अन्ततः कलिंगा इन्स्टिच्युटले माफी माग्याे


भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयले नेपाली छात्रा प्रकृति लम्सालको मृत्युले निम्त्याएको तनावपूर्ण स्थितिमा नेपालको राष्ट्रिय छविमा हमला गर्ने दुई शिक्षकलाई जागिरबाट निष्कासन गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. सरनजित सिंहले मंगलबार क्षमायाचनापत्र जारी गर्दै आफ्ना दुई शिक्षकको गलत व्यवहारका कारण नेपाल र नेपाली विद्यार्थीमाथि पर्न गएको चोटका लागि माफी पनि मागेका छन्।

विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ विषयकी सहप्राध्यापक मनजुशा पाण्डे र वार्डेन जयन्ती नाथलाई जागिरबाट निकालेको उल्लेख गरेको छ। विद्यार्थीलाई कुटपिट गरी छात्रावासबाट निष्कासन गर्ने सुरक्षा गार्डको समूहसहित प्रशासनका ११ कर्मचारीलाई समेत जागिरबाट निष्कासन गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ।

प्रकृति लम्सालले आफू विगत दुई महिनादेखि भारतीय विद्यार्थी अद्विक श्रीवास्तवले दिएको मानसिक र शारीरिक यातनाविरुद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आइआरओ) मा पटकपटक निवेदन दिँदा पनि कुनै सुनुवाइ भएको थिएन। यसकारण विश्वविद्यालयले यो विभागका तीन कर्मचारीलाई पनि छानबिनका लागि निलम्बन गरेको जनाएको छ। विश्वविद्यालयका उपकुलपति सरनजित सिंहले विश्वविद्यालय र शिक्षक–कर्मचारीले नेपाली विद्यार्थीसँग गरेको दुव्र्यवहार र मानवअधिकार हननबारे माफी माग्दै विद्यार्थीलाई छात्रावासमा फर्कन अपिलसमेत गरेका छन्।

तर त्रसित विद्यार्थीहरूले भने आफूहरूले प्रकृति लम्सालको न्यायका लागि आवाज उठाउँदा विश्वविद्यालयका शिक्षक र कर्मचारीले नेपाली राष्ट्रिययतामाथि आँच पु¥याउने गरी गालीबेइज्जती गरेको भन्दै ती शिक्षक कर्मचारीहरूले माफी माग्नुपर्ने आवाज उठाएका छन्।

उनीहरूमाथि कानुनी कारबाही हुनुपर्ने माग पनि राखिएको छ। उनीहरूले विश्वविद्यालय र प्रहरी प्रशासनले छात्रावासमा पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिए मात्र विश्वविद्यालय फर्कन सक्ने गरी आठ बुँदे माग पेस गरेका छन्।

अहिले पीडित विद्यार्थी कोही कोलकाताको हवडा स्टेसन, कोही पटना स्टेसन, कोही भुवनेश्वरमा छन् भने त कोही नेपाल फर्कने क्रममा रहेको एक विद्यार्थीले नागरिकलाई बताएका छन्। बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा लम्सालको शंकास्पद मृत्युपछि न्यायका लागि आवाज उठाउँदा विश्वविद्यालयको शिक्षक तथा कर्मचारीहरूले नेपाली विद्यार्थीको आवाज दबाउने दुष्प्रयास गरेपछि परिस्थिति बिग्रिएको थियो।

नेपाली विद्यार्थीहरूले न्यायका लागि आवाज उठाउँदा विश्वविद्यालयकी कम्प्युटर इन्जिनियरिङकी सहप्राध्यापक मनजुशा पाण्डे र वार्डेन जयन्ती नाथले नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गर्दै गालीबेइज्जती गरेका थिए। ‘नेपालको राष्ट्रिय छविमा आँच पुग्ने गरी गालीगलौज गर्ने शिक्षकहरूलाई विश्वविद्यालयले निष्कासन गरिसकेको छ। तर उनीहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्छ,’ कोलकाताको हवडा स्टेसनमा रहेका एक विद्यार्थीले नागरिकसँग भने, ‘छात्रावासभित्र महिला शिक्षक मनजुशा पाण्डे र जयन्ती नाथले हाम्रो नेपालको राष्ट्रिय बजेटलाई कलेजको खर्चसँग तुलना गरेर उपहास गरेको कहिल्यै स्वीकार्य हुँदैन।’

