प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार

बायोमेट्रिक्स कार्यका लागि कार्यालय पुगेका एक नेपाली आवेदकलाई पक्राउ गरिएको युएससीआईएसले जनाएको छ। एजेन्सीका अनुसार ती व्यक्तिको नाममा पहिले नै जारी रहेको पक्राउ वारेन्ट फेला परेपछि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी उनलाई नियन्त्रणमा लिइएको हो।
मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै युएससीआईएसले जनाएअनुसार ती व्यक्ति चाइल्ड पोर्नोग्राफीको आरोपमा खोजी सूचीमा थिए। हाल उनलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा राखिएको छ।
आप्रवासन प्रक्रियाको नियमित अंशअन्तर्गत ती नेपाली आवेदक युएससीआईएसको कार्यालयमा बायोमेट्रिक्सका लागि पुगेका थिए। सोही क्रममा गरिएको पृष्ठभूमि जाँचका क्रममा उक्त वारेन्ट फेला परेको हो। वारेन्ट देखिएलगत्तै युएससीआईएसका अधिकारीहरूले तुरुन्तै स्थानीय प्रहरीलाई खबर गरेका थिए।
युएससीआईएसले आफ्नो आधिकारिक एक्स (ट्विटर) ह्यान्डलमा लेखेको छ, “चाइल्ड पोर्नोग्राफीको आरोपमा सक्रिय पक्राउ पुर्जी जारी भएका एक यौन अपराधीलाई पक्राउ गरिएको छ र उनीमाथि कानुनी कारबाही अघि बढाइँदै छ। जब ती नेपाली नागरिक हाम्रो कार्यालयमा बायोमेट्रिक्सका लागि आए, हामीले वारेन्ट फेला पार्यौँ र तुरुन्तै समन्वय गर्यौँ।”

युएससीआईएसले यस घटनालाई आफ्नो स्क्रिनिङ प्रक्रिया र जनसुरक्षामा आफ्नो भूमिकाको महत्त्वको उदाहरणका रूपमा प्रस्तुत गरेको छ। एजेन्सीले आप्रवासनका लागि आवेदन दिने व्यक्तिहरूको नियमित रूपमा पृष्ठभूमि तथा सुरक्षा जाँच गर्ने गर्दछ। यस प्रकारको जाँचले कुनै पनि प्रक्रिया अगाडि बढ्नु अगावै पुराना आपराधिक रेकर्ड वा बाँकी रहेका वारेन्टहरू पत्ता लगाउन मद्दत पुग्ने एजेन्सीको भनाइ छ।
हालसम्म युएससीआईएसले पक्राउ परेका व्यक्तिको पहिचान, पक्राउ गरिएको स्थान वा उक्त आपराधिक मुद्दाको वर्तमान अवस्थाबारे थप विवरण सार्वजनिक गरेको छैन।
