काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा कन्टेनरमा भेटिएको २५ करोडभन्दा बढी रुपैयाँबराबरको विदेशी मुद्रा प्रकरणमा राजस्व अनुसन्धान विभागले मंगलबार दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
२५ करोडभन्दा बढी रुपैयाँबराबरको विदेशी मुद्रा प्रकरण
राजस्व अनुसन्धान विभागका प्रमुख चण्डिप्रसाद घिमिरेले विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा काठमाडौं जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको बताए ।
मुद्दा दायर गरिएकामा कन्टेनर चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का फुच्चे भनिने ४३ वर्षीय कुसाङ लामा र विदेशी मुद्राका मालिक सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल छन् ।
कुसाङले चालक सिटपछाडि फल्स बटम बनाएर सो रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले चालक कुसाङलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरलाई बुझाएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक महिनाअघि गत ४ चैतमा युरो १३ लाख ७५ हजार १ सय ५० र अमेरिकी डलर ३ लाख २० हजार ८ सय ५० बरामद गरेको थियो । बरामद विदेशी मुद्राको नेपाली रुपैयाँ २५ करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।
त्यस दिन प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का फुच्चे भनिने कुसाङलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा सो विदेशी मुद्राको मालिक सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल रहेको खुलेको थियो ।
यस घटनाको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँबराबरको बिगो र जरिमाना मागदाबी गरेको छ ।
यस्तै, कुसाङको हकमा सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम जरिमाना गरी सोही ऐनको दफा १७ को उपदफा (९) बमोजिम थप सजायसमेत माग गरिएको छ । कुसाङ सुन पैठारीको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २६ असार २०७४ मा दोषी ठहर भएका थिए । सो सजाय भुक्तान गरेको ५ वर्षभित्र अर्को कसुर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुन पनि माग गरिएको छ । यस्तै, बरामद भएको विदेशी मुद्रा र ट्रक पनि जफत गर्न माग गरिएको छ ।
यो मुद्राका मालिक भनिएका नारायण फरार रहेकाले उनको हकमा अदालतबाटै म्याद जारी गर्न पनि अभियोग पत्रमा माग गरिएको छ ।
लामो समयको अनुसन्धानपछि बरामद भएको २५ करोडभन्दा बढी रुपैयाँबराबरको विदेशी मुद्राका मालिक नारायणको राजस्व अनुसन्धान विभागले पहिचान गरेको थियो । कन्टेनर चालक कुसाङसँगको फोन सम्पर्क र सीडीआर विश्लेषणबाट विभागले मुख्य मालिकको पहिचान गरेको थियो । उनीविरुद्ध वारेन्ट जारीसमेत भइसकेको छ ।
विभागले यस घटनाको अनुसन्धान गरिरहेका बेला यसका मालिक पहिचान भएको भन्दै पहिला नै नाम सार्वजनिक गरेको थियो । सो रकम बोक्ने कुसाङ भरिया मात्रै भएको र कसको रकम हो भन्ने’bout यसअघि नै आमचासोको विषय बनेको थियो ।
टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बस्दै आएका नारायणकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको छ । विभागको अहिलेसम्मको अनुसन्धानले सुन तस्करी गर्नकै लागि सो रकम चीन लैजान लागिएको निष्कर्ष निकालेको छ । यसअघिको प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि यही निष्कर्ष निकालेको थियो ।
उता, विभागले नारायणकै संलग्नतामा रकम ट्रकमा राखेको फुटेजसमेत फेला पारेको थियो । नारायणले नै त्यस दिन करिब साँझ ६ बजेतिर रकम ट्रकमा लोड गरेका थिए । रकम हाल्नुअघि ट्रक ग्यारेज, पार्किङस्थित र विभिन्न गोदाममा पुगेको पत्ता लागेको थियो । रकम लोड भएपछि ट्रक कता–कता कयो भन्ने’bout अनुसन्धानसमेत गरिएको थियो ।
विदेशी मुद्राका मालिक नारायणले प्रयोग गर्ने मोबाइल र चालक कुसाङको मोबाइलमा समेत सूचना आदान–प्रदान भएको र फोन सम्पर्क भएको समेत भेटिएको थियो । प्रहरीले चालक कुसाङलाई पक्राउ गर्नुभन्दा केही समय पहिला मात्रै उनीहरूबीच फोनमा कुराकानी भएको विवरणसमेत भेटिएको थियो ।
चालक पक्राउ परेकै ठाउँ टोखाबाट यसका मालिक नारायण फरार भएको देखिएको पनि विभागले जनाएको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धानकै क्रममा नारायणको घर, कारोबारस्थल र गोदामहरूमा पनि तलासी लिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक घिमिरेले बताए । चालक कुसाङले रकम लैजानुअघि फोनमा नारायणसँग कुराकानी गरेको भेटिएको पनि उनले बताए ।
विभागले ग्यारेज, पार्किङ स्थलमा पुगेर पनि अनुसन्धान गरेको जनाएको छ । कुसाङको बैंक खाताको विवरणबाट पनि अस्वाभाविक शंकास्पद कारोबार भएको देखिएको विभागले जनाएको छ । विभागका एक अधिकारीका अनुसार मुख्य आरोपी नारायणको घरमा छापा मारेर बैंक चेकहरू बरामद गरिएको थियो । उनले भने, ‘हामीले नारायण पौडेलले प्रयोग गर्ने मोबाइल नम्बरको सीडीआर, सीसीटिभी फुटेज र डिजिटल डिभाइस विश्लेषण गरेका थियौं, साथै उनको घर, कारोबारस्थल र गोदाम खानतलासी गरी विभिन्न प्रमाण जुटाइएको छ ।’
सो रकम नारायणकै भएको खुलेपछि उनको बैंक खातादेखि घरजग्गासम्म रोक्का गरिएको छ ।
को हुन् नारायण पौडेल ?