विश्वविद्यालयमा पुगेर नेपाली विद्यार्थी भेट्ने क्रममा नेपाली दूतावासका अधिकारी ।

ती विद्यार्थीले आक्रोशित हुँदै थपे, ‘विद्यार्थी र अन्तराष्ट्रिय कूटनीतिमा आँच पुग्ने गरी गैरजिम्मेवार रवैया देखाउने व्यक्ति शैक्षिक संस्थाका कलंक हुन्। यस्तालाई कडा कारबाही हुनैपर्छ।’

विश्वविद्यालयका विद्यार्थीहरूका अनुसार प्रकृति विगत तीन वर्षदेखि भारतीय विद्यार्थी अद्विक श्रीवास्तवसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमी श्रीवास्तवबाट पटकपटक मानसिक र शारीरिक यातना खेप्दै आएकी थिइन्। बिटेक तेस्रो वर्षकी छात्रा प्रकृति प्रेम सम्बन्धमा परेको बखत प्रेमी श्रीवास्तवले उनको अश्लील भिडियो बनाएको र पटकपटक ब्ल्याकमेल गर्दै आएको विश्वविद्यालयका एक विद्यार्थीले नागरिकसँग बताए।

‘विदेशी विद्यार्थीको रेखदेख गर्ने विभाग आइआरओमा प्रकृतिले दुईपटक निवेदन दिए पनि कुनै कारबाही भएन। यसले प्रकृति थप मानसिक तनावमा थिइन्,’ नेपाल फर्केका एक छात्रले नागरिकसँग भने, ‘तर यो विभागले समेत प्रकृतिको कुनै सुनुवाइ नगरेपछि हामीले एक होनहार साथी गुमायौं।’

उनले थपे, ‘जुन विश्वविद्यालयले हामीलाई कुटीकुटी लखेटेर भुवनेश्वर प्लेटफार्ममा गैरजिम्मेवारपूर्ण रूपमा छाडिदियो। हाम्रो मानवअधिकार हनन भयो। अब फेरि फर्क भन्छ। हामी कसरी सुरक्षित हुन्छौं। जबसम्म भारतमा रहेको नेपाली दूतावास, नेपाल सरकार र भारत सरकारले समन्वय गरी हाम्रो सुरक्षाको पूर्ण प्रत्याभूति दिँदैन, तबसम्म हामी छात्रावासमा बस्नु त्रासपूर्ण नै हुन्छ।’

उनले विश्वविद्यालय, सरकार र भारत सरकारसँग नेपाली विद्यार्थीले आठ बुँदे माग राखेको जनाए। मागहरू नेपालको राष्ट्रिय छविमाथि आँच पुर्‍याउने शिक्षकहरूलाई जागिरबाट निकाल्नुपर्ने र ती शिक्षकहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, न्याय सुनिश्चित गरिनुपर्ने र घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही हुनुपर्ने, होस्टेल वार्डेन र विश्वविद्यालयका अधिकारीहरूले प्रहरी आउनुअघि नै पीडितको शव आफ्नो नियन्त्रणमा लिएर प्रमाण मेटाउने प्रयास गरेकाले अनुसन्धान प्रक्रिया मिच्नेहरूमाथि अनुसन्धान हुनुपर्ने रहेका छन्।

यसैगरी आइआरओमा पीडितले दिएको निवेदनउपर विस्तृत अनुसन्धान हुनुपर्ने र पीडितको गुनासा बेवास्ता गर्ने आइआरओको कर्मचारीमाथि कानुनी कारबाही हुनुपर्ने विद्यार्थीको अर्को माग छ। विद्यार्थीमाथि आक्रमणको आदेश दिने कर्मचारीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र उनीहरूले विद्यार्थीको मानवअधिकार हनन गरेकाले कानुनअनुसार कारबाही हुनुपर्ने विद्यार्थीको अर्को माग हो।

