प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

अमेरिकाको विद्यार्थी भिसाका लागि मेको अप्वाइन्टमेन्ट स्लट अमेरिकी दूतावास काठमाडौंमा भोलि मार्च १३ को विहान ८ बजेदेखि खोलिने भएको छ । अर्थात् मे महिनाका लागि भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट लिन चाहनेहरुले मार्च १३ को विहान ८ बजेपछि अप्वाइन्टमेन्ट तय गर्ने वेवसाइटमा गएर आफ्नो अप्वाइन्टमेन्ट लिन सक्नेछन् । गतमहिनादेखि अमेरिकी दूतावास काठमाडौं भिसा अप्वाइन्ट प्रणाली र वेवसाइटमा परिवर्तन गरेकाले आवेदकहरुले नयाँ वेवसाइटमा नयाँ एकाउन्ट खोल्न आवश्यक हुनेछ ।
सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना भिजिटर र विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्लटहरु खोल्दै आएको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा घोषणा गर्ने दूतावासको भनाई अनुशार मे २०२५ का लागि मार्च १३ मा, जुन २०२५ का लागि अप्रिल १७ मा र जुलाई २०१५ का लागि मे १५ मा स्थानीय समय अनुशार विहान ८ बजेपछि नयाँ अप्वाइन्टमेन्ट स्लटहरु उपलब्ध हुन्छन् ।
अमेरिकी दूतावासहरुमा भिसा अप्वाइन्टहरु पाउन निकै लामो समय कुनुपर्ने बाध्यता रहेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले त्यसलाई सहज बनाउन नयाँ योजना ल्याएको हो । उक्त योजनालाई ट्रम्प प्रशासन आइसकेपछि पनि दूतावासले निरन्तरता दिएको छ । विगतमा पनि अमेरिकी दूतावासले बेलाबेलामा भिसाका अतिरिक्त नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्दै आएपनि मासिक रुपमा नियमित भने गरेको थिएन । दूतावासले आवेदकको चापलाई मध्यनजर गरेर बेलाबेलामा विदाको दिन आइतबार समेत भिसा अन्तरवार्ता लिने गरेको थियो ।
अमेरिकी दूतावास काठमाडौंमा विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन औषतमा ५ महिना कुनुपर्ने बाध्यता रहेको छ । तर विद्यार्थी भिसाका लागि ५ महिनापछिको अप्वाइन्टमेन्ट लिंदा पढाई छुट्ने समस्या भएकाले उक्त अवधिलाई घटाउन दूतावासले नयाँ कदम चालेको हो । २०२५ मा अमेरिका अध्ययनका लागि आउन चाहनेहरुले थप भिसा अप्वाइन्टमेन्ट स्लटबाट फाइदा लिन सक्ने भएका छन् ।
युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) अन्तर्गतको विद्यार्थी तथा विनिमय आगन्तुक सूचना प्रणाली (सेभिज) को फेब्रुअरीको २०२५ को तथ्यांकअनुसार अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या १६,९३३ पुगेको छ। यी विद्यार्थीहरूमध्ये १०,४३० पुरुष र ६,५०३ महिला रहेका छन्। यो संख्या जनवरी २०२४ को तुलनामा घटेको छ, जुन समय २०,१५३ थियो, जुन पछि मार्च २०२४ मा २३,४३५ मा वृद्धि भएको थियो।
नेपाली विद्यार्थीहरू विभिन्न तहका शैक्षिक कार्यक्रमहरूमा सहभागी छन्, जसमा स्नातक (७,४४१), स्नातकोत्तर (४,६६६), र पीएचडी (३,१४०) गर्दै गरेका विद्यार्थीहरू उल्लेखनीय संख्यामा छन्।
राज्यगत तथ्यांकअनुसार, टेक्सास नेपाली विद्यार्थीहरूका लागि सबैभन्दा लोकप्रिय गन्तव्य रहेको छ, जहाँ ३,४१६ विद्यार्थी अध्ययनरत छन्। न्यूयोर्कमा ९५६, ओहायोमा ८४२, मिनेसोटामा ७३८, र केन्टकीमा ६९६ नेपाली विद्यार्थी रहेको पाइएको छ।
भाषा तालिमका लागि १५३ नेपाली विद्यार्थीहरू अमेरिका आएका छन् भने उडान विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको संख्या ७२ रहेको छ। व्यवसायिक विद्यालय तथा अन्य विशेष कार्यक्रमहरूमा पनि नेपाली विद्यार्थीहरूको उपस्थिति देखिएको छ। क्यालिफोर्निया (५१४), इलिनोइस (५४६), मिसौरी (४७३), र पेन्सिलभेनिया (४२०) जस्ता राज्यहरूमा पनि उल्लेखनीय संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।

२०२४ को ओपन डोर्स रिपोर्ट अनुसार, अमेरिकाले १.१३ मिलियन अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गरेर नयाँ रेकर्ड बनाएको छ। २०२३–२४ शैक्षिक वर्षको समयमा, १६,७४२ नेपाली विद्यार्थीहरू अमेरिकाका विश्वविद्यालयमा भर्ना भएका थिए, जसले नेपाललाई अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १० औं ठूलो उत्पत्ति देश बनाएको छ। यस रिपोर्टअनुसार, २०२३/२४ शैक्षिक वर्षमा नेपाली विद्यार्थीहरूको संख्या अघिल्लो वर्षको तुलनामा १०.९% ले वृद्धि भएको छ, जसले अमेरिकामा सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १.५% बनाएको छ।
२०२२/२३ शैक्षिक वर्षमा १५,०९० नेपाली विद्यार्थी अमेरिकामा थिए। यसअघि, नेपाली विद्यार्थीहरूको कुल संख्या २०२१/२२ मा ११,७९९, २०२०/२१ मा ११,१७२, २०१९/२० मा १२,७३०, २०१८/१९ मा १३,२९९, २०१७/१८ मा १३,२७०, र २०१६/१७ मा ११,६०७ थियो।
अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्स को तथ्यांक अनुसार, २०२४ आर्थिक वर्षमा १३,१८७ नेपालीलाई अमेरिकी विद्यार्थी भिसा प्रदान गरिएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०२३ को तुलनामा दोब्बरभन्दा बढी हो।
अमेरिकामा नेपाली विद्यार्थीहरूको संख्या वर्षेनी वृद्धि भइरहेको छ। उच्च शिक्षाका लागि नेपालका विद्यार्थीहरू विशेष गरी विज्ञान, प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन, तथा उडान तालिमजस्ता विषयहरूमा आकर्षित भइरहेका छन्।