१९ भदौ, काठमाडौं । बाढीले क्षतिग्रस्त २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा शुक्रबार ६ जनाको शव फेला परेको छ ।
आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी क्रममा तालिमप्राप्त कुकुर समेतकाे सहायतामा ६ जनाको शव फेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । सल्लेटार क्षेत्रमा भेटिएका ती ६ शव नेपाली सेनाले बट्टार ल्याएको छ ।
उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पाहरू, सर्च, ड्रोन टिम सक्रिय रहेकाे आयोजनाले जनाएको छ । विशेष क्यामेरा र तालिमप्राप्त कुकुर पनि सोही क्षेत्रमा लगिएको छ ।
उद्धारका लागि कम्पनीले १५ वटा उद्धार मेसिन तथा उपकरण पुर्याइएको र भोलि आयोजनास्थलमा उद्धारलाई तीव्रता दिइने कम्पनीले जनाएको छ । सुरुङमा भने वाटर पम्पको कार्य जारी राखिएको छ ।
बाढी आउनुअघि माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा कूल १ हजार ४ सय ३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८ सय ७६ जनाको उद्धार भइसकेको छ । अझै ५ सय ५१ जना सम्पर्कविहीन छन् ।
प्रर्वद्धक कम्पनी तथा निर्माण कम्पनीहरू डोसान र पावर चाइनाको व्यवस्थापन टिमले गृह सचिवलाई भेटी उद्धारका लागि थप उपकरण र मेसिन लैजानका लागि सहजीकरण गर्न आग्रह गरेको जनाएको छ ।
त्यस्तै १ सय ११ मेगावाटको रसुवागढी आयोजना स्थलमा मेसिनरी उपकरण पुर्याएर विद्युतगृहमा फसेकाहरूको उद्धार कार्य शुक्रबार पनि सुरु गर्न नसकिएको इप्पानले जानकारी दिएको छ ।
शेर्पाहरूको समूह लगेर सम्पर्कविहीन भएकाहरूको खोजी प्रयास गरिए पनि नदीमा निरन्तर बिरहेको पानीको सतह तथा खराब मौसमका कारण मेसिनरी उपकरण आयोजना स्थलमा लगेर खोजी कार्य सुरु गर्न नसिकएको आयोजनाले जनाएको छ ।
मेसिनरी उपकरण तथा आवश्यक उपकरणह त्रिशूलीबाट धुन्चेसम्म लगिए पनि आयोजना स्थलसम्म पुर्याउन नसकिएको जनाइएको छ । धुन्चेबाट आयोजनास्थल पुगेर साँझ धुन्चे नै फर्कन समस्या हुने हुँदा शनिबारदेखि आयोजनाको सर्जट्याङ्क रहेको अग्लो स्थानमा क्याम्प बनाएर त्यहीँ बस्ने व्यवस्था गर्न लागिएको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ । रसुवागढीबाट ९३ जना हराइरहेका छन् ।
अर्कातिर १० दिनसम्म पनि ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाबाट हराइरहेकाहरूको अवस्थाबारे थाहा हुन सकेको छैन । आयोजना स्थलमा साना मेसिनरी उपकरणबाट उत्खनन गर्दा विद्युतगृह रहेको स्थानमा खोला आइपुगेको छ ।
त्रिशूली नदीको सतहदेखि २ मिटर तलसम्म उत्खनन गर्दा समेत विद्युतगृहको संरचनाको केही नभेटिएपछि १२ मिटरसम्म खन्ने तयारी गरिएको छ । खोजी तथा उद्धार कार्यमा खटिएको सुरक्षाकर्मीले आयोजनाको सर्जट्याङ्कदेखि पेनस्टकसम्म खोजी कार्य गर्दा केही नभेटिएको जनाएको छ ।

आयोजनाको अडिट सुरुङबाट थप मेसिनरी उपकरण लैजान सकिन्छ कि भन्ने सम्बन्धमा प्रयास गरिएको जनाइएको छ । निरन्तर वर्षा तथा नदीमा पानीको सतह बढिरहेकाले ठूला मेसिनरी उपकरण आयोजना स्थल पुर्याउन कठिनाइ भइरहेको आयोजनाले जानकारी दिएको छ ।
यसैगरी त्रिशूली-३ ‘बी’ बाट १ सय ९१ जना हराइरहेका छन् । हराउनेमा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १ सय ४१, आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीका २१ कर्मचारी, ७ जना कर्मचारीका परिवार, परामर्शदाता चिलिमे इन्जिनियरिङका १२, १ जना सुरक्षा गार्ड र काठमाडौं विश्वविद्यालयबाट इन्टनसिप गर्न गएका इन्जिनियरिङ संकायमा ३ विद्यार्थी छन् । सुरुङमा कार्यरत २३ जनाले सुरक्षित रूपमा सुरुङ बाहिर निस्किएर ज्यान जोगाएका थिए ।
बाढीको १० दिनपछि माथिल्लो त्रिशूली थ्री ए विद्युतगृहमा फसिरहेका मध्ये २ जनाको शुक्रबार बिहान सकुशल उद्धार भएको छ । निरन्तर प्रयासकाे २ सय १६ घण्टापछि कोइलाडी-८ सप्तरीका सन्जय साह र काठमाडौंका कबिर मर्हजनको सकुशल उद्धार गर्न सम्भव भएको हो । अन्यको खोजी तथा उद्धार प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

त्यस्तै २० मेगावाटको लाङटाङ खोला आयाेजनामा हराइरहेका ४१ मध्ये बिहीबार २ जनाकोशव भेटिए पनि थपको अवस्था थाहा हुन सकेको छैन ।
शुक्रबार नेपाली सेनाले सुरुङभित्र प्रवेश गरेर खोजी गरेको छ । यो आयोजनाबाट १९ जनाको उद्धार भएको थियो भने २ जना मृत भेटिएका छन् । अझै ३९ जनाको अवस्था अज्ञात छ ।
अर्कातिर, भूमिगत विद्युतगृहमा ६ जना फसेको चिलिमे जलविद्युतबाट पनि उद्धार गर्न सकिएको छैन । मैलुङखोला जलविद्युतमा कार्यरत ७ जना अहिलेसम्म पनि सम्पर्कमा आउन नसकेको इप्पानले जनाएको छ । निर्माणाधीन रसुवा भोटेकोशीबाट पनि ४ जना सम्पर्कविहीन छन् ।