सिरहामा २ स्थानमा आगलागी, पशुचौपायासहित घरगोठ नष्ट


२४ असोज, सिरहा । सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्टसर्किटका कारण आगलागी हुँदा पशुचौपायासहित घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट घरगोठ, अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्रीमा क्षति पुगेको छ।

गोलबजार नगरपालिका–३ स्थित नेवारकुनी, चोरपाने निवासी गंगा बहादुर सुनुवारको घरगोठमा शुक्रवार राति करिब १२ बजे विद्युत् मिटरमा सर्टसर्किट भई आगलागी भएको हो। आगलागीमा परी एउटा गोरुको मृत्यु भएको छ भने करिब पाँच क्विन्टल अन्नबाली, भाँडावर्तनसहित घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

इलाका प्रहरी कार्यलय गोलबजारले घटना स्थलमा पुगेर क्षतिपूर्ति विवरण सहितको मुचुल्का गर्न पुगेको प्रमुख प्रहरी निरीक्षक दिपक खरेलले बताए ।उनले भने,प्रहरी घटना स्थलमा पुगेको छ,मुचुलका गरेर आएपछि मात्र क्षति विवरण लगायत अन्य केही भन्न सकिने बताए ।

त्यसैगरी, विष्णुपुर गाउँपालिका–४ स्थित थल्हा बथान टोलमा पनि विद्युत्को तार सर्ट भएर आगलागी हुँदा तीनवटा पशुचौपायाको जलेर मृत्यु भएको छ।प्रहरीका अनुसार बिहीबार राति करिब १ः३० बजे स्थानीय ४७ वर्षीय वीरेन्द्र यादवको बाँसको टाटीले घेरिएको र फुसको छानो भएको एकतले गाईगोठ तथा भान्सा घरमा आगलागी भएको थियो। आगलागीमा परी एउटा भैँसी र दुईवटा गोरुको मृत्यु भएको छ भने घरभित्र रहेका अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्री जलेर नष्ट भएका छन्।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

विष्णुपुरको घटनामा मात्रै करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुवै घटनामा मानवीय क्षति नभएको जनाइएको छ।





Source link

Translate »