक्ताले यस्तो सम्भावित कदमका लागि तयारी अवस्थामा रहनु पेन्टागनको नियमित जिम्मेवारी भएको बताएकी छन्।

अमेरिका र इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित मुख्य केन्द्रहरूमा फेब्रुअरी २८ देखि बारम्बार हवाई आक्रमण गर्दै आएका छन्। इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण भएको दाबी गरिरहेको छ भने अमेरिका र इजरायलले इरानले आणविक हतियार विकास गरिरहेको आरोप लगाउँदै आएका छन्।





Source link

Leave a Comment