कांग्रेस महामन्त्रीमा भिड्दैछन् यी तीन नेतृ


२० असोज, काठमाडौं । नेपाली कांग्रेसको तीन महामन्त्री पदमध्ये महिला एक जनाको लागि तीनजना प्रतिस्पर्धामा उत्रिएका छन् ।

कार्यकारी पद महामन्त्रीमा कांग्रेसले पहिलोपटक महिला सुरक्षित बनाउने गरी विधान संशोधन गरेको छ । संशोधित विधान अनुसारको प्रतिस्पर्धामा तीन महिला नेताहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

सहमहामन्त्री डा डिला संग्रौला, पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र महिला नेता रिता खनालले उम्मेवारी दर्ता गराएका छन् ।

१४ औं महाधिवेशनमा महालक्ष्मी ‘डिना’ले महिला क्लष्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन् । तत्कालीन समयमा सहमहामन्त्रीको आकांक्षी संग्रौलाले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेर जितिन् । त्यस समय दुबै जना पूर्व सभापति शेरबहादुर देउवा समूहमा थिए ।

संग्रौला गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनको पक्षमा लागिन् । सर्वसम्मत् नेतृत्व चयन गरी संग्रौला महिला क्लष्टरमा सहमहामन्त्री बनिन् । अर्कोतर्फ, १५ औं महाधिवेशनको निकटमा पूर्व सहमहामन्त्री डिना संस्थापनमा प्रवेश गरिन् । १४ औं महाधिवेशनमा एउटै समूहमा रहेका महिला नेतृहरु यसपटक महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछन् ।

संग्रौला र डिनासँगै प्रतिस्पर्धामा उत्रने अर्को महिला नेता रिता खनाल छन् । पूर्व सभापति देउवाको कार्यकालमा कांग्रेसको राजनीति छोडेकी खनाल विशेष महाधिवशेनसँगै कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनी मकवानपुरकी हुन् ।

महिलातर्फ महामन्त्रीमा प्रतिस्पर्धी डिना गत महाधिवेशनमा मकवानपुर–१ बाट उम्मेदवार बनेकी थिइन् । महामन्त्रीको अर्को उम्मेदवार संग्रौला मोरङ–६ निवासी हुन् ।





Source link

Translate »