अग्निकर्मको प्रभाव अनुसन्धान गर्दै प्रदेश आयुर्वेद : RajdhaniDaily.com


सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले अग्निकर्म विधिबाट गरिने उपचारको प्रभावसम्बन्धी अनुसन्धान गर्ने भएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमै यससम्बन्धी काम अघि बढ्ने केन्द्रले जनाएको छ ।

केन्द्रका निमित्त निर्देशक डा. लक्ष्मीनारायण तिवारीले आयुर्वेद अस्पतालले मासु तथा हाडजोर्नीको दुखाइ कम गर्न अग्निकर्म विधिबाट उपचार गरिरहेको जानकारी दिए । ‘यो विशेषगरी मासु र हाडजोर्नीको दुखाइको उपचार गर्ने पद्धति हो, अग्निकर्म विधिबाट गरिरहेको उपचारको इफेक्ट (प्रभाव) कस्तो छ ? दुखाइको मात्रा कति घट्दो रहेछ ? भनेर अध्ययन, अनुसन्धान गर्न थालेका हौं,’ उनले भने, ‘यस अनुसन्धानले अग्निकर्म विधिबाट हुने उपचारलाई थप प्रभावकारी बनाउन मद्दत पुग्छ ।’

अग्निकर्म आगोका माध्यमबाट उपचार गर्ने विधि हो । यस उपचारमा धातु तताएर शरीरको प्रभावित अंगमा स्पर्श गरिन्छ । यसले दूषित तन्तुहरू नष्ट गर्छ र शरीरको प्राकृतिक उपचार प्रक्रिया सुरु गर्छ । यो सन्धिवात, जोर्नी दुखाइ, घुँडाको दुखाइ शिरोवेदन (विशेषगरी लामो समयदेखि भइरहने टाउको दुखाइ), कम्मरदेखि खुट्टासम्म हुने नसासम्बन्धी दुखाइ, कुहिनो वा अन्य जोर्नी वरिपरिको दुखाइ, त्वचामा भएको कडा गाँठोजस्ता समस्याको उपचारमा प्रभावकारी मानिन्छ ।

निर्देशक डा. तिवारीका अनुसार छिटो प्रभाव देखिने, शल्यक्रियाबिना लाभदायक, साइड इफेक्ट कम हुने र शारीरिक सन्तुलन कायम गर्न सहयोगी हुने हुँदा अग्निकर्मलाई आयुर्वेद उपचारमा प्रभावकारी मानिन्छ । यस वर्ष दुखाइको मात्रा कति घट्छ भनेर अनुसन्धान गरिनेछ ।

यस कार्यमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले १० लाख रुपैयाँ खर्च गर्दै छ । केन्द्रले कर्णाली खर्च मापदण्डबमोजिम प्रस्तावना तयार गरिसकेको छ । ‘आयुर्वेद विभागले तयार गरेको अनुसन्धान नीतिलाई पालना गर्नुपर्छ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट अनुमति लिनुपर्छ, अनुमति लिन बाँकी छ,’ डा. तिवारीले भने, ‘प्रस्तावना तयार भइसकेकाले अब हामी अनुमतिको प्रक्रियामा जाँदै छौं, परिषद्बाट अनुमति पाएपछि वैधानिक रूपले अनुसन्धानको प्रक्रिया सुरु हुन्छ ।’

अनुसन्धान कार्यमा अस्पतालकै जनशक्ति प्रयोग हुने डा. तिवारीको भनाइ छ । ‘अन्य म्यानपावर हामीसँगै छ, एक जना पब्लिक हेल्थको म्यानपावर हायर गर्नुपर्नेछ,’ उनले भने ।

