News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरू भएको छ र आज धनतेरस मनाइँदै छ।
- त्रयोदशीकै दिन कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार, कुकुर पूजा र लक्ष्मीपूजा आइतबार हुनेछन्।
- पण्डित नारायणप्रसाद दुलालका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी शुरू भई भोलि बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
२० कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ ।
त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २५ गते भने भाइटीका परेको छ ।
चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ ।
आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथी लाग्ने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलाल बताउँछन् । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहन्छ ।
मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्ने चलन पनि छ । यसैदिन धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री किन्ने प्रचलन पनि छ ।
धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री आज पनि जारी राख्दैछ । बबरमहलस्थित कार्यालयबाट हिजोदेखि सुनचाँदीका सिक्का बिक्री सुरु गरिएको थियो ।