प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार
अमेरिकी विदेशमन्त्री मार्को रुबियो ।
थाइल्याण्ड र कम्बोडियाबीच बढ्दो कूटनीतिक तनावको बीचमा अमेरिका सक्रिय बनेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार थाई विदेशमन्त्री मरिस साङजियाम्पोङ्सा र कम्बोडियाली विदेशमन्त्री प्राक सोखोनसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै दुबै देशलाई तत्काल तनाव कम गर्न आग्रह गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार रुबियोले वार्ताका क्रममा शान्ति र स्थायित्वको आवश्यकतालाई जोड दिएका थिए। उनले भने, “अमेरिका थाइल्याण्ड र कम्बोडियाबीचको सम्बन्धमा स्थायित्व कायम गर्न र सम्भावित द्वन्द्व टार्न आवश्यक संवादका लागि सहयोग गर्न पूर्णतः तयार छ।”
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिका दुबै मुलुकसँग गहिरो सम्बन्ध राख्दछ । आगामी दिनमा वार्तालाई सहज पार्न कूटनीतिक रुपमा सहजीकरण गर्न इच्छुक छ।”
थाइल्यान्ड र कम्बोडियाबीच आइतबार पनि झडप भएको छ ।
लाखौँ विदेशी पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेका यी छिमेकी राष्ट्रहरू विवादित सीमाना मुद्दालाई लिएर वर्षौंको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा फसेका हुन् ।
दुवै पक्षबीच झडप हुँदा हालसम्म ३३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने दुई लाखभन्दा बढी विस्थापित भएका छन् ।