प्रकाशित मिति : माघ २३, २०८१ बुधबार
युएससीआईएसले अमेरिकाको ८५ हजार कामदार भिसा एच वान बीको लोटरी घोषणा गरेको छ । आगामी मार्च ७ को मध्यान्हदेखि मार्च २४ को मध्यान्हसम्म लोटरीका लागि प्रारम्भिक दर्ता अवधि तोकिएको छ । यो अवधिमा सम्भावित रोजगारदाता र प्रतिनिधिहरूले छनोट प्रक्रियाको लागि प्रत्येक लाभार्थीलाई इलेक्ट्रोनिक रूपमा दर्ता गर्न सक्नेछन् । अनलाइन एकाउन्टबाट प्रत्येक लाभार्थीको लागि सम्बन्धित दर्ता शुल्क तिर्न सकिनेछ ।
यसपटक कामदार भिसा एच वानबी लोटरीमा सहभागी हुनका लागि शुल्क १० डलरबाट बढाएर २१५ डलर बनाइएको छ । रोजगारदाता कम्पनी वा तिनीहरूका प्रतिनिधिहरूले छनोट प्रक्रियाको लागि प्रत्येक लाभार्थीलाई इलेक्ट्रोनिक रूपमा दर्ता गर्न र प्रत्येक लाभार्थीको तर्फबाट पेश गरिएको प्रत्येक दर्ताको लागि सम्बन्धित २१५ डलर दर्ता शुल्क तिर्न युएससीआईएसको अनलाइन खाता प्रयोग गर्नुपर्ने युएससीआईएसले जनाएको छ ।
सम्भावित कामदारका तर्फबाट आवेदन दिने रोजगारदाताको अनलाइन खाता नभएका युएससीआईएसमा संगठनात्मक खाता सिर्जना गर्नुपर्नेछ। आर्थिक बर्ष २०२१ देखि २०२४ को बीचमा विगतमा अनलाइन खाता भएका तर आर्थिक बर्ष २०२५ का लागि खाता प्रयोग नगरेकाहरुको खाता लग इन पछि संगठनात्मक खातामा रूपान्तरण हुनेछ। पहिलो पटक दर्ता गर्नेहरूले कुनै पनि समयमा खाता सिर्जना गर्न सक्छन्। प्रारम्भिक दर्ता अवधि सुरु हुनु अघि बारम्बार सोधिने प्रश्नहरु अद्यावधिक गरिने युएससीआईएसले जनाएको छ ।
प्रतिनिधिहरूले कुनै पनि समयमा आफ्नो खाताहरूमा ग्राहकहरू थप्न सक्छन्, तर दुवै प्रतिनिधि र दर्ताकर्ताहरूले लाभार्थी जानकारी प्रविष्ट गर्न र २१५ डलर शुल्कको साथ दर्ता पेश गर्न मार्च ७ सम्म पर्खनुपर्ने युएससीआईएसले जनाएको छ । प्रारम्भिक दर्ता अवधि बन्द भएपछि लोटरीबाट चयन गरिने भएकाले प्रारम्भिक दर्ता अवधि खुल्ने दिनमा नै दर्ता गर्न हतार गर्नु नपर्ने युएससीआईएसको भनाई छ ।
यसपटक देखि लाभार्थी केन्द्रित छनोट प्रक्रिया प्रयोग गरिने भएको छ । मार्च २४ सम्म पर्याप्त दर्ताहरू प्राप्त भएमा लोटरी प्रणालीबाट लाभार्थीहरू चयन गरिने र प्रयोगकर्ताहरूको अनलाइन खाताहरू मार्फत चयन सूचनाहरू पठाइने युएससीआईएसले प्रष्ट पारेको छ । यदि पर्याप्त दर्ताहरू प्राप्त नभएमा प्रारम्भिक दर्ता अवधिमा ठीकसँग पेश गरिएका अद्वितीय लाभार्थीहरूको लागि सबै दर्ताहरू चयन गरिनेछ। मार्च ३१ सम्ममा सम्भावित याचिकाकर्ताहरू र प्रतिनिधिहरूलाई छनौटबारे जानकारी गराइनेछ ।
एचवान बी भिसा भनेको एक अस्थायी गैर आप्रवासी भिसा श्रेणी हो जसले अमेरिकी रोजगारदातालाई शिक्षित विदेशी पेशेवरहरूलाई विशेष व्यवसायमा काममा राख्न अनुमति दिन्छ, जसमा कम्तीमा स्नातक वा समान डिग्रीको आवश्यकता हुन्छ।
यो भिसा विशेष रूपमा गणित, इञ्जिनियरिङ, प्रविधि, र मेडिकल विज्ञान जस्ता क्षेत्रहरूमा लोकप्रिय छ। यो भिसाको प्रारम्भिक अवधि सामान्यतया तीन वर्षको हुन्छ, जसलाई अधिकतम छ वर्षसम्म विस्तार गर्न सकिन्छ।
कस्ता योग्यता पूरा गर्नुपर्छ ?
अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ ।
एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।
कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।
कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।
त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।
लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।
वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।
वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।
वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।
सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।
कति नेपालीलाई एच भिसा ?
ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको समयमा अमेरिकाको कामदार भिसा एच वानबी पाउने नेपालीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएकोमा अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए । अर्थात् ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको बेलामा एच श्रेणीको भिसा पाउने नेपालीहरुको संख्यामा ५० प्रतिशत बृद्धि भएको थियो ।
आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिपा पाएका छन् भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका छन् । यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका छन् । आर्थिक बर्ष २०२४ मा पहिलो महिना अक्टोबरमा ९०, नोभेम्बरमा १५०, डिसेम्बरमा ९९, जनवरीमा ५३, फरबरीमा ४४, मार्चमा ५६, अप्रिलमा ६६, मेमा ४३, जुनमा ५३, जुलाईमा ४८, अगस्तमा ३३ र सेप्टेम्बरमा ४६ जना नेपालीहरुले एचवानबी भिसा पाएका थिए ।
आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । यो संख्या २०२२ मा भने ९०५ थियो । आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ । बाइडेन कार्यकालमा झण्डै ३५ सय नेपालीहरुले एच श्रेणीको भिसा पाएका छन् ।
२०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए । सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए । यसरी ट्रम्पको पहिलो कार्यकालमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए ।
अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ । अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन सेक्सन १०१ (ए)(१५)(एच) अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ ।
यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।
यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।
रोजगारदाताका तर्फबाट आवेदन दिनुपर्ने, रकम माग्नेबाट सावधान
अमेरिकाको कामदार भिसा पठाउने नाममा ठगहरु सकृय हुने गरेका छन् । ठगहरुले निश्चित रकम माग्दै कामदार भिसा दिलाइदिने प्रतिबद्धता जनाउने गरेका छन् । यस्ता ठगहरुबाट बच्न न्युयोर्क निवासी कानुन व्यवसायी केशवराज सेडाईले केही टिप्सहरु समेत दिनुभएको छ ।
खासगरी पैसा माग्ने कम्पनी र दलालबाट सावधान हुन उहाँले सचेत गराउनुभएको छ । अमेरिकन कम्पनीहरुले जागिरको अफर गर्दा उक्त कम्पनीको पृष्ठभूमि इन्टरनेटमा चेक गर्न उहाँले सुझाव दिनुभएको छ । साथै गुगल रिभ्यु पनि हेर्न सुझाव दिनुभएको छ ।
यदि कम्पनी सही छ भने अमेरिकी कानुन अनुशार भिसा आवेदन दिइने व्यक्तिका लागि कुनै शुल्क नलिने उहाँले जानकारी दिनुभयो । यदि कम्पनीले पैसा मागेको खण्डमा आफू त्यसबाट टाढै रहन उहाँले सुझाव दिनुभएको छ ।
अमेरिकाको कामदार भिसा एचवान बी काम गर्न चाहने कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्छ । अमेरिकामा रहेको कम्पनीले जागिरको अफर दिइसकेपछि कम्पनीका तर्फबाटमात्र यो भिसाका लागि अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन सकिन्छ ।
अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेको छ भने सुरुमा अमेरिकन रोजगारदाता कम्पनीले नै आवेदन अनलाइनमार्फत दर्ता गराउनुपर्छ । त्यसमा छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।