नेपालको चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ को दोस्रो सिजन आगामी मंसिर १६ गतेदेखि प्रसारण हुने भएको छ । हिमालय टेलिभिजनबाट उत्पादन तथा प्रसारण हुँदै आएको यो शो हरेक बुधबार र बिहीबार राति ८ बजे प्रसारण हुनेछ ।
डिसेम्बर २, २०२६ देखि सुरु हुने दोस्रो सिजनमा नेपाली उद्यमशीलता, नवीन व्यावसायिक सोच र लगानीका सम्भावनालाई थप व्यापक रूपमा प्रस्तुत गरिने हिमालय टेलिभिजनले जनाएको छ ।
यस सिजनमा करिब ७० जना उद्यमीले आफ्ना व्यावसायिक योजना तथा अवधारणा प्रस्तुत गर्दै लगानीका लागि शार्कहरूसमक्ष प्रस्ताव राखेका थिए । ती उद्यममा करिब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जुटेको टेलिभिजनले सार्वजनिक गरेको छ ।
दोस्रो सिजनमा पनि नेपालको व्यावसायिक क्षेत्रमा स्थापित पाँच जना उद्यमी तथा उद्योगपति शार्कका रूपमा सहभागी छन् । आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया, पद्म ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति र वैद्य अर्गनाइजेसनकी प्रबन्ध निर्देशक रितुसिंह वैद्यले यस सिजनमा शार्कका रूपमा नवउद्यमीहरूका व्यावसायिक प्रस्तावको मूल्यांकन गर्दै लगानीका लागि प्रतिबद्धता जनाएका छन् ।
‘शार्क ट्यांक नेपाल’ ले नेपाली उद्यमीहरूलाई आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने, स्थापित व्यवसायीबाट मार्गदर्शन प्राप्त गर्ने र लगानी जुटाउने अवसर प्रदान गर्दै आएको छ । यसले नेपालमा उद्यमशीलताको संस्कृति विकास, नवीन सोचलाई प्रोत्साहन र लगानीको वातावरण निर्माणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नयाँ उद्यम, नयाँ सोच र लगानीका रोमाञ्चक प्रस्तावसहित ‘शार्क ट्यांक नेपाल’ सिजन २ मंसिर १६ गतेदेखि हरेक बुधबार र बिहीबार राति ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।