अब अमेरिकी भिसा लिनुअघि नेपाली आवेदकले पनि बुझाउनुपर्नेछ १५ हजार डलरसम्म धरौटी !



प्रकाशित मिति : पुस २२, २०८२ बुधबार

अब अमेरिकी भिसा लिनुअघि नेपाली आवेदकले पनि बुझाउनुपर्नेछ १५ हजार डलरसम्म धरौटी !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागू गर्न लागेको नयाँ भिसा बन्ड नीतिअन्तर्गत नेपाल पनि समावेश भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार जनवरी २१ देखि नेपालसहित थप २५ देशका नागरिकले  अमेरिकामा प्रवेशका लागि भिसा लिनुअघि धरौटी बुझाउनुपर्नेछ । मन्त्रालयले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्मको बन्ड (धरौटी) बुझाउनुपर्ने व्यवस्था लागू हुने बताएको हो । 

यो व्यवस्था विशेष गरी बी-१/बी-२ (व्यवसाय तथा पर्यटक) भिसाका लागि लागू हुने जनाइएको छ। बन्डको रकम भिसा अन्तर्वार्ताकै क्रममा निर्धारण गरिनेछ। बन्ड तिरे पनि भिसा स्वीकृत हुने निश्चित भने हुँदैन । तर, भिसा अस्वीकृत भएमा वा भिसा धारकले समयमै अमेरिका छोडेर भिसाका सर्तहरू पालना गरेको प्रमाणित गरेपछि उक्त रकम फिर्ता हुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार उच्च ‘ओभरस्टे’ दर र कागजात सुरक्षासम्बन्धी कमजोरी भएका देशका आवेदकहरूलाई लक्षित गरी यो नीति विस्तार गर्न लागिएको हो । यसअघि अगस्टमा सीमित देशलाई समेटेर परीक्षण (पाइलट) कार्यक्रम सुरु गरिएको थियो, जसलाई अहिले व्यापक बनाइएको हो।

ट्रम्प प्रशासनले भिसा आवश्यक पर्ने सबै देशका नागरिकका लागि अनिवार्य प्रत्यक्ष अन्तर्वार्ता, विगतका वर्षहरूको सामाजिक सञ्जाल इतिहास खुलाउने तथा परिवारको यात्रा र बसोबाससम्बन्धी विवरण बुझाउने व्यवस्था पनि लागू गरिसकेको छ। साथै, सन् २०२५ डिसेम्बर २६ देखि गैर–नागरिकको आवतजावतमा अनुहार पहिचान प्रविधि विस्तार गरिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ आप्रवासन पहल घोषणा गरेका छन्, जसले अमेरिकी नागरिकतासम्म पुग्ने नयाँ र सरल मार्ग प्रदान गर्ने दाबी गरिएको छ।





Source link

Leave a Comment