अफगानिस्तानको हिरासतबाट १५ महिनापछि रिहा भए अमेरिकी नागरिक कोयल, को हुन् उनी ?



प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

अफगानिस्तानको हिरासतबाट १५ महिनापछि रिहा भए अमेरिकी नागरिक कोयल, को हुन् उनी ?

तस्वीर : मुद्दासिर साफी/एपी-रासस

अफगानिस्तानको तालिबान सरकारले जनवरी २०२५ देखि हिरासतमा राखिएका एक अमेरिकी नागरिक डेनिस कोयललाई मंगलबार रिहा गरेको घोषणा गरेको छ। रमजानको अन्त्यमा मनाइने मुस्लिम पर्व ‘इद’ को अवसर पारेर उनलाई माफी दिई रिहा गरिएको तालिबानको विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले पनि कोयलको रिहाइ पुष्टि गरेको छ।

तालिबानले जारी गरेको विज्ञप्तिअनुसार कोयलको परिवारबाट आएको पत्रपछि रिहाइको निर्णय गरिएको हो। मन्त्रालयले मानवीय सहानुभूति र सद्भावका आधारमा यस्तो कदम चालिएको बताउँदै यसले दुई देशबीच विश्वासको वातावरण बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

कैदी विनिमय वार्तामा संलग्न एक वरिष्ठ तालिबान अधिकारीका अनुसार अमेरिका र तालिबानबीच फेब्रुअरीको अन्तिम सातादेखि वार्ता भइरहेको थियो। तर, अमेरिकाले तालिबानलाई अहिलेसम्म अफगानिस्तानको वैध सरकारका रूपमा मान्यता दिएको छैन, जसका कारण प्रत्यक्ष कूटनीतिक वार्ता जटिल बनेको छ। यस अवस्थामा कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।

को हुन् डेनिस कोयल ?

६४ वर्षीय डेनिस कोयल कोलोराडो निवासी एक शैक्षिक अनुसन्धानकर्ता हुन्। उनले करिब दुई दशक अफगानिस्तानमा भाषा अनुसन्धानमा बिताएका थिए। उनलाई काबुलस्थित आफ्नै अपार्टमेन्टबाट तालिबानले बलपूर्वक पक्राउ गरेको थियो।

उनको परिवारका अनुसार कोयललाई कुनै आरोप नलगाई तालिबानको जनरल डाइरेक्टरेट अफ इन्टेलिजेन्सले एकान्तजस्तै अवस्थामा राखेको थियो।

कोयलको अपहरण अर्को अमेरिकी नागरिक रयान कर्बेटको रिहाइ भएको मात्र ६ दिनपछि भएको थियो। यसले अफगानिस्तानमा अमेरिकी नागरिक अझै जोखिममा रहेको संकेत गरेको छ ।

गत जुनमा अमेरिकी सरकारले कोयललाई ‘गलत ढंगले हिरासतमा राखिएका व्यक्ति’ का रूपमा औपचारिक मान्यता दिएको थियो। यसले उनको रिहाइका लागि विशेष सरकारी प्रयासलाई प्राथमिकता दिएको थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “डेनिस अहिले घर फर्कने बाटोमा छन्। यो रिहाइ बन्धक कूटनीति अन्त्यतर्फको सकारात्मक कदम हो।”

रिहाइ प्रक्रियामा कतारले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। स्रोतका अनुसार कतारी टोलीले नियमित रूपमा कोयलसँग भेट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र परिवारसँग सम्पर्क गराउने काम गरेको थियो। क्रिसमसको समयमा परिवारको सन्देश सुनाइएको थियो भने हालै उनले आफ्नी आमालाई लेखेको पत्र पनि परिवारसम्म पुर्‍याइएको थियो।

यसअघि बाइडेन प्रशासनले तालिबानसँग अमेरिकी नागरिकहरूको साटासाटमा ग्वान्टानामो बेमा रहेका मोहम्मद रहिम अल अफगानीलाई रिहा गर्ने प्रस्ताव गरेको थियो। तर तालिबानले थप व्यक्तिहरूको माग गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेन।

अझै पनि तालिबानले केही अमेरिकी नागरिकहरूलाई हिरासतमा राखेको आरोप छ, जसमा महमुद हबीबी पनि पर्छन्। यद्यपि तालिबानले हबीबी आफ्नो नियन्त्रणमा रहेको स्वीकार गरेको छैन।

हबीबीका दाजु अहमद हबीबीले कोयलको रिहाइप्रति खुशी व्यक्त गर्दै भने, “हामी पनि चाँडै त्यस्तै खुशीको दिन देख्न चाहन्छौं, जब महमुद घर फर्कन्छन्।”





Source link

Leave a Comment