२७ असोज, सुर्खेत । मुगुमा धारिलो हतियार(खुँडा) प्रहारबाट एक ७५ वर्षीय वृद्धको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका ३२ वर्षीय अजवीर कामीले सोही ठाउँका ७५ वर्षीय धनवीर कामीमाथि धारिलो खुँडा प्रहार गर्दा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार सोमबार बिहान भएको घटनामा गम्भीर घाइते भएका धनवीरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि फरार रहेका अजवीरको खोजीका ३५ जनाको प्रहरी टोली परिचालन भएर छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलबाट पक्राउ गरेको छ । उनी खुँडासहित भागिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारीअनुसार मृतक र आरोपितबीच यसअघि कुनै झैझगडा वा रिसइबी नरहेको छिमेकी तथा आफन्तले बताएका छन् ।
आरोपितको पछिल्लो पाँच–सात दिनदेखि मानसिक सन्तुलन बिग्रिएको भन्ने जानकारीसमेत प्राप्त भएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाको वास्तविक कारण र अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
मृतकको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ ।