अमेरिकाको स्टिल प्लान्टमा विस्फोट : १ जनाको मृत्यु, १० घाइते



प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार


अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्ग बाहिर रहेको यूएस स्टिलको क्लेर्टन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार, अझै पनि एक जना व्यक्ति बेपत्ता छन्। उनी भग्नावशेषमुनि फसेको आशंकामा ठूलो खोज तथा उद्धार कार्य जारी छ।

विस्फोटको कारण पत्ता लागेको छैन, तर प्लान्ट वरपर धुवाँ फैलिएकाले स्थानीय बासिन्दालाई झ्यालहरू बन्द गर्न अनुरोध गरिएको छ।

यो प्लान्ट उत्तर अमेरिकाको सबैभन्दा ठूलो कोक उत्पादन केन्द्र हो, जुन पिट्सबर्गबाट करिब २४ किलोमिटर दक्षिणमा अवस्थित छ।

त्यहाँ जलेको ट्रक, भग्नावशेष, पाइप, धातुका चिम्नी र वाकवेहरू देखिन्छन्।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले सामाजिक सञ्जालमार्फत राज्यको आपतकालीन सेवा र प्रहरी घटनास्थलमा पठाइएको जानकारी दिएका छन्।

त्यसैगरी, अमेरिकी सिनेटर जोन फेटरम्यानले पनि ‘एक्स’ (पहिलेको ट्विटर) मा आफू घटनास्थलमा रहेको र सक्रिय खोज तथा उद्धार कार्य भइरहेको बताएका छन्।

यो प्लान्ट स्टिल उत्पादनका लागि प्रयोग हुने कोइलामा आधारित इन्धन ‘कोक’ उत्पादन गर्ने प्रमुख केन्द्र हो। यहाँ करिब १,३०० कर्मचारी कार्यरत छन्।

अमेरिकाको स्टिल प्लान्टमा विस्फोट : १ जनाको मृत्यु, १० घाइते

यूएस स्टिलका अध्यक्ष तथा सीईओ डेभिड बी. बुरिटले कम्पनी विस्फोटको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग मिलेर काम गरिरहेको जानकारी दिएका छन्। क्लेर्टनका मेयर रिचर्ड लाटान्जीले यस घटनालाई ‘क्लेर्टनका लागि दुःखद दिन’ भनेका छन्।

क्लेर्टन कोक वर्क्स पहिलेदेखि नै प्रदूषणसम्बन्धी विवादहरूमा फस्दै आएको छ र हालका वर्षहरूमा यसले लाखौँ डलर जरिवाना र क्षतिपूर्ति तिर्नुपरेको छ।

गत वर्ष, अल्लेगेनी काउन्टी हेल्थ डिपार्टमेन्टले कोकिङ ओभनका प्रक्रिया र उपकरणमा समस्याका कारण यूएस स्टिललाई करिब २० लाख डलर जरिवाना गरेको थियो।

२०२३ मा, हाइड्रोजन सल्फाइड उत्सर्जनको मापदण्ड नाघेको आरोपमा कम्पनीलाई २२ लाख डलर जरिवाना गरिएको थियो।

२०२२ मा पनि, पेन्सिलभेनियाका स्वास्थ्य अधिकारीहरूले कोक पुसिङका लागि प्रदूषण नियन्त्रण उपकरण प्रयोग नगरेको आरोपमा कम्पनीलाई ४७ लाख डलर जरिवाना गरेका थिए।





Source link

Leave a Comment