News Summary
Generated by OK AI. Editorially reviewed.
- रसुवाको भोटेकोशीमा १० भदौ आएको बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन रहेका छन्।
- सिन्धुपालचोककी निरुता तामाङले दुई वर्षको बच्चासहित श्रीमान् आशिष तामाङको खोजी र उद्धार छिटो गर्न सरकारसँग आग्रह गरिन्।
- धादिङका गोपाल विश्वकर्माका अनुसार गोसाइँकुण्ड जाँदै गर्दा बाढीमा परेका नीलकण्ठका २६ जनासहित अझै १९ जना सम्पर्कविहीन छन्।
१४ भदौ, काठमाडौं । यही १० भदौ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् ।
उनीहरूका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजन सरकारसँग खोज तथा उद्धार कार्य तिब्र बनाउन आग्रह गरिरहेका छन् ।
सिन्धुपालचोककी निरुता तामाङका श्रीमान रसुवाबाट सम्पर्कविहीन भएको आइतबार पाँच दिन भइसक्यो । दुई वर्षको सानो बच्चासहित श्रीमानको खोजीमा अहिले उहाँ काठमाडौं आइपुगेकी छिन् ।
तामाङले श्रीमान् कतै जंगल वा सुरक्षित स्थानमा पुगेर बाँचिरहेको हुन सक्ने आशा अझै नमरेको बताइन् ।
सरकारसँग सम्पर्कविहीन भएका मानिसको खोजी तथा उद्धारलाई तत्काल प्रभावकारी बनाउन आग्रह गरिन् ।
अहिले पनि सयौं नागरिक रसुवा, नुवाकोट र धादिङका जंगलहरूमा पर्खाइमा रहेको भन्दै उद्धार कार्य छिटो बनाउन आग्रह गरिन् ।
‘मेरो श्रीमान् आशिष तामाङ बाढीमा सम्पर्कविहीन हुनुभएको छ । मेरो बच्चा २ वर्षको मात्र भयो । कतै भेटिनुहुन्छ कि भनेर यहाँसम्म आएकी हुँ । सरकारलाई पनि छिटोभन्दा छिटो खोज, उद्धार गरिदिन आग्रह गर्न चाहन्छु,’ उनले भनिन्, ‘बाढी आएको बेला कतै माथि जंगलतिर जानुभयो होला बाँच्नुभयो होला भन्ने आशा छ । जंगलमा रहेका मानिसहरूको छिटोभन्दा छिटो उद्धार गरिदिनुपर्यो भन्न चाहन्छु ।’
यस्तै, गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा बाढीमा परेका धादिङका दर्जनौं यात्रु बससहित अझै सम्पर्कविहीन छन् । धादिङका गोपाल विश्वकर्माका अनुसार नीलकण्ठ नगरपालिका–९ र १२ तथा अन्य पालिकाका समेत गरेर २६ जना बाढीपछि सम्पर्कविहीन भएको हुन् ।
उनका अनुसार बाढीको त्रासदीबीच बेत्रावती पुगेपछि बसमा रहेका एक जनाले पोखरामा रहेका साथीलाई फोन गर्दै बस बगिसकेको र आफूहरूलाई पनि बाढीले बगाउन सक्ने भन्दै घरपरिवार र छोराछोरीको हेरचाह गरिदिन गरेका थिए ।
‘मेरा साथीहरू गोसाइकुण्ड जाने क्रममा बाढीमा परी सम्पर्कविहीन हुनुभएका धादिङ जिल्ला निलकण्ठ नगरपालिका–१२, ९ लगायतका ठाउँका २६, २७ जना साथिहरू हराइरहनुभएको छ । उहाँहरू बससहित जानुभएको थियो । बससहित अहिलेसम्म सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘बेत्रावती पुगेपछि एक जना साथिले मेरो पोखरामा रहेका साथिलाई फोन गरेर बस बगाइसक्यो, हामीलाई पनि बगाउँछ । घरपररिवार र छोराछोरी हेरिदिनुहोला भनेर फोन गरेको भन्ने बताउनुभएको थियो । एउटा लास यहाँ आएको छ । थप केही लास पनि आइरहेको भन्ने त थाहा पाएँ । अझै १९ जना सम्पर्कविहीन हुनुहुन्छ ।’
त्रिवि शिक्षण अस्पतालमा आफन्तहरूको बाक्लो उपस्थिति थियो । बाढी आएपछि सम्पर्क हुन नसक्दा अवस्था बुझ्न र खोजी गर्न आएका परिवारजनका कारण अस्पताल परिसर व्यस्त छ ।