पूर्वप्रधानपञ्च दुर्गाप्रसाद पौडेलका छोरा नारायणकी श्रीमतीको मृत्यु भइसकेको छ भने एक छोरा र एक छोरी छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी ठेगाना भएका नारायण विवावादस्पद पृष्ठभूमि भएका व्यक्ति हुन् । उनको आपराधिक गतिविधिको सुरुवात खासाको व्यापारबाट भएको खुलेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि रक्तचन्दन तस्करीमा संलग्न भएका नारायणले त्यस धन्दाबाट राम्रै आम्दानी गरेको पनि पाइएको छ ।
२०७२ सालको महाभूकम्पको चपेटामा उनको गृहजिल्ला सिन्धुपाल्चोक परेसँगै खासाको व्यापार पनि तहसनहस भयो । त्यसपछि भने नारायणले सुन तस्करीलाई आफ्नो मुख्य पेसा बनाएका थिए । उनलाई नजिकबाट चिन्नेहरूका अनुसार सुन तस्करी उनको नियमित धन्दा बनेको थियो ।
यसअघि पनि नारायण विभिन्न आपराधिक प्रकरणमा मुछिएका थिए । २०५९ सालमा हङकङमा करोडौं डलर तस्करी गरेको आरोपमा उनी राजस्व अनुसन्धान विभागबाट पक्राउ परेका थिए । ऊन आयातका नाममा तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट एलसी खोल्ने तर ऊन आयात नगरी डलर तस्करी गर्ने उनको धन्दा त्यतिबेलै पर्दाफास भएको थियो ।
प्रहरीका अनुसार सोलु र पर्साका विभिन्न व्यक्तिका नाममा कम्पनी खोलेर उनले यो गैरकानुनी कारोबार सञ्चालन गरेका थिए । उनको तस्करीको सञ्जालमा अन्य व्यापारीको ठूलो समूह पनि संलग्न रहेको प्रहरीको दाबी छ । उनलाई गत २ असार २०८० मा महाराजगन्जस्थित एक घरमा जुवा अखडा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरी वृत्त महाराजगन्जले उनलाई १ लाख ९० हजार नगदसहित पक्राउ गरेको थियो । तर, त्यतिबेला उनी शक्तिकेन्द्रको दबाबमा छुटेका थिए । उनलाई छुटाउन त्यसबेला माओवादी केन्द्रका नेताहरूले ठूलै दबाब दिएको स्रोतको भनाइ छ ।
नारायण र उनका दाजुभाइको पृष्ठभूमि नै आपराधिक र विवादित पाइएको छ । एक जना प्रहरी अधिकृतका अनुसार चारै जना दाजुभाइको आपराधिक पृष्ठभूमि देखिन्छ । राजनीतिको आवरणमा रक्तचन्दन, सुन, विदेशी मुद्रा अपचलन (हुन्डी)मा उनीहरूको संलग्नता पाइएको छ ।
चार दाजुभाइमध्ये माइला नारायणबाहेक उनका दाजुभाइहरू राजनीतिक पृष्ठभूमिकै व्यक्ति रहेको खुलेको छ । जेठा ध्रुव एमालेसँग आबद्ध छन् । उनी एकपटक तत्कालीन फुल्पिङकट्टीका गाविस अध्यक्षसमेत भएका थिए ।
नारायणमुनिका साइलो भाइ बच्चु हिमालय सीमा व्यापार संघका पूर्वअध्यक्ष हुन् । कान्छो राजकुमार भोटेकोशी गाउँपालिकाको अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी २०७४ सालमा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा विजयी बनेका थिए । राजकुमार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । परिवारको राजनीतिक पहुँच र प्रभावका कारण पटक–पटक पक्राउ परे पनि उनी उम्किँदै आएका छन् ।
कुसाङ भने यसअघि पनि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसिसकेका व्यक्ति हुन् । १३ पुस २०७३ मा अवैध सुन तस्करीमा पक्राउ परेका उनी २०७८ सालमा छुटेका थिए । त्यसबेला उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा८च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । सो समयमा गाडीको अगाडि भागमा रहेको एयरफिल्टरको बक्सभित्र लुकाएर ल्याइएका सातवटा एक–एक किलोका सुनका लाप्सा भेटिएको थियो । त्यतिबेला पनि सो गाडीका चालक कुसाङ नै थिए । अहिले फेरि उनै कुसाङले गाडीमै फल्स बटन बनाएर डलर र सुन बोक्ने गरेको दाबी प्रहरी अधिकारीहरू गर्छन् ।
जेलबाट छुटेपछि कुसाङ फेरि कन्टेनर चालककै आवरणमा सुन र डलरको तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
(Visited 89 times, 1 visits today)