प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

अमेरिकाको भर्जिनियाको शेन्टिलीमा रहेको एउटा होटल बाहिर पोखरीमा कार डुब्दा कारमा रहेका दुई जना नेपालीको मृत्यु भएको छ । बिहान साढे ७ बजेतिर सेन्टरभ्यू ड्राइभमा रहेको विन्गेट बाई विन्डहम होटल नजिकै हिउँमा चिप्लिएर कार आंशिक रुपमा जमेको पोखरीमा खसेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ।
गाडी आंशिक रुपमा जमेको पानीमा डुबेपछि चालक ५५ वर्षीय कर्ण खड्का र गाडीमा रहेका २० वर्षीय निश्चल भट्ट भित्र फसेका थिए । उद्धार टोली पुग्दा १० फिट गहिरो पानीमा डूबेका दुबै व्यक्तिको मृत्यु भएको थियो । उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सानो सजावटको पोखरीमा झट्ट हेर्दा डुबेर मृत्यु हुनसक्ने नलाग्ने भएतापनि यो दुखद घटना हुन पुगेको प्रत्यक्षदर्शीहरुको भनाई छ । खड्काले विन्गेट होटलमा नै काम गर्दै आएका थिए भने उनीसँग आएका २० बर्षका भट्टले पनि त्यही होटलमा जागिरका लागि आवेदन दिने योजना बनाएको जनाइएको छ ।
दुर्घटना पुनर्निर्माण इकाई अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेका फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ । प्रहरीले भनेको छ – ‘आज बिहान ७ बजेर २५ मिनेटमा अधिकारीहरूले शेन्टिलीको सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा डुबेको घटनामा प्रतिक्रिया दिए। अधिकारीहरूले तुरुन्तै पोखरीमा डुबेको गाडी फेला पारे। फेयरफ्याक्स काउन्टी फायर एण्ड रेस्क्यु विभागले प्रतिक्रिया दियो र गाडीबाट दुई वयस्क पुरुषहरू फेला पारेको थियो । चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु शेन्टिली २० वर्षीय निश्चल भट्टको घटनास्थलमै मृत्यु भएको हो ।’
कभर फोटो एआईबाट बनाइएको हो ।