अन्तरिक्षबाट फर्किए चार साहसी यात्री: भविष्यको चन्द्र यात्राका लागि खुल्यो बाटो



प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार

अन्तरिक्षबाट फर्किए चार साहसी यात्री: भविष्यको चन्द्र यात्राका लागि खुल्यो बाटो

फोटो: एपी/रासस

अन्तरिक्ष यात्रीहरू सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्। नासाको ओरियन स्पेसक्राफ्ट प्रशान्त महासागरको सतहमा सफलतापूर्वक अवतरण गरेको छ। अवतरणका क्रममा प्यारासुटहरू खुलेसँगै स्पेसक्राफ्ट सुरक्षित रूपमा पानीमा उत्रिएको थियो।

यो क्षण अन्तरिक्ष विज्ञानका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ। प्रक्षेपणदेखि नै नासाका अधिकारीहरू र अन्तरिक्ष यात्रीहरूले यस अवतरणलाई ‘गहिरो राहतको समय’ हुने बताएका थिए।

मिसन नियन्त्रण टोलीले यस सफल र सहज अवतरणलाई भविष्यको चन्द्र अन्वेषण योजनाका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। नासाको आर्टेमिस कार्यक्रमअन्तर्गतको यो सफल फिर्तीले आगामी चन्द्र मिसनहरूका लागि बाटो अझ सहज बनाएको मानिएको छ।

आर्टेमिस–२ मिसनका अन्तरिक्ष यात्रीहरूले नौ दिनभन्दा लामो यात्रा पूरा गरी सुरक्षित रूपमा पृथ्वी फर्किएका हुन्। मिसन कमाण्डर रिड वाइजम्यानले सबै सदस्य पूर्ण रूपमा स्वस्थ रहेको पुष्टि गरेका छन्।

आर्टेमिस–२ का अन्तरिक्ष यात्रीहरूले यस मिसनमार्फत इतिहास रचेका छन्। उनीहरू पृथ्वीबाट यति टाढा पुगे, जहाँ मानव अहिलेसम्म पुग्न सकेको थिएन। अन्तरिक्ष यात्रीहरूले आफ्नो यानबाट पूर्ण सूर्यग्रहणको समेत अवलोकन गरेका थिए।

यसअघि कमाण्डर रिड वाइजम्यानले ओरियन अन्तरिक्षयानका चालक दलले “अहिलेसम्म कुनै मानवले नदेखेका दृश्यहरू देखेको” बताएका थिए। त्यसैगरी, पाइलट भिक्टर ग्लोभरले आफ्नो अनुभव बयान गर्न “शब्द नै नभएको” उल्लेख गरे।

मिसन पूरा भएपछि नासाका प्रमुख जेरेड आइज्याकम्यानले भने, “हामी फेरि मानवलाई चन्द्रमामा पठाउने कार्यमा फर्किएका छौँ। यो त केवल सुरुवात मात्र हो।”

यस यात्राका क्रममा अन्तरिक्षयान पृथ्वीबाट ४,०६,७७१ किलोमिटर (२,५२,७५६ माइल) टाढासम्म पुगेको थियो। यो मानव इतिहासमा तय गरिएको अहिलेसम्मकै लामो दूरी हो। चन्द्रमाको पछाडिको भागमा पुगेपछि अन्तरिक्ष यात्रीहरूको नासासँग करिब ४० मिनेटसम्म सम्पर्क टुटेको थियो, जुन पहिले नै अनुमान गरिएको सामान्य प्रक्रिया थियो।

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट सुरु भएको यस ऐतिहासिक अभियानमा नासाका अन्तरिक्ष यात्रीहरू रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडियन स्पेस एजेन्सीका जेरेमी ह्यान्सन सहभागी थिए।





Source link

Leave a Comment