अपडेट : अमेरिकामा आइसको अहिलेसम्मकै ठूलो छापा, करिब ५०० पक्राउ



प्रकाशित मिति : भाद्र १९, २०८२ शुक्रबार

अपडेट : अमेरिकामा आइसको अहिलेसम्मकै ठूलो छापा, करिब ५०० पक्राउ

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकाको जर्जिया राज्यमा आप्रवासन अधिकारीहरूले हुन्डाईको एउटा कारखानामा छापा मारेर करिब ५०० जनालाई पक्राउ गरेका छन्। यो राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा ठूलो कार्यस्थल छापा भएको बताइएको छ।

हुन्डाईले करिब एक वर्षदेखि सञ्चालनमा ल्याएको ३,१०० एकडमा फैलिएको यो कारखाना इलेक्ट्रिक गाडी उत्पादनका लागि निर्माण गरिएको हो। पक्राउ परेकामध्ये धेरैजसो दक्षिण कोरियाली नागरिक रहेको बताइएको छ, जसमध्ये ३०० जना कोरियाली नागरिक हुन्।

पक्राउ परेका अरू आप्रवासीहरू कुन देशका हुन् भन्ने कुरा भने आइसका अधिकारीहरूले खुलाएका छैनन्। उनीहरूलाई जर्जियाको फोक्सटनस्थित अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा (आइस) को हिरासत केन्द्रमा राखिएको छ।

अपडेट : अमेरिकामा आइसको अहिलेसम्मकै ठूलो छापा, करिब ५०० पक्राउ

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले दिएको जानकारीअनुसार, अवैध रोजगार अभ्यास र अन्य गम्भीर संघीय अपराधको आरोपमा यो छापा मारिएको हो।

अधिकारीहरूले केही महिनादेखि चलिरहेको आपराधिक अनुसन्धानको आधारमा प्रमाण संकलन, अन्तर्वार्ता र कागजात संकलन गरेपछि मात्रै अदालतको अनुमति लिएर छापा मारेको बताएका छन्। यसलाई एकै स्थानमा डीएचएस ले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो कारबाही भनिएको छ।

यो घटनाले राष्ट्रपति ट्रम्पका दुई प्रमुख प्राथमिकताहरू – अमेरिकाभित्र उत्पादन बढाउने र अवैध आप्रवासन नियन्त्रण गर्ने – बीच सम्भावित तनाव सिर्जना गरेको छ। यसले अमेरिकाको प्रमुख सहयोगी दक्षिण कोरियासँगको सम्बन्धमा पनि दबाब ल्याउन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

दक्षिण कोरियाले यस घटनाप्रति चिन्ता व्यक्त गर्दै अमेरिकी सरकारसँग आफ्ना नागरिकहरूको अधिकारको सम्मान गर्न आग्रह गरेको छ। दक्षिण कोरियाले यस घटनापछि कूटनीतिज्ञ पठाउने निर्णय गरेको छ र अमेरिकी दूतावाससँग सम्पर्क गर्दै कोरियाली नागरिकहरूको अधिकारप्रति ‘अत्यधिक सावधानी’ अपनाउन आग्रह गरेको छ।

हुन्डाईको इलेक्ट्रिक गाडी उत्पादनमा भने कुनै प्रभाव परेको छैन। तर, हुन्डाईको ब्याट्री साझेदार कम्पनी दक्षिण कोरियाको एल.जी. इनर्जी सोलुसनले भने निर्माण कार्य स्थगित गरेको छ।

अपडेट : अमेरिकामा आइसको अहिलेसम्मकै ठूलो छापा, करिब ५०० पक्राउ

जर्जियाका गभर्नर ब्रायन केम्पले हुन्डाईको नयाँ इलेक्ट्रिक गाडी कारखानालाई राज्यको इतिहासकै सबैभन्दा ठूलो आर्थिक विकास परियोजना भनेका थिए, जसले १,२०० जनालाई रोजगारी दिएको छ।

यता, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा अधिकारीहरूले कामदारहरूलाई लाइनमा उभ्याएर खानतलासी गरिरहेको देखिन्छ।

राष्ट्रपति ट्रम्पले भने पक्राउ परेकाहरू कागजातविहीन आप्रवासीहरू रहेको बताएका छन्। उनले आइसले उनीहरूलाई पक्राउ गरेर राम्रो काम गरेको बताएका छन्।

चुनावी अभियानमा ट्रम्पले कागजातविहीन आप्रवासीहरूले अमेरिकी नागरिकको रोजगारी खोस्ने गरेको दाबी गर्दै कडाइ गर्ने वाचा गरेका थिए।

पदमा फर्किएपछि उनले देशभर व्यापक अभियान सुरु गरी कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने, हिरासतमा राख्ने र देश निकाला गर्ने अभियान चलाएका छन्।





Source link

Leave a Comment