यसअघि प्रदेश आयुर्वेद औषधालयका रूपमा सञ्चालित यसलाई २०७९ सालमा अनुसन्धान केन्द्रमा परिणत गरिएको थियो । केन्द्रले ओपीडी, आईपीडी, निःशुल्क औषधि वितरण, गुणस्तरीय प्रयोगशाला सञ्चालन, शल्य चिकित्सा, अग्निकर्म, पञ्चकर्म सेवा, एक्स–रे, भिडियो एक्स–रे, फिजियोथेरापी सेवा, सशुल्क फार्मेसी सेवा सञ्चालन गरिरहेको छ । यसका अलावा उपचारात्मक योग, आरोग्यका कार्यक्रमहरू, गाउँघर क्लिनिक, आयुर्वेद शिविरलगायतका विभिन्न प्रवर्धनात्मक सेवाहरू पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै, केन्द्रले नौ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । निर्देशक डा. तिवारीले अकुपञ्चर सेवा सञ्चालन र पञ्चकर्म युनिट स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।

आगामी ५ भदौमा स्वर्णविन्दु प्राशन अभियान सञ्चालन हुँदै छ । जुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय कार्यक्रम हो । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई यो थोपा खुवाइन्छ ।

अग्निकर्म विधिबाट हुने उपचारमा दुखाइ कमको मात्रा पहिचान गर्न अनुसन्धान गर्दै छौं : निर्देशक तिवारी
२०२३ सालमा सबै कार्यालय वीरेन्द्रनगर सारिए पनि सुर्खेतको पुरानो सदरमुकाम गोठिकाँडामा स्थापना भएको आयुर्वेद औषधालय तत्कालीन राकम (हाल सिम्ता गाउँपालिका)मा अञ्चल आयुर्वेद औषधालयका रूपमा कायम रह्यो ।

तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमणका बेला स्थानीयले आयुर्वेद कार्यालय स्थापना गर्न माग गरेपछि १५ साउन २०४१ मा वीरेन्द्रनगरस्थित गणेशचोकमा कार्यालय स्थापना भयो । त्यसपछि राकम र वीरेन्द्रनगरमा आयुर्वेद कार्यालय सञ्चालनमा आए । हाल यो अस्पताल वीरेन्द्रनगर–४ कालागाउँस्थित आफ्नै भवनमा अवस्थित छ । प्रदेश मन्त्रिपरिषद्को २८ भदौ २०७९ मा बसेको बैठकबाट ‘प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र’ नामकरण गरियो ।

कर्णाली प्रदेशमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको गुणस्तरीय सेवा र रोग उपचारमा सहयोग पु¥याउने उद्देश्यमा केन्द्रित छ । यसले अहिले के काम गर्दै छ ? उपचारात्मक, प्रवर्धनात्मक र अनुसन्धानात्मक कामहरू के–के भइरहेका छन् ? लगायतका विषयमा रहेर यस केन्द्रका निमित्त निर्देशक डा. लक्ष्मीनारायण तिवारीसँग गरिएको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत छ–

अहिले यो केन्द्र मुख्यगरी के काममा केन्द्रित छ ?
मुख्यतः हामीले तीनवटा पाटोमा काम गर्छौं । यसले बिरामीको उपचार, औषधि उत्पादन र अनुसन्धान गर्ने काम गर्छ । ओपीडी, आईपीडी, निःशुल्क औषधि वितरण, गुणस्तरीय प्रयोगशाला सञ्चालन, शल्य चिकित्सा, अग्निकर्म, पञ्चकर्म सेवा, एक्स–रे, भिडियो एक्स–रे, फिजियोथेरापी सेवा, सशुल्क फार्मेसी सेवा सञ्चालन गरिरहेका छौं, यसका अलावा दैनिक उपचारात्मक योग, आरोग्यका कार्यक्रमहरू, गाउँघर क्लिनिक, आयुर्वेद शिविरलगायतका विभिन्न प्रवर्धनात्मक सेवाहरू पनि गरिरहेका छौं ।

