प्रकाशित मिति : जेष्ठ १४, २०८२ मंगलबार
अमेरिकाको फिलाडेल्फियामा रहेको फेयरमाउन्ट पार्कमा भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन ।
सोमबार राति फिलाडेल्फियाको फेयरमाउन्ट पार्कमा भएको सामूहिक गोलीकाण्डमा दुई जनाको मृत्यु भएको र नौ जना घाइते भएका अधिकारीहरुले बताएका छन्।
फिलाडेल्फिया प्रहरी आयुक्त केविन बेथेलका अनुसार ज्यान गुमाउनेमा २३ वर्षीया महिला अमाया डेभलिन र २१ वर्षीय पुरुष मिखाइल बोवर्स रहेका छन्।
घाइतेमध्ये तीन जना किशोर किशोरी छन् । उनीहरुको उमेर १५ देखि १७ वर्षसम्मको छ। गोलीबारी सोमबार राति साढे १० बजेतिर लेमन हिल ड्राइभ र पप्लर ड्राइभको नजिक सुरु भएको थियो।
आयुक्त बेथेलका अनुसार, ‘घटनाको समय प्रहरी अधिकारीहरू सो क्षेत्रमा नै उपस्थित थिए। उनीहरू भीड व्यवस्थापन गरिरहेका थिए’ ।
तर घटनाका क्रममा आक्रमणकारीहरूले गोली चलाउन जारी राखेको बताइएको छ । अहिलेसम्म कसैलाई पक्राउ गरिएको नगरिएको र कुनै पनि हतियार बरामद नभएको त्यहाँको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये धेरैलाई हात र खुट्टामा गोली लागेको छ ।
हेलिकप्टरद्वारा खिचिएको भिडिओमा लेमन हिल म्यान्सन वरपर ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिएको थियो।
मौसम तातो भएको र विशेषगरी बिदाका दिनमा, फेयरमाउन्ट पार्कमा भीड लाग्ने गर्छ। त्यसदिन पनि सहरभरि प्रहरी भीड व्यवस्थापनमा खटिएका थिए।
प्रहरीले घटनास्थलमा भेटिएको दुर्घटनाग्रस्त हुन्डाई गाडीको संलग्नता पनि जाँच गरिरहेको छ । यसका साथै, घटनाअघि राति नै पार्क क्षेत्र वरपरको अशान्तिबारे ९११ मा आएका कलहरूको पनि अनुसन्धान भइरहेको बताइएको छ।
फेयरमाउन्ट पार्क केली ड्राइभको छेउ र बोटहाउस रो को उत्तरतर्फ पर्दछ । उक्त स्थान फिलाडेल्फियाको एक लोकप्रिय स्थल हो । जहाँ विशेष गरी पकाउने अर्थात कुकआउट जस्ता कार्यक्रम हुने गर्दछन ।