‘मिस वर्ल्डमा देशको शिर उँचो राख्न उत्कृष्ट दिने कोसिस गर्छु’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मिस नेपाल लुना लुइँटेल ७३औं संस्करणको मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन हाल भियतनाममा पुगेकी छिन्।

काठमाडौं । ‘मिस नेपाल’ लुना लुइँटेल यस वर्षको ‘मिस वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन अहिले भियतनाममा छिन् । प्रतियोगिताको ७३औं संस्करण ९ अगस्टेदेखि ५ सेप्टेम्बरसम्म त्यहाँका विभिन्न सहरमा हुँदैछ । भियतनामले पहिलोपटक विश्व सुन्दरी प्रतियोगिता आयोजना गरेको हो ।

झन्डै १३० देश र क्षेत्रका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । त्यसतर्फ लाग्नुअघि लुनाले अनलाइनखबरसँग अन्तर्वार्ता दिँदै आफूले उत्कृष्ट प्रयास दिने बताइन् ।

प्रतियोगिताका लागि मिस वर्ल्डका प्रमुख फास्ट-ट्रयाक इभेन्टहरू ट्यालेन्ट, स्पोर्ट्स च्यालेन्ज, टप मोडल, हेड टु हेड, ब्यूटी विथ पर्पस र मल्टिमिडियालाई लक्षित गर्दै उनले नेपाल र भारतमा प्रशिक्षण पनि लिएकी थिइन् ।

नेपाल ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा दाबेदार रहेको भएपनि यी विधामा जितका लागि आफूले कुनै अतिरिक्त दबाब नलिएको उनले बताइन् । ‘उत्कृष्ट दिने प्रयास गर्नेछु’ उनले भनिन् ।

‘ब्यूटी विथ पर्पस’ का लागि लुनाले पर्वतको फलेवासमा दुना टपरी उत्पादन कारखाना, शिक्षा र स्वास्थ्यको प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । यो प्रोजेक्टका लागि झन्डै डेढकरोड खर्च भएको उनले बताइन् ।

जित-हार प्राविधिक विषय भएको तर, मिस वर्ल्ड उद्देश्यहरूको प्रतिस्पर्धा भएको उनको भनाइ छ । लुनाको मिस नेपालको एकवर्षे कार्यकाल गतसाता दीपमाला ढकालले उपाधि जितेसँगै सकिएको छ । उपाधि अवधिभर आफूले धेरै कुराहरू सिकेको जनाउँदै लुनाले ब्यूटी विथ पर्पस प्रोजेक्टमार्फत आफू समाजसँग जोडिन सकेको बताइन् ।

आफूले यसबीच गरेका कामहरू सामाजिकरुपमा प्रभावकारी रहेको जनाउँदै उनले आफू मिस वर्ल्डमा सहभागी हुन शारिरिक, मानसिक र भावनात्मकरुपमा तयार रहेको बताइन् । ‘म शाकाहारी हुँ । फिजिकल पक्षमा अब कसरी आहार पुर्‍याउने भन्ने हुनसक्छ । थोरै कुरा त्यसलाई लिएर चिन्तित छु’ उनले भनिन् ।

आफ्ना लागि मिस वर्ल्ड क्राउन जित्नुभन्दा उच्च रहेको उनको कथन छ । सोहीअनुसार आफूले तयार गरेको उनी बताउँछिन् । उनी देशको नाम लिएर विदेशमा प्रतिस्पर्धा गर्न जानेका लागि सरकारले सघाउनुपर्ने बताउँछिन् । ‘सरकार र सम्बधित निकायले यसतर्फ सपोर्ट गर्न सके धेरै राम्रो हुनेछ’ कतिपय मुलुकले ब्यूटी पेजेन्टका लागि पनि मद्दत गरेको अनुभव सुनाउँदै उनले भनिन् ।

अस्ट्रेलियाको सिड्नीमा नर्स अध्ययन गर्दै आएकी लुना मिस वर्ल्डपछि केही वर्ष अस्ट्रेलिया बसेर अध्ययनलाई सक्ने विचारमा छिन् । त्यसपछि नेपालमा फर्किएर सिकेको ज्ञान र अनुभवलाई स्वदेशमा काम गर्ने उनको विचार छ । ‘सिक, कमाउ र फर्क’ भन्ने नारासहित लुना मिस नेपालमा सहभागी भएकी थिइन् ।

तस्वीर : शंकर गिरी 






Source link

Translate »