साथै पीडित विद्यार्थीहरूले घटनाका दिनहरूको सिसिटिभी फुटेज सार्वजनिक गरी दोषीउपर कानुनी कारबाही हुनुपर्ने, विद्यार्थीहरूको यातायात क्षतिपूर्ति दिनुपर्ने, छात्रावासबाट विद्यार्थीलाई अज्ञातस्थलमा लगेर छाडेर अलपत्र पारेको र विद्यार्थीहरू घर फर्कंदा लागेको खर्च कलेजले बेहोर्नुपर्ने र विद्यार्थीहरू स्वेच्छाले छात्रावास छाडेको भन्दै झुटो प्रेस विज्ञप्ति जारी गरेकोमा विश्वविद्यालयले गल्ती स्वीकार गरी माफी माग्नुपर्नेलगायत माग पनि छन्।

मंगलबार भारतमा रहेको नेपाली दूतावासका दुई अधिकारीहरू विश्वविद्यालय पुगेर नेपाली विद्यार्थीबारे जानकारी लिएको बताइएको छ। यसैबिच परराष्ट्रमन्त्री आरजु राणाले उक्त विश्वविद्यालयमा नेपालका दुई वरिष्ठ अधिकारी पुगेर घटनाबारे अध्ययन अनुसन्धान गरिरहेको जनाइन्।

‘नेपाली विद्यार्थीको अवस्था र सुरक्षाको स्थितिबारे बुझ्न नेपाली दूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी मंगलबार बिहान विश्वविद्यालय पुग्नुभएको छ,’ मन्त्री राणाले भनिन्, ‘ती अधिकारीहरू भारतीय सुरक्षाकर्मीसँग सहकार्य गरी नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र छात्रावासको सुरक्षाको अवस्थाका लागि विश्वविद्यालयसँग समन्वय गर्नेछ।’

राष्ट्रियसभामा पनि सांसदहरूले नेपाली छात्राको शंकास्पद मृत्युबारे सरकारले भारत सरकारसँग समन्वय गरी प्रकृतिलाई न्याय दिलाउन र अन्य अलपत्र विद्यार्थीको सुरक्षाका लागि आवाज उठाएका छन्।

न्याय पाइने आशा छ: बुवा सुनिल

प्रकृतिका बुवा सुनिल लम्साल विश्वविद्यालय र भारतीय प्रहरीसामु न्यायको माग गरिरहेका छन्। उनी छोरीको न्यायको खोजीमा विश्वविद्यालयमै पुगेका छन्। उनले आफ्नी छोरीमाथि ब्ल्याकमेल भइरहेको र सोही कारण छोरीले ज्यान गुमाउनुपरेको भारतीय मिडियालाई बताएका छन्। ‘मेरो छोरीलाई मानसिक यातना दिइएको र उनीमाथि ब्ल्याकमेल भएको छ।

त्यसकारण छोरीले बाध्य भएर ज्यान गुमाउनुपर्‍यो,’ सुनिलले एएनआइसँग भने, ‘मैले ठुलो आशा गरेर छोरीलाई उच्च शिक्षाका लागि केआइआइटीमा पठाएको थिएँ तर यस्तो नियति भोग्नुपर्‍यो। सरकार र प्रहरीप्रति मलाई विश्वास छ।’

ओडिसाको विधानसभामा पनि बहस

मृतक लम्सालको विषयले ओडिसाको विधानसभामा पनि बहसको रूप लिएको छ। मंगलबार शून्य समयमा विपक्षीहरूले राज्यको कानुन व्यवस्था संकटग्रस्त बन्दै गएको भन्दै सरकारको आलोचना गरेका थिए। विपक्षी उपमुख्य सचेतक प्रताप देवले केआइआइटी विश्वविद्यालयमा भएको नेपाली छात्राको रहस्यमय मृत्युले अन्तर्राष्ट्रिय रूपमा ओडिसाको छवि नकारात्मक बन्दै गएको जनाए।

यसैगरी सभामा कांग्रेसका सांसद ताराप्रसाद बाहिनीपतिले नेपाल र भारतबिच परापूर्वकालदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उनले विश्वविद्यालयभित्र नेपाली विद्यार्थीमाथि गरिएको दुर्व्यवहार निन्दाजनक रहेको भन्दै न्यायिक छानबिनको माग गरे।

‘भगवान् जगन्नाथका कारण ओडिसासँग नेपालको पुरानो धार्मिक तथा ऐतिहासिक सम्बन्ध छ,’ सांसद बाहिनीपतिले भने, ‘नेपाली विद्यार्थीमाथि भएको दुव्र्यवहार निन्दनीय छ। घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कारबाही हुनुपर्छ। नत्र म अनशनमा बस्नेछु।’

भाजपा सांसदहरूले केआइआइटीका संस्थापक प्राध्यापक डा. अच्युत सामन्तको गिरफ्तारीको समेत माग गरेका छन्। भुवनेश्वर प्रहरीले आरोपी श्रीवास्तवलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। प्रहरीले विद्यार्थीको मागअनुसार प्रमाणका लागि मोबाइल, ल्यापटपलगायत जफत गरिसकेको छ। केआइआइटीमा नेपालका करिब एक हजार विद्यार्थी अध्ययनरत छन्।

मंगलबार नेपाली दूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका वरिष्ठ अधिकारी सञ्जीव शर्मा दास र नवीनराज अधिकारीले पीडित विद्यार्थीहरूलाई भेटेर समस्याबारे जानकारी लिएका छन्। यसैगरी उनीहरू विश्वविद्यालयका पदाधिकारीसँग समेत भेटेर घटनाबारे अध्ययनअनुसन्धान गरिरहेको विद्यार्थीहरूले बताए। नेपाली अधिकारीसँग भेटपछि विद्यार्थीले केही राहत महसुस गरेको उनीहरूको भनाइ छ।

उनीहरूका अनुसार ३० विद्यार्थी छात्रावासमा फर्केका छन् भने अन्य विद्यार्थी बाहिर नै छन्। ‘ओडिसा सरकारका अधिकारी र विश्वविद्यालयसँग निरन्तर सम्पर्क’काठमाडौंस्थित भारतीय दूतावासले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा भएको प्रकृति लम्सालको मृत्युका सम्बन्धमा ओडिसा सरकारका अधिकारी र विश्वविद्यालयसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ।

मंगलबार विज्ञप्ति जारी दूतावासले ओडिसा राज्य सरकारले गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समितिसमेत गठन गरेको जनाएको छ। ‘नेपाली विद्यार्थीसहित सबै विद्यार्थीको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ र साथै छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चालिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

ओडिसा राज्य सरकारले उक्त प्रकरणका विषयमा जानकारी लिएको र यसमा संलग्न सुरक्षा गार्डहरूलाई पक्राउ गर्न तथा गल्ती गर्ने अधिकारीहरूलाई निलम्बनको कदम चालेको पनि विज्ञप्तिमा उल्लेख छ।

भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थीविरुद्ध फौजदारी मुद्दा दर्ता गरी आरोपीलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको विज्ञप्तिमार्फत जनाइएको छ। केआइआइटीले ‘अनिश्चितकालीन’ आदेश फिर्ता लिएको र नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्कन तथा आफ्नो कक्षा पुनः सञ्चालन गर्न अपिल गरेको बताइएको छ।

केआइआइटीले दुई सुरक्षा गार्डको सेवासमेत समाप्त गरेको छ र दुई वरिष्ठ छात्रावास अधिकारीहरूलाई निलम्बन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ अधिकारीलाई अनुसन्धानका लागि विचाराधीन सोधपुछमा राखेको जानकारी दिएको छ।

सो विश्वविद्यालयका उपकुलपतिले आफ्ना कर्मचारीको टिप्पणी र व्यवहारका लागि खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेका छन् र सबै नेपाली विद्यार्थीलाई नियमित शिक्षामा सामेल हुन अपिल गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘भारत सरकारले भारतमा रहेका नेपाली विद्यार्थीको कल्याण सुनिश्चित गर्न सबैखाले आवश्यक कदम चाल्नेछ।’



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School