दाङ-२ मा चुनावी नतिजा निकाल्ने होडमा छन् एमाले महासचिव शंकर पोखरेल। मतदातासँगको सामीप्य कस्न उनी दौडधुप गरिरहेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले मतदातासमक्ष आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाउने प्रयास गरेका थिए तर उनी पराजित बन्न पुगे।
यसपटक भने उनले आफ्नो अजेन्डा बदलेका छन्। उनले अन्तिम अवसर भन्दै भावनात्मक रूपमा मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्।
अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गर्दै एमाले चुनावमा होमिएपछि महासचिव पोखरेललाई आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चिनाउने बाटो बन्द भएको हो।
फलतः अहिले उनले आफ्नो चुनावी प्रतिस्पर्धालाई अन्तिम लडाइँका रूपमा अथ्र्याइरहेका छन्। यसको अर्थ पोखरेल आफ्नो राजनीतिक जीवनको सुखद बहिर्गमन खोजिरहेका छन्।
‘यसपटक मेरो अन्तिम अवसर हो’, मतदातासमक्ष पोखरेलले भन्दै आएका छन्, ‘मेरो अन्तिम अवसरलाई यहाँहरूले खेर जान दिनुहुनेछैन।’
मतदातासमक्ष आफूले गरेका विकास निर्माणका योजनालाई मतदाताहरूले बुझ्न नसकेको गुनासोसमेत उनले गर्दै आएका पनि छन्। अन्तिम पटक संसद् प्रवेश गरेर दाङको विकास गर्ने वचनबद्धता गरिरहेका पोखरेलले भन्दै आएका छन्, ‘मेरो अन्तिम पटकको प्रयासलाई यहाँहरूले यो पटक बुझिदिनुहुनेछ।’
२०५१ सालदेखि चुनावी दौड थालेका पोखरेल आफ्नो यो दौडको सुखद अन्त्यको खोजीमा छन्। २०५१ सालमा पहिलो पटक संसदीय निर्वाचनमै उनले जित निकालेका थिए।
त्यतिबेला कांग्रेसका दीपक गिरीलाई हराएका पोखरेलको राजनीतिक उचाइ त्यसपछि नै चुलिन थालेको थियो। दोस्रो पटक २०५६ सालमा पनि उनी एमालेबाट संसदीय निर्वाचनको उम्मेदवार चुनिए। तर त्यतिबेला उनको लगातार दोस्रो जित निकाल्ने प्रयास विफल बन्यो।
दोस्रो पटक संसद् प्रवेश गर्ने पोखरेलको योजनामाथि कांग्रेसका कृष्णकिशोर घिमिरेले अवरोध पुर्याइदिए। नेकपा माओवादीको शान्तिपूर्ण राजनीतिक अवतरणपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको माहोल माओवादीमयजस्तै थियो।
अघिल्लो पटकको हार अनि माओवादीको बढ्दो माहोललाई उनले आफ्नो जितका लागि कठानाइपूर्ण रहेको विश्लेषण गरिदिए। त्यसपछि उनी प्रत्यक्षतर्फको उम्मेदवार बन्ने बाटामा लागेनन्, बरु समानुपातिक तर्फबाट सांसद चुनिए। नभन्दै त्यो बेला माओवादीले दाङका पाँच वटै क्षेत्रमा एकल जित निकालेको थियो।
महासचिव पोखरेलको उम्मेदवार बन्ने सिलसिला त्यसयता पनि रोकिएन। उनी संविधानसभाको दोस्रो निर्वाचनमा फेरि उम्मेदवार बने। तर यसपटक पनि शंकरका लागि चुनावी मैदान फापेन।
उनी कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित बन्न पुगे। तर उनको चुनावी मैदानमा होमिन थाकेनन्, २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उनि फेरि उम्मेदवार चुनिए।
तत्कालीन माओवादीसँगको चुनावी तालमेलबाट प्रदेशसभा सदस्यका लागि निर्वाचनमा भिडेका पोखरेलले त्यो बेला भने जनमतलाई आफ्नो पक्षमा पारे। प्रदेशसभा सदस्य निर्वाचनका बेला भावी मुख्यमन्त्रीका रूपमा उनको प्रचार गरिएको थियो।
उनी लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्न सफल पनि बने। २०७९ सालको निर्वाचन एमालेले दाङ-२ मा पोखरेललाई फेरि उम्मेदवार तोक्यो तर उक्त निर्वाचन उनलाई फापेन।
उनी तत्कालीन नेकपा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएका थिए। २०५१ सालयताका हरेक निर्वाचनमा उम्मेदवार बनेर आफूलाई जितहारको साक्षी बनाउँदै आएका पोखरेल यो लामो राजनीतिक यात्राको सुखद अन्त्यको खोजीमा छन्। यसर्थ अन्तिम पटक भन्दै दाङ–२ को जनमतलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन्।
पोखरेलजस्तै कांग्रेसका दीपक गिरी पनि अब राजनीतिक यात्राको सुखद अन्त्यको खोजीमा छन्। यी दुवै नेताले पहिलोपटक २०५१ सालको निर्वाचनमा आमनेसामने बनेर डेब्यु भिडन्त गरेका थिए।
दाङ–२ मा आफ्नो अन्तिम कसरत भन्दै एमाले महासचिव पोखरेलले मत मागिरहँदा दाङ–३ मा कांग्रेसका दीपक गिरीले पनि आफ्नो अन्तिम चुनावी दौडको सन्देश मतदाताहरूलाई दिइरहेका छन्।
विगतमा आफूले गरेका कामहरूका बारेमा जानकारी दिँदै मतदाताहरूलाई आफूतिर आकर्षित गरिरहेका दीपक हुन बाँकी केही कामका लागि मात्रै आफू अहिले चुनावी मैदानमा होमिएको सन्देश दिइरहेका छन्। यसको अर्थ अब उपरान्त उनी पनि यो चुनावी दौडबाट बाहिरिहेनछन्।
२०५१ सालदेखि संसदीय यात्राका लागि चुनावी मैदानमा होमिन थालेका दीपकले पहिलो भिडन्तमै हारको नमिठो स्वाद चाख्नुपरेको थियो। २०५६ सालको संसदीय निर्वाचनमा उनले टिकट नै पाएनन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा दोस्रो पटक उम्मेदवार बन्न पाएका दीपक फेरि पराजित बने। तत्कालीन माओवादीकी सुष्मा शर्माले गिरीलाई पराजित गरेकी थिइन्।
२०७० सालको संविधानसभा निर्वाचनमा गिरी पुनः निर्वाचनमा होमिए। एमालेका उत्तरकुमार ओलीलाई पराजित गर्दै गिरीले पहिलो पटक संसद्को यात्रा गरे।
गिरी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा फेरि उम्मेदवार बने। एमालेका हिराचन्द्र केसीले गिरीलाई पराजित गरिदिए। २०७९ सालमा पुनः उम्मेदवार बनेका गिरी फेरि विजयी बने।
२०५१ यताका संसदीय निर्वाचनमध्ये एउटा निर्वाचनमा मात्रै उनी उम्मेदवार चुनिएनन्। एउटाबाहेक सबै निर्वाचनमा उम्मेदवार बनेका गिरीले कहिले जितको माला पहिरिए त कहिले नमिठो हार बेहोरे। यसपटक लगातार दोस्रो जित निकालेर कांग्रेसका गिरी आफ्नो राजनीतिक यात्राको सुखद अन्त्य चाहिरहेका छन्।
यस्तै दाङ १ मा आसन्न निर्वाचनमा एमालेका तर्फबाट भिडेमा रेवतीरमण शर्मा पनि आफ्नो सुखद बिदाइको खोजीमा छन्।
२०५४ सालदेखि जनप्रतिनिधि बन्ने चुनावी दौड थालेका उनी स्थानीय तहको निर्वाचनमा भिडे। तत्कालीन चैलाही गाविसको अध्यक्ष पदमा भिडेका उनी विजयी पनि बने।
गाविस अध्यक्ष बनेर स्थानीय सरकारको नेतृत्व सम्हालेका शर्मा त्यसपछिको पहिलो संविधानसभा निर्वाचनमा भने पराजित बने। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि टिकट उनको हातमा पर्यो। त्यो बेला पनि उनी असफल भए।
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनले प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने मौका पाए र चुनावी परिणाम उनको पक्षमा पर्यो।
२०७९ सालमा भने उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने रेसमै लागेनन्। प्रदेशसभाको निर्वाचनलाई अन्तिम दौड भनेर घोषणा गरेका शर्मा यसपटक उम्मेदेवार चुनिएका छन्।
चुनावी मैदानमा होमिने उत्साह नदेखाएका उनलाई उक्त क्षेत्रमा पाका र अनुभवी नेता ठानेर एमालेले उम्मेदवार बनाएको हो।
अहिले पुनः चुनावी मैदानमा रहेका मतदाताको घरदैलो चहार्दै आएका शर्माले पनि आफ्नो यो प्रतिस्पर्धालाई अन्तिम दौड भन्दै आएका छन्। उनी पनि यो निर्वाचनमा जित निकालेर आफ्नो राजनीतिक यात्राको सुखद अन्त्य गर्ने योजनामा छन्।
प्रकाशित: ७ फाल्गुन २०८२ २१:१६ बिहीबार