औषधि उत्पादनको अवस्था कस्तो छ ?
अहिले चाहिँ हामीले २३ प्रकारका निःशुल्क औषधिहरूमध्ये ९ प्रकारका औषधि उत्पादन गर्ने गर्छौं । यहाँ उत्पादित औषधिहरू माग भएबमोजिम जिल्लाहरूमा, स्थानीय तहमा पठाउने गर्छौं । विशेषगरी स्थानीय कच्चा पदार्थलाई पहिलो प्राथमिकतामा राख्छौं । तर, अधिकांश कच्चा पदार्थ ठेकेदारहरूले नेपालगन्ज ढुवानी गर्ने भएकाले उताबाट यता ल्याउनुपर्ने बाध्यता छ । तर, अहिले ठूलो परिमाणमा स्थानीय कच्चा पदार्थ छ भने सहकारीमार्फत खरिद गर्छौैं । कतिपय व्यक्तिसँग छ भने पनि त्यसको गुणस्तर हेरेर जिल्ला दररेटबमोजिम सोझै भरपाइ गरेर खरिद गर्छौं । जस्तै, च्यवनप्रासमा प्रयोग हुने अमला हामीले मेहेलकुना क्षेत्रबाट खरिद गर्छौं । २३ मध्ये ९ प्रकारका औषधि उत्पादन गर्दै आएका छौं ।

औषधि उत्पादनमा प्रयोग हुने जनशक्तिको व्यवस्थापन कसरी गर्नुभएको छ ?
पहिले विज्ञ हुनुहुन्थ्यो । अहिले हुनुहुन्न । हामीसँग फार्मासिस्ट, डाक्टर र दुई जना कामदार हुनुहुन्छ । उहाँहरूले नै प्याकेजिङ, लेबलिङलगायतका सबै काम गर्नुहुन्छ ।

यसको त नामै अनुसन्धान केन्द्र छ । अनुसन्धानका कामहरू के भइरहेको छ ?
अनुसन्धान शीर्षकमा गत वर्ष १० लाख रुपैयाँ विनियोजन भएको थियो । त्यो बजेटमा कार्यविधि बनाई अनुसन्धान गर्ने भनेर लेखिएको थियो । कार्यविधि बनाएर मन्त्रालयमा बुझायौं । अलि बृहत् रूपमा लैजानुपर्छ भन्ने छलफल भयो, अलि केही कन्फ्युज पनि भयो । कुन ऐनमा टेकेर कुन मोडालिटीमा लैजाने भन्ने विषयमा टुंगोमा पुग्न सकिएन, अन्ततः कार्यविधि पारित भएन । तालिमतर्फको पैसा खर्च भए पनि अनुसन्धानतर्फको पैसा फिर्ता भयो । यसपटक पनि १० लाख रुपैयाँ बजेट छ । दुईवटा प्रपोजल पनि आएको छ । कार्यविधि नबनाई सोझै कर्णाली खर्च मापदण्डअनुसार खर्च गर्न सकिने भएको छ । यस वर्ष पहिलो प्राथमिकतामा राखेर यस अनुसन्धानको बजेट खर्च गर्छौं ।

के विषयमा अनुसन्धान गर्दै हुनुहुन्छ ?
हामीले अग्निकर्म सेवा सञ्चालन गरिरहेका छौं । यो विशेषगरी मासु र हाडजोर्नीको दुखाइको उपचार गर्ने पद्धति हो । हामीले अग्निकर्म विधिबाट गरिरहेको उपचारको इफेक्ट (प्रभाव) कस्तो छ ? दुखाइको मात्रा कति घट्दो रहेछ ? भनेर अध्ययन, अनुसन्धान गर्न यो बजेट खर्च गर्दै छौं अनि अर्को मानिसहरू कुन अथवा कस्तो अवस्थामा आयुर्वेद आउँछन् ? के सोचेर आउँछन् ? लगायतका विषयमा केन्द्रित भएर अध्ययन गर्छौं । यी दुईवटा कुरामा यस वर्ष हामी अनुसन्धान गरेर नतिजा निकाल्छौं ।

अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया, व्यवस्थापनको तयारी पनि गर्नुपर्छ होला नि ?
हो, हाम्रो आयुर्वेद विभागले अनुसन्धान नीति बनाएको छ, त्यसको पालना गर्छौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट वैधानिक रूपले अनुमति लिन्छौं । त्यो अनुमति लिन बाँकी छ । अग्निकर्म एक प्रकारको थेरापी हो, थेरापी गर्दा हड्डी, मासु, जोर्नी, कुइना इत्यादि भागको दुखाइ कम कति मात्रामा भयो भनेर मापन गर्छ, त्यसैले यो महत्वपूर्ण अनुसन्धान हो । यसले हाम्रो अग्निकर्म विधिलाई थप प्रभावकारी बनाउन मद्दत गर्छ । अनुसन्धान कार्यका लागि पब्लिक हेल्थको जनशक्ति हायर गर्नुपर्नेछ । अन्य म्यानपावर हामीसँगै छ ।

अहिले प्रदेश आयुर्वेदमा बिरामीको संख्या कस्तो छ ?
हामीकहाँ बिरामी पर्याप्त छन् । बिमा लागू नहुँदा प्रदेश अस्पतालको जस्तो भीड त यहाँ हुँदैन । ठूलो भीड नदेखिएपनि हाम्रो जनशक्ति र पूर्वाधार व्यवस्थापनले धान्नसक्ने बिरामीको संख्या छ । औसतमा ८० देखि ९० जना आउँछन् । पहिला ओपीडी ३ बजेसम्म थियो । म आएपछि ४ बजेसम्मस ञ्चालन गरेका छौं । सेवाचाहिँ ५ बजेसम्म सञ्चालन गरेका छौैं । १ चैतदेखि अन्तरंग वार्ड सुरु गरिएको छ । हालसम्म ९० जनाको शल्यक्रियापछि डिस्चार्ज गरिएको छ । बिरामीसँग गर्ने व्यवहार, गुणस्तरीय उपकरणप्रतिको मानिसको हामीसँग भरोसा छ । हामी आफैं गाउँघर क्लिनिक सञ्चालन गरेर आयुर्वेदलाई जनतासँग लैजाने कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । अस्पताल भवन पनि निर्माणाधीन रहेकाले अहिले बिरामीका लागि बेड व्यवस्थापन गर्न समस्या छ । सो भवन बनेपछि थप सहज हुनेछ ।

प्रदेश आयुर्वेदले अन्य सेवाहरू पनि विस्तार गर्दैछ की ?
अब छिट्टै हामी अकुपञ्चर सेवा सञ्चालन र पञ्चकर्म युनिट स्थापना गर्ने तयारीमा छौं । पञ्चकर्म, सुगर, प्रेसरलगायतका बिरामीका लागि भरपर्दो उपचार विधि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन सञ्चालन हुँदै छ । जो ५ भदौदेखि सुरु हुनेछ । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई यो थोपा खुवाइन्छ । सुनको धूलो, औषधि मिसाएको घिउ र महको मिश्रण भएकाले यसले बालबालिकाको समग्र स्वास्थ्य राम्रो बनाउँछ । शारीरिक, मानसिक विकासमा मद्दत पु¥याउँछ, पाचन शक्ति बढाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नाम दर्ता र स्वास्थ्य परीक्षण निःशुल्क गर्छौं ।

प्रदेश आयुर्वेदले औषधि बिक्री वितरण पनि गर्छ ? यसको आम्दानी केमा खर्च हुन्छ ?
हामीले वार्षिक ६० लाख बढी आम्दानी गर्छौैं । तर, आम्दानीको पैसा हाम्रै खातामा जम्मा हुन्छ । त्यो पैसा हामीले चलाएका छैनौं । यसलाई अझ व्यवस्थापन गर्नसके प्रदेशको राम्रो आम्दानीको स्रोत आयुर्वेद बन्नसक्छ । यसमा जनशक्ति र बजेट थप गर्नसके यहाँबाटै उल्लेख्य राजस्व संकलन हुनसक्छ ।
तस्बिर : प्रकाश अधिकारी

(Visited 4 times, 1 visits today)





Source link

Leave a Comment