६ कात्तिक, काठमाडौं । बुधबार रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरसम्म पुग्ने साँघुरो पुलमा भाइटीका लगाउन जानेहरूको चहलपहल थियाे । कोही मन्दिरतर्फ अघि बढिरहेका थिए त कोही टीका लगाएर फर्किँदै थिए ।
दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका थिए ।
मन्दिर परिसरमा बसेर दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाइदिने र माला पहिर्याइदिने दृश्य देखिन्थ्याे । टीका लगाउन आएका दाजुभाइ र उनीहरूलाई टीका लगाइदिने दिदीबहिनीको उपस्थितिले मन्दिर परिसरमा भाइटीकाको छुट्टै रौनक थियो ।
विदेशी पर्यटकहरूले पनि रानीपोखरीमा टीका लगाएर रमाइलो गरिरहेका थिए ।
बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने गर्छ । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।







