News Summary
Generated by OK AI. Editorially reviewed.
- रसुवाको बेत्रावती बजारबाट बेपत्ता धादिङ नीलकण्ठ–९, १२ र ३ का २६ जनामध्ये गायत्री लम्सालको शव काठमाडौंको शिक्षण अस्पतालमा फेला परेको छ।
- गायत्रीसँगै बेपत्ता भएका उनका श्रीमान् शिवहरि लम्साल र अन्य आफन्तको कुशको शव बनाएर परिवारले धादिङमा अन्त्येष्टि गरेको छ।
- बेपत्ता २५ जनाको शव नपाएपछि आफन्तले जीवित भेटिने आस मार्दै बुधबार सामूहिक अन्त्येष्टि गर्ने तयारी गरेका छन्।
१६ भदौ, पोखरा । धादिङको नीलकण्ठ नगरपालिकाका वडा नम्बर ९, १२ र ३ का २६ जनाको शव खोज्दै परिवार र आफन्त काठमाडौं, चितवन हुँदै पोखरासम्म भौंतारिए। त्यसमध्ये नीलकण्ठ–९ की गायत्री लम्सालको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा फेला पर्यो।
गायत्रीसहित सबैको शव खोज्दै आफन्त र परिवार पोखरामा पनि पर्खाइमा थिए; तर साससहित नै फेला पर्ने आस भने मारिसकेका थिए। गोसाइँकुण्ड गएका उनीहरू बेत्रावती बजारबाट बेपत्ता भएका थिए।
आफन्त र छरछिमेक मिलेर गोसाइँकुण्ड गएका एउटै गाउँका २६ जनामध्ये गायत्रीको मात्र शव फेला परेको हो। उनका श्रीमान् शिवहरि लम्साल अझै बेपत्ता छन्। तर, परिवारले धादिङमा गायत्रीसँगै बेपत्ता श्रीमान् शिवहरिको पनि अन्त्येष्टि गरेका छन्।
श्रीमान् शिवहरिको कुशको शव बनाएर गायत्रीको शवसँगै अन्त्येष्टि गरिएको पोखरामा रहेका आफन्त गोकर्ण लम्सालले बताए।
‘एउटै गाउँका तर अहिले गाउँबेंसीले फरक वडामा परेका आफन्त र परिवार गोसाइँकुण्ड जाँदै हुनुहुन्थ्यो र रसुवा बाढीमा परेर बेत्रावतीबाट बेपत्ता हुनुभयो,’ गोकर्णले अनलाइनखबरसँग भने, ‘उनीहरूको सास पाउने त लगभग सबैले आस मारिसकेका छन्। त्यसैले गायत्रीसँगै बेपत्ता श्रीमान्को पनि कुशको शव बनाएर एकैपटक अन्त्येष्टि गरिएको छ।’
सुरक्षित रहे खबर आइसक्ने र कतै फसेकै भए पनि यतिका दिनसम्म ज्यान बच्न सक्ने आस लगभग आफन्त र परिवारले मारिसकेको गोकर्णले सुनाए। नीलकण्ठ–९, १२ र ३ का आफन्त र परिवार मिलेर बस रिजर्भ गरेर उनीहरू गोसाइँकुण्ड गएका थिए।
बेत्रावती बजारबाट उनीहरू हराएपछि सिङ्गो पाल्पा, धारापानी, सङ्कोषलगायतका गाउँ नै शोकमा रहेको लम्सालले बताए।
बस मालिकसमेत रहेका चालकसहित हराइरहेकाहरूको शव भेटिने आस मारेर कुशको शव बनाई अन्त्येष्टि गर्ने गायत्रीको परिवार मात्र होइन; सोही गाडीमा गएका तर अर्को गाउँ धादिङको नीलकण्ठ नगरपालिका–३ का श्रीमान्–श्रीमती तुलसी र ईश्वरीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको आफन्तले जनाएका छन्।
‘ज्यानको आस त मरिसकेको छ। काठमाडौं, चितवन, नवलपुर हुँदै पोखरासम्म भौंतारिँदा पनि नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो,’ गोकर्णले भने, ‘परिवारका विभिन्न समस्या र कारण पनि हुन्छन्।’
१० गते बिहान बेत्रावतीमा एउटै गाउँका २२ जनासहित नजिकैका २९ जना बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये एउटै परिवारका ७ जनासम्म छन्। कसैका परिवारका ४ जना त कसैका श्रीमान्–श्रीमती र सन्तानसमेत रहेको आफन्त बलराम लम्सालले बताएका छन्।
बेत्रावतीबाट उनीहरूले घरमा फोन गरेर बाढीबारे बताएका थिए। आफूहरू एउटा घरमा बसिरहेको तर बस बगाइसकेको उनीहरूले फोनमा बताएलगत्तै सम्पर्क टुटेको आफन्तले जनाएका छन्। बेत्रावतीमा सोमबार राति एउटै घरमा २० भन्दा बढी शवहरू भेटिँदा आफ्नै आफन्त र परिवार पनि हुन सक्ने अनुमान गरिएको गोकर्णले बताए।
उनीहरू शवका निम्ति काठमाडौं, चितवन र पोखरामा भौंतारिए पनि अहिलेसम्म एक जनाको मात्र शव भेटिएपछि निराश भएर कुशको शव अन्त्येष्टि गर्न थालेका हुन्। चितवनपछि पोखरामा मङ्गलबार पहिचान भएकाबाहेकका शवहरू माटोमुनि व्यवस्थापन गरिँदै छ। साससहितको ज्यान त पाइएन, लाससमेत नपाउँदाको पीडामा परिवार र आफन्त छन्।
‘१० गतेलाई मान्दा १७ गतेसम्म आठ दिन हुन्छ। बेत्रावतीमा एउटा घरमा २० जनाभन्दा बढी शव भेटियो भनिएकोमा यहीँको हो कि भन्ने एउटा आस छ, होइन भने बुधबार सामूहिक अन्त्येष्टि गर्ने तयारी छ,’ गोकर्णले अनलाइनखबरसँग भने, ‘गाउँका सबै परिवार, आफन्त बसेर अब शव भेटिँदैन भन्नेमा पुग्यौं। भेटिएको एक जनाको शवलाई नै आधार मानेर सामूहिक रूपमा अन्त्येष्टि गर्ने भनिएको छ।’
परिवार, आफन्तलाई प्राप्त भिडियो, उनीहरूले गरेको फोन र त्यहाँको वस्तुस्थिति बुझ्दा जीवित रहने सम्भावना कम रहेको निष्कर्ष उनीहरूले निकालेका हुन्। बेपत्ता २६ जनामध्ये एक जनाको शव भेटिएकाले बाँकी २५ जनाको कुशको शव बनाएर अन्त्येष्टि गर्ने तयारी गरिएको उनीहरूले बताएका छन्।