अमेरिकाको टेक्सासमा विमान दुर्घटना: ५ जनाको मृत्यु



प्रकाशित मिति : पुस १२, २०८२ आईतबार

अमेरिकाको टेक्सासमा विमान दुर्घटना: ५ जनाको मृत्यु

फोटो : एपी/रासस

अमेरिकाको टेक्सासमा भएको विमान दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। टेक्सासको ग्याल्भेस्टन नजिक मेक्सिकन नौसेनाको विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको हो।

कुहिरो लागेको अवस्थामा विमान दुर्घटनाग्रस्त भएको हो। उक्त विमानले गम्भीर रूपमा जलेका एक बालकलाई उपचारका लागि लैजाँदै थियो।

फ्लाइट ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडर’ का अनुसार विमान अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिक रेकर्ड गरिएको थियो।

विमान ‘मिचु वाई माउ फाउन्डेसन’ का तर्फबाट सञ्चालन गरिएको चिकित्सा मिसनमा संलग्न थियो। यो संस्थाले गम्भीर रूपमा जलेका मेक्सिकन बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ।

मेक्सिकोको नौसेना सचिवालयले एक जना अझै बेपत्ता रहेको र दुई जनालाई जीवितै उद्धार गरिएको जनाएको छ। भिडियो फुटेजमा विमानको भग्नावशेष पानीमा देखिएको छ।

यसअघि मेक्सिकन नौसेना सचिवालयले अमेरिकी कोस्ट गार्डसँगको समन्वयमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको थियो। अमेरिकामा हरेक वर्ष हजारौँ व्यावसायिक तथा निजी उडान सञ्चालन हुने भएकाले विमान सुरक्षा विश्वमै उच्च मानिन्छ।

यद्यपि, उन्नत प्रविधि र कडा सुरक्षा मापदण्ड हुँदाहुँदै पनि कहिलेकाहीँ मौसमको खराबी, प्राविधिक समस्या, मानवीय त्रुटि वा आकस्मिक परिस्थितिका कारण विमान दुर्घटना हुने गरेका छन्। हालका वर्षहरूमा अमेरिकाभित्र साना निजी विमान, हेलिकप्टर तथा सैन्य विमानहरू दुर्घटनामा पर्ने घटना बढी देखिएका छन्।

व्यावसायिक यात्रुबाहक ठूला विमान दुर्घटना भने तुलनात्मक रूपमा दुर्लभ छन्। कुहिरो, आँधी, चट्याङ र कम दृश्यता (भिजिबिलिटी) विमान दुर्घटनाका प्रमुख कारण हुन्।

अमेरिकी संघीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस्ता दुर्घटनाको गहिरो अनुसन्धान गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुधारात्मक कदम चाल्ने गर्छन्।





Source link

Leave a